पाल्पा/ तानसेनमा ब्लड बैङ्क सञ्चालनमा ल्याइएको छ । ‘हाम्रो ब्लड बैङ्क, हामी बनाउँछौँ’ भन्ने अभियान सुरु गरेको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आजदेखि ब्लड बैङ्क सञ्चालनमा ल्याएको हो ।
चार ठूला अस्पतालसहित एउटा डाइलाइसिस सेन्टरका लागि रगत अभाव परिपूर्ति गर्ने उद्देश्यले तानसेनमा ब्लड बैङ्क सञ्चालनमा ल्याइएको शाखाका सभापति बाबुराम कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यहाँ हुने रगत अभावको समस्यालाई समाधान गर्न ब्लड बैङ्क महत्त्वपूर्ण मानिएको छ । विगतमा रगत अभावका कारण आकस्मिक अवस्थाका बिरामी र परिवारलाई कठिनाइ ब्यहोर्नुपरेको थियो । आगामी दिनमा रगत नपाएर मानिसको मृत्यु हुनबाट रोक्न यो कार्यक्रमले सहयोग गर्ने हामीले विश्वास लिएका छौँ ।’
मानिसको जीवन बचाउन सबैलाई रक्तदान कार्यक्रममा सहभागी हुन अध्यक्ष कार्कीले अनुरोधसमेत गर्नुभयो । जिल्लामा हरेक महिना तीन सयदेखि तीन सय ५० प्वाइन्ट र वार्षिक रूपमा चार हजार पाँच सय प्वाइन्ट रगतको आवश्यकता पर्ने उहाँले उल्लेख गर्नुभयो ।
दुर्घटना, प्रसूति, शल्यक्रिया तथा दीर्घकालीन बिरामीका लागि समयमै रगत उपलब्ध गराउन कठिनाइ भइरहेकाले बिरामीलाई रगतको अभाव हुन नदिन, आधुनिक रक्त बैङ्क स्थापना गरी सञ्चालनमा ल्याएको शाखा उपसभापति भीमसेन कार्कीले बताउनुभयो ।
ब्लड बैङ्क सञ्चालनका लागि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ५० लाख रुपैयाँमा अत्याधुनिक उपकरण, रामपुर नगरपालिकाबाट १० लाख रुपैयाँबराबरको जेनेटर, रम्भा गाउँपालिकाबाट पाँच लाख रुपैयाँबराबरको एसि र फ्रिज, रिब्दीकोट गाउँपालिकाबाट पाँच लाख रुपैयाँबराबरको ब्याट्रीलगायत सामग्री खरिदका लागि सहयोग प्राप्त भएको रेडक्रसले जनाएको छ ।
रेडक्रसले २०८० चैतदेखि साझा अभियानका रूपमा अगाडि बढाएको उक्त अभियानमा स्थानीय प्रदेश, सङ्घीय सरकारसँगै जिल्लामा रहेका र जिल्लाबाहिर रहेका पाल्पालीले पनि आर्थिक सहयोग गरेका छन् । ब्लड बैङ्क भवन निर्माणका लागि सहरी विकास मन्त्रालयबाट गत वर्ष एक करोड ५० लाख रुपैयाँ र चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ विनियोजन भएको थियो ।
नियमित रूपमा ब्लड बैङ्क सञ्चालन तथा चालु खर्च व्यवस्थापनका लागि रेडक्रस पाल्पाले विभिन्न व्यक्ति, सङ्घ संस्थाबाट ६८ लाख रुपैयाँ सङ्कलन गरेको जनाउँदै रकम सङ्कलन अभियान जारी रहेको शाखा कोषाध्यक्ष सन्तोष खनालले बताउनुभयो ।
ब्लड बैङ्क सञ्चालन भएपछि आइपर्ने चुनौती र कठिनाइलाई समाधान गर्न शाखाले नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जनचेतनामूलक अभियानलाई निरन्तरता दिने, पालिकास्तरमा पुगेर रक्तदाताको रोष्टर तयार पार्ने शाखाका मन्त्री केशवराज नेपालले बताउनुभयो ।
तत्कालका लागि अस्थायी रूपमा शाखा कार्यालयमा ब्लड बैङ्क सञ्चालन गरिएको बताउँदै स्थायी रूपमा तानसेन नगरपालिका भुसालडाँडामा भवन निर्माण भइरहेको कार्यालय प्रमुख विनोद भारतीले जानकारी दिनुभयो ।
ब्लड बैङ्क शुभारम्भ कार्यक्रममा पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले रक्तदानको आवश्यकता, यसको महत्त्व र सामाजिक प्रभावबारे सचेतना फैलाउँदै समुदायलाई नियमित रक्तदाता बन्न प्रेरित गर्न जिल्लाका सञ्चारमाध्यम तथा पत्रकार सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
रक्तदानले केवल जीवन जोगाउने मात्र नभई सामाजिक एकता र सहकार्यलाई बलियो बनाउने उहाँको भनाइ थियो ।
बैङ्क सञ्चालनमा आएसँगै पाल्पामा अब आकस्मिक अवस्थामा रगतको लागि दौडधुप गर्नुपर्ने बाध्यता अन्त्य हुने, स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने रेडक्रस पाल्पाका स्वास्थ्य संयोजक डा. झपेन्द्र ढकालले विश्वास व्यक्त गर्नुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस