गोरखा/ गण्डकी गाउँपालिका–६ हिक्लुङ र थुम्काका चेपाङ समुदायका किसानको उत्पादनलाई बजारसम्म पुर्याउनका लागि गाउँपालिकाले रोपवे निर्माण गरेको छ । गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँग साझेदारी गरी विद्युतीय रोपवे निर्माण गरेको गाउँपालिकाका प्रमुख दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
चेपाङ समुदायको मात्र बसोबास भएको हिक्लुङ र थुम्काबाट पृथ्वीराजमार्गको हिक्लुङघाटसम्म रोपवे निर्माण गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
‘यहाँका चेपाङ समुदाय असाध्यै मेहनती छन् । उनीहरू २०५० सालदेखि नै व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनीहरूले बारीमा उत्पादन भएको मौसमी, बेमौसमी तरकारी डोकोमा बोकेर हाइवेसम्म झार्ने गरेका छन्’, गाउँपालिका प्रमुख तिमिल्सिनाले भन्नुभयो, ‘गाउँमा सडक निर्माण गर्न प्रयास गरेको हो । तर, भिरालो जमिन भएकाले यहाँसम्म सडक निर्माण गर्न धेरै कठिन भयो । गाउँ पनि जोखिममा पर्ने भयो । त्यसैले यो नै सबैभन्दा उत्तम विकल्प भन्ने ठानेर रोपवे बनाउन थालेका हौँ ।’
रोपवेमा तरकारी ढुवानी गर्न पाएमा चेपाङ किसानलाई ठूलो राहत हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
लागत साझेदारी कार्यक्रमअन्तर्गत एक करोड रुपैयाँ लागतमा रोपवे निर्माण गर्न लागिएको हो । गाउँपालिकाको ६० प्रतिशत र प्रदेश सरकारको ४० प्रतिशत लागत साझेदारीमा काम भइरहेको गाउँपालिकाका प्राविधिक शाखाका ओम शाहले बनाउनुभयो ।
अब तार टाँग्ने काममात्र बाँकि रहेको भन्दै उहाँले थप्नुभयो, ‘असोजभित्र निर्माण गरिसक्ने हाम्रो लक्ष्य हो । काम धमाधम भइरहेको छ ।’
उहाँका अनुसार रोपवेको लम्बाइ ६ सय ३० मिटर रहेको छ । चितवनको जिटी मेसिन प्रालि कम्पनीले रोपवेको निर्माण गरिरहेको प्राविधिक शाखाका शाहले जानकारी दिनुभयो ।
विगत ३० वर्षदेखि यहाँका चेपाङ किसान तरकारीखेतीतर्फ उन्मुख छन् । उनीहरूको उत्पादनलाई बजारसम्म पुर्याउन यसअघि यहाँ २०६८ सालमा ग्राभिटी रोपवे निर्माण गरिएको थियो । सो प्रविधि बिग्रिएपछि अहिले विद्युत्बाट चल्ने रोपवे निर्माण गर्न लागिएको वडा नं ७ का अध्यक्ष तुलसी रेग्मीले जानकारी दिनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस