७ भदौ २०८२ शनिबार | 23 Aug 2025 Sat

६ कट्ठामा चलिरहेको क्याम्पसले पायो नौ बिघा जग्गा 



  • आफ्नै खबर
  • ५ भदौ २०८२ बिहिबार (२ दिन अघि)
  • पाठक संख्या १०१
  • महोत्तरी/  बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीको उच्च शिक्षाको गन्तव्य हो । यहाँ बर्सेनि विद्यार्थी थपिँदै गएका छन् ।

    तर, पर्याप्त जग्गा अभावमा क्याम्पसले समस्या खेप्दै आएको छ । पछिल्लो समय भने यहाँ क्याम्पसलाई स्रोतसाधन जुट्दै गएको छ । क्याम्पस प्रशासनले हालै नौ बिघाभन्दा बढी जग्गा प्राप्त भएको जनाएको छ । 

    २०६४ सालमा बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको क्याम्पस पाँच/छ वर्षपछि बर्दिबास–१४ मा ६ कट्ठा जग्गामा भवन बनाएर सञ्चालन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस रहेको यहाँ हाल एक हजार दुई सय विद्यार्थी छन् ।

    बर्सेनि विद्यार्थी सङ्ख्या बढ्दै गएपनि क्याम्पसलाई थप भवन बनाउन ठाउँ अभाव भइरहेका बेला यसपालि नौ बिघा एक कट्ठा नौ धुर जग्गा प्राप्त भएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर हमालले जानकारी दिनुभयो । 

    उहाँकाअनुसार साबिक २५ नं बहादुरगञ्ज–२ (ङ) को कित्तानम्बर १७ र १८ बाट जग्गा प्राप्त भएको र अब थप भवन, खेलमैदान, उद्यान र छात्रावास बनाइने छ । 

    अध्यक्ष हमालले भन्नुभयो, ‘आवश्यक जग्गा प्राप्त भएको छ । अब स्रोतसाधन र सहयोग जुटाएर थप संरचना बनाउँछौँ । त्यसका लागि समन्वय गरिरहेका छौँ ।’

    क्याम्पसलाई बर्दिबास नगरपालिकाको सिफारिसमा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी नेतृत्वको जग्गा प्राप्ति सिफारिस समितिको निर्णयले पर्ति जग्गा प्राप्त भएको जनाइएको छ ।  

    महोत्तरीका बर्दिबास, भङ्गाहा, औरही र गौशाला नगरपालिका एवं धनुषाको मिथिला नगरपालिकाका क्षेत्रबाट विद्यार्थीहरू यहाँ अध्ययन गर्न आउने गरेका छन् । क्याम्पसमा छात्रभन्दा छात्राको संख्या बढी छ । क्याम्पस प्रमुख सीताराम खड्काले हाल यहाँ कुल विद्यार्थीको ६० प्रतिशत हाराहारी छात्रा रहेको बताउनुभयो ।

    क्याम्पसमा हाल वाणिज्य र शिक्षा सङ्कायमा स्नातक तथा शिक्षा सङ्कायमा स्वास्थ्य र नेपाली विषयमा स्नातकोत्तर तहसम्मको पठनपाठन भइरहेको छ । स्नातक तहमा मानविकी सङ्काय र स्नातकोत्तर तहमा वाणिज्यको पठनपाठन स्वीकृतिका लागि पहल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।

    –रासस