झापा/ मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९.५ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउन महिनामा ३२ करोड १७ लाख ६१ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको हो ।
गत एक महिनाको अवधिमा दुई सय १६.१५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । अघिल्लो आव २०८१/८२ मा १६ करोड १२ लाख ५२ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा चिया निर्यात २६.८ प्रतिशतले घटेको छ । उक्त अवधिमा ३७ करोड ४८ लाख २४ हजार रुपैयाँबराबरको चिया निर्यात भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा ५१ करोड २२ लाख ७८ हजार रुपैयाँबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिनुभयो । कार्यालयको
तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरुमा भेनियर सिट ३०.४ प्रतिशत, छुर्पी ९२ प्रतिशत, धातुका अन्य अवशेष शत् प्रतिशत, काउली, ब्रोकाउली र बन्दाकोपी ८९ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, प्लाइउड ५४.१ प्रतिशत, अदुवा ५७.४ प्रतिशत, अम्रिसो ०.६ प्रतिशतले निर्यातमा कमी आएको छ । मेची भन्सारबाट आर्थिक वर्ष २०८२÷८३ को साउन महिनामा तीन अर्ब ६९ करोड ४० लाख २३ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस