२० भदौ २०८२ शुक्रबार | 05 Sep 2025 Fri

हैजा तथा झाडापखाला सङ्क्रमण रोक्न रेडक्रस सकृय



  • आफ्नै खबर
  • ११ भदौ २०८२ बुधबार (१ हप्ता अघि)
  • पाठक संख्या ८५
  • काठमाडौँ/  नेपाल रेडक्रस सोसाइटीले वीरगञ्जमा फैलिएको हैजा तथा झाडापखाला सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य सुरूआत गरेको छ ।  

    रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आपत्कालीन विपद् कोषको आर्थिक एवं प्राविधिक सहयोगमा प्रतिकार्यलाई द्रुतरुपमा अगाडि बढाइएको हो । 

    पर्सा जिल्ला शाखामार्फत प्रभावित समुदायका घरघरमा पुगेर झाडापखाला तथा सम्भावित हैजाबाट बच्ने उपायहरूसहित सरसफाइ तथा स्वच्छता प्रवर्द्धन, खानेपानी शुद्धीकरण, हातधुने अभ्यास सहजीकरण र बिरामीलाई स्वास्थ्य केन्द्रसम्म लैजान सहयोग गर्ने उद्देश्यले ३० जना सङ्क्रमण नियन्त्रण स्वयंसेवकहरूलाई अभिमुखिकरण गरी परिचालन गरिएको छ । 

    यसका अतिरिक्त स्थानीयस्तरमा समन्वय गरी स्वयम्‌सेवकमार्फत जीवनजल, सरसफाइ सामग्री र खानेपानी शुद्धीकरण गर्ने विधिसहित क्लोरिन उपलब्ध गराएको छ ।

    त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखामार्फत तीन सय प्याकेट जीवनजल सम्भावित हैजा नियन्त्रणका लागि उपचार गरिरहेका अस्पतालहरूलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

    सम्भावित हैजा नियन्त्रणका लागि तीनै तहका सरकारी निकाय तथा सम्बद्ध सरोकारवाला निकायहरूसँग समन्वय गर्दै सहयोग पुर्याइरहेको पनि आइएफआरसीले जनाएको छ । 

    वीरगञ्जमा देखापरेको हैजाका बिरामी बढ्दो रूपमा रहेको हुनाले सुख्खा सङ्कट प्रभावित जिल्लामा आपत्कालीन खानेपानी तथा सरसफाइका लागि आइएफआरसीको आपत्कालीन विपद् कोषको सहयोग परिचालन गरी विगत एक महिनादेखि सञ्चालित खडेरीसम्बन्धी प्रतिकार्यका गतिविधिहरूमा पनि हात धुने अभ्याससहित साबुन वितरण, आपत्कालीन शौचालय निर्माण र सरसफाइ तथा स्वच्छताका गतिविधिहरू स्थानीय सरकार एवं सरोकारवालाहरूसँगको समन्वयमा तदारुकताका साथ जारी रहेको  बताइएको छ । 

    –रासस