२२ भदौ २०८२ आईतबार | 07 Sep 2025 Sun

महानगरले दियो ७४ लाख भन्दा बढीको निःशुल्क स्वास्थ्य सेवा



  • आफ्नै खबर
  • २१ भदौ २०८२ शनिबार (५ घण्टा अघि)
  • पाठक संख्या ३
  • काठमाडौँ/  काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट दुई सय चार जना विपन्न, असहाय र वेवारिसेले सेवा प्राप्त गरेका छन् । सेवा लिनेमध्ये सबैभन्दा धेरै ४८ जनाले शल्यक्रिया सेवा लिएका छन् ।

    यसमा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्त थैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाड जोर्नीको, नाक कान घाँटीको शल्यक्रिया भएको हो । 

    दोस्रोमा फेमिली मेडिसिन सेवा छ । यसअन्तर्गत जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोग रहेका छन् । ७ जनाले आकस्मिक स्वास्थ्य सेवा, १९ जनाले नशा तथा स्नायुको, १३ जनाले श्वासप्रश्वास सम्बन्धी, १२ जनाले मूत्र प्रणाली तथा पिसाब सम्बन्धी समस्यामा सेवा लिएका छन् । 

    सेवा दिनेमध्ये सबैभन्दा धेरै अन्नपूर्ण न्युरोलोजिकल हस्पिटलबाट ५० जनाले सेवा लिएका छन् । काठमाडौँ मेडिकल कलेजबाट १९ जना, काठमाडौँ मोडेल अस्पतालबाट १८ जना, नेपाल आँखा अस्पतालबाट १५ जना, पिपुल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट ९ जनाले  सेवा लिएका छन् । 

    सेवा प्राप्त गर्ने लाभग्राहीलाई प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशका ७२ जनाले सेवा लिएका छन् । यस्तै गण्डकी प्रदेशका ३२ जना, कोशी प्रदेशका २७ जना, मधेश प्रदेशका २१ जना, लुम्बिनी प्रदेशका २० जना, कर्णाली प्रदेशका १७ जना र सुदूर पश्चिम प्रदेशका १५ जना बिरामीले सेवा लिएका छन् ।

    यो करिब ७४ लाख १६ हजार रुपियाँ खर्च बराबरको उपचार सेवा रहेको महानगरले जनाएको छ । यो सङ्ख्या सेवा २०८० फागुन १ गतेदेखि सुरु भएको हो । 

    लक्षित वर्गलाई निःशुल्क उपचार गराउनु पर्ने कानुनी व्यवस्था भए पनि यो व्यवस्था कार्यान्वयनमा थिएन । यसलाई कार्यान्वयन गराउन काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि, २०८० जारी गरेर अनलाइन प्रणालीमार्फत सेवा प्रारम्भ गरेको हो ।

    सेवालाई सहजीकरण गर्न महानगरपालिकाको स्वास्थ्य विभागमा फोकल पर्सनको प्रबन्ध गरेर सहजीकरण हुने गरेको छ । यस प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका तीन सय ८० शय्या महानगरपालिकाको प्रणालीमा आवद्ध भएका छन् ।