२ असोज २०८२ बिहिबार | 18 Sep 2025 Thu

प्राविधिक शिक्षामा जोड दिनथाले सामुदायिक विद्यालय



  • आफ्नै खबर
  • २ असोज २०८२ बिहिबार (४ घण्टा अघि)
  • पाठक संख्या ५०
  • भोजपुर/  भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यवहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । 

    भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यवहारिक र जीवन उपयोगी शिक्षा दिँदै आएका छन् । प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीका लागि कक्षा ९ बाट कक्षा १२ सम्म यो शिक्षा लिने व्यवस्था गरिएको छ ।

    यहाँका पञ्चकन्या मावि च्याङ्ग्रे, यशोधरा मावि टक्सार, पञ्चकन्या मावि भुल्ने, सिद्धेश्वर मावि दावालगायत अधिकांश विद्यालयले प्राविधिक शिक्षा दिँदै आएका छन् ।

    यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले शिक्षालाई व्यावहारिक र समय सुहाउँदो बनाउन प्रविधिमैत्री अभ्यासमूलक शिक्षणमा जोड दिँदै आएको बताउनुभयो । यसले हरेक विद्यार्थीलाई स्वरोजगार बन्न सहयोग पुग्ने बताउनुभयो । 

    राज्यको नीतिअनुसार नै जिल्लाका अधिकांश माध्यमिक तहका सामुदायिक विद्यालयले व्यावहारिक शिक्षामा जोड दिएको प्रधानाध्यापक रेग्मीले जानकारी दिनुभयो ।

    ‘सामुदायिक विद्यालयले प्राविधिकसँगै व्यावहारिक शिक्षामा जोड दिँदै आएका छौँ’, उहाँले भन्नुभयो, ‘समयको आवश्यकताअनुसार प्राविधिक शिक्षामा जोड दिनु अपरिहार्य छ । यस्तो शिक्षाले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नेछ ।’

    पञ्चकन्या माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकराज भट्टराईले शिक्षालाई परम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन प्रविधिमैत्री शिक्षामा जोड दिइएको बताउनुभयो । 

    बिस्तारै विद्यार्थीहरूमा प्राविधिक शिक्षाप्रति आकर्षण बढेको छ । केही समयअघि सार्वजनिक कक्षा १२ को नजितामा परीक्षामा सामेल भएका ६० विद्यार्थीमध्ये ४९ जना प्राविधिकधार र ११ जना साधारणधारतर्फका उत्तीर्ण भएको भट्टराईले बताउनुभयो ।

    विद्यार्थीलाई अभ्यासका लागि विद्यालय परिसर तथा ‘लिज’मा जग्गा लिएर विभिन्न तरकारीखेती गरिएको छ । विद्यार्थीले अकबरे खुर्सानी, च्याउ, टमाटरखेती, आधुनिक तरिकाबाट धान, मकैखेती, माछापालन, काउली, एभोकाडो खेतीसँगै अन्य कृषिका विषयमा अभ्यासमार्फत ज्ञान लिँदै आएका छन् ।

    –रासस