रामेछाप/ यहाँका ज्योति गुमेका एक सयभन्दा बढीलाई निःशुल्क आँखा शिविरमार्फत ज्योति फर्काइएपछि उनीहरू अत्यन्तै खुसी भएका छन् । मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा शुक्रबार र शनिबार दुई दिन सम्पन्न निःशुल्क आँखा शिविरमा एक सय १३ जनाको मोतियाबिन्दुको शल्यक्रिया मार्फत् गुमेको ज्योति फर्काइएको थियो ।
गाउँमै निःशुल्क शिविर सञ्चालन भएपछि समय र पैसा खर्च गरेर धेरै टाढासम्म जानुपर्ने बाध्यता हटेको, आफ्नो गुमेको ज्योति फर्किएको भन्दै रामेछाप नगरपालिका–८ का केदारनाथ घिमिरेले खुसी व्यक्त गर्नुभयो ।
घिमिरेमात्र होइन, अर्की सेवाग्राही सोनमाया घिसिङले पनि आफ्नो गुमेको ज्योति फिर्ता हुने र दुवै आँखा राम्रोसँग देखिने भएपछि असाध्यै खुसी हुँदै उहाँले भन्नुभयो, ‘जिल्ला सदरमुकाममा आएको आँखा शिविरमा आफूले आँखाको शल्यक्रिया गर्न पाएँ । लामो समयदेखि धमिलो हुने आँखा नदेख्ने समस्या यस शिविरले समाधान गरिदिएपछि आफूहरूलाई निकै सहज भएको छ ।’
त्यसैगरी रामेछाप नगरपालिका ओख्रेनीका पूर्ण तामाङ र खाँडादेवी गाउँपालिकास्थित पिङ्खुरीकी मैया तामाङ पनि शिविरले आफूहरूलाई निकै सजिलो बनाएको बताउनुहुन्छ ।
जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली, खाँडादेवी गाउँपालिका माकादुम र सामुदायिक विकास समाज मन्थलीको आयोजना तथा सहकार्यमा वरिष्ठ नेत्ररोग विशेषज्ञ सुष्मा दुवालका नेतृत्वमा रहेको ११ जनाको टोलीले शनिबार शिविर सम्पन्न गरेको केन्द्रका प्रमुख उमेश तामाङले बताउनुभयो ।
शिविरमा एक सय ११ जनाको मोतियाबिन्दु र दुई जनाको ‘माइनर अप्रेशन’ सहित एक सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीका आँखा स्वास्थ्य कार्यकर्ता पुष्कल घिमिरेले बताउनुभयो । सरकारी अस्पतालमा स्वास्थ्य सेवा निःशुल्क भनिए पनि गुणस्तरीय उपचार र औषधि वितरण व्यवहारमा लागू भएको पाइन्न ।
निजी तथा गैरसरकारी अस्पतालहरूले जिल्ला सदरमुकाममा वार्षिक रूपमा यस्ता शिविर सञ्चालन गर्दै आइरहेको भए पनि सरकारी निकायले यस्ता रोगप्रति खासै चासो दिएका छैनन् ।
जिल्ला अस्पताल, विभिन्न पालिका अस्पतालमा पनि योसहित अन्य विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन सके अझै यहाँका बिरामी काठमाडौँ वा विभिन्न सहरका अस्पतालहरूमा धाइरहनुपर्ने थिएन ।
–रासस
प्रतिक्रिया दिनुहोस