२१ भदौ २०८२ शनिबार | 06 Sep 2025 Sat

एकै व्यक्तिमा तेस्रोपटक मिर्गाैला प्रत्यारोपण, त्यो पनि नेपालमै



  • आफ्नै खबर
  • २१ भदौ २०८२ शनिबार (३ घण्टा अघि)
  • पाठक संख्या २
  • भक्तपुर/  सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । 

    केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताउनुभयो ।

    तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उहाँको भनाइ थियो ।

    भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गाैला प्रत्यारोपण सम्पन्न गरी उहाँलाई आज ‘डिस्चार्ज’ गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो । 

    ‘सामान्यतया मिर्गाैला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गाैलाले काम गर्ने गर्दछ । तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गाैला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ । तर, तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ’, उहाँले भन्नुभयो, ‘प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ ।’

    बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा  सम्भव भएको र अब हामी जटिल प्रत्यारोपणका लागि सक्षम छौँ भन्ने गौरवान्भुती भएको उहाँको भनाइ थियो । 

    चौधरीको पहिलो मिर्गाैला प्रत्यारोपण भारतको लखनऊमा गरिएको थियो भने २०७२ सालमा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा. पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी गरिएको उहाँले जानकारी दिनुभयो ।

    नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण वीर अस्पतलमा डा. श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै सुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ । प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार पाँच सय दुई जनाको सफल मिर्गाैला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ ।

    –रासस