५ असोज २०८२ आईतबार | 21 Sep 2025 Sun

बौद्ध क्षेत्रका पुराना तस्बिरलाई रङमा उतार्ने कलाकार



  • नारायण ढुङ्गाना
  • ५ असोज २०८२ आईतबार (३ घण्टा अघि)
  • पाठक संख्या ५६
  • काठमाडौँ/  एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यानभासमा सजाउनुभएको यो दृश्य ललितपुरको सानेपास्थित कुञ्ज कला प्रदर्शनीको एउटा आकर्षण हो ।

    चितवनको भरतपुरस्थित घर नजिकै आमाले हरेक हप्ता त्यही गुम्बामा लैजानुहुन्थ्यो । उहाँको मानसपटलमा त्यो गुम्बा रहिरह्यो । जहिले पनि त्यहाँ पुग्दा उहाँलाई शान्ति मिल्थ्यो । त्यो बाल्यकालको छाप काठमाडौँ आउँदा पनि मेटिएन ।

    गुम्बाको याद सधैँ आइरहने हुँदा तेल रङले क्यानभासमा उतारेर राख्नुभयो । एक वर्षअघि बनाएको चित्र अहिले उहाँको सानेपामा जारी पहिलो एकल कला प्रदर्शनीमा समावेश छ । 

    प्रदर्शनीको अर्काे आकर्षण हो, बौद्धमा रहेको गुम्बा । कुनै एक विदेशीले बौद्धमा सहर बस्नुअघि नै खिचेको पुराना तस्बिरहरू उहाँले सँगाल्नुभएको थियो ।

    त्यसमध्येको केही तस्बिरलाई उहाँले क्यानभासमा तेल रङमार्फत उतार्नुभएको छ । जहाँ बौद्ध वरिपरि परम्परागत घरहरू मात्रै छन् । बाँकी सुन्दर प्रकृति अनि फाँटहरू । अहिले त्यो दृश्य तस्बिर र यस्तै क्यानभासमा मात्रै सीमित छ । उहाँले त्यही पुरानो यादलाई क्यानभासमार्फत जीवन्तता दिन खोज्नुभएको छ ।

    बौद्धको पुरानो सम्झनालाई उहाँले क्यानभासमा भरेर प्रदर्शन गर्नुभएको छ । फरकफरक कोणबाट खिचिएका बौद्धका तस्बिरलाई उहाँले क्यानभासमा उतार्नुभएको छ । उहाँलाई बौद्धले सधैँ तानिरहने सुनाउनुभयो । 

    चार वर्षअघि बनाएको चितवनकै गर्मीको समयको सूर्यमुखी फूललाई पनि उहाँले देखाउनुभएको छ । आना त्यसलाई वास्तविकभन्दा फरक शैलीमा प्रस्तुत गर्न रुचाउनुहुन्छ ।

    यस्तैयस्तै प्रकृति, त्यसमा खेलिरहने फूल र केही बौद्ध गुम्बालाई विषय बनाएर आना ढकालको अहिले यहाँ ‘इन द सेल्टर अफ नेचर’ शीर्षकमा एकल कला प्रदर्शनी गरिरहनुभएको छ । अझै आठ दिन यहाँ उहाँको कला हेर्न सकिन्छ ।

    उहाँ भन्नुहुन्छ, ‘मानव जीवनको प्रकृतिसँग कति सम्बन्ध छ भनेर देखाएकी छु ।’ उहाँले प्रदर्शनीमा कतिपय फूलहरू पनि समावेश गर्नुभएको छ । बौद्धको पुराना तस्बिरलाई क्यानभासमा उतार्नुभएको छ । जुन बेला सुन्दर फाँट र परम्परागत घरहरूको बीचमा रहेको बौद्ध गुम्बालाई उहाँले विषय बनाएर फरकफरक कोणबाट क्यानभास सजाउनुभएको छ ।

    उहाँ थप्नुहुन्छ, ‘म मान्छेसँग टाढिएर प्रकृतिसँग नजिक भएँ, जीवनमा प्रकृतिले धेरै असर पारेको छ । त्यसैले प्रकृति र धर्म, संस्कृति र फूलहरू मेरा विषय बनिदिन्छन् ।’

    वनजङ्गल, खोला पुलपुलेसा, भिरपाखा, पखेरा, तालतलैया, आकाश, बादल, चराचुरुङ्गी, जीवजन्तु र डाँडाकाँडा उहाँको सृजनाका रुचिका विषय हुन् । त्यही प्राकृतिक सुन्दरतामा उहाँको कुची चलेको छ । प्रकृतिसँगको गहिरो सम्बन्ध यो प्रदर्शनीमा देख्न सकिन्छ । उहाँको मुख्य रुचि तेल रङलाई खेलाउनु हो ।

    ‘प्रकृतिपछि बौद्ध सबै नेपालीहरूबीच नजिक छ, बुद्ध एकदम शान्त लाग्छ’, आना भन्नुहुन्छ, ‘मनले माग्छ अनि प्रकृतिसँगै त्यसलाई पनि उतार्छु ।’

    उहाँ कलालाई शब्दले बयान गर्न सकिँदैन भन्नुहुन्छ । उहाँले थप्नुभयो, ‘रङमार्फत प्रकृतिलाई बुझाउने प्रयास गर्छु । प्रकृतिले नबोलिकन धेरै कुरा सिकाउँछ भनेर देखाउन खोजेकी छु प्रदर्शनी हेरिदिनुस् ।’

    आनाले कला पढ्नुभएको होइन, आफैँ घरमा बनाउँदाबनाउँदै सिक्नुभएको हो । पाँच वर्षदेखि कला साधनामा उहाँ सक्रिय हुनुहुन्छ । अन्य कलाकारका भन्दा उहाँका सृजना कमजोर लाग्दैनन् । उहाँ आफ्नै शैलीका सृजना गर्नुहुन्छ । परम्परागत कलामा पनि उहाँलाई रुचि छ । थाङ्कामा पनि चाहना छ ।

    कहिलेकाहीँ कतिपय समयमा ग्रीनतारालाई विषय बनाएर आफ्नै शैलीले रङ भर्नुहुन्छ । यहाँ हेर्न आएका कला पारखीहरू अझै कलामा उच्च शिक्षा गर्नुभयो भने कलामा निखारता आउने सुझाव उहाँलाई दिनुहुन्छ । 

    जेनजी पुस्ताबाट केही महिना नाघ्नुभएकी आना भ्रष्टाचार रोकौँ भनेर भदौ २३ गते जेनजीको वास्तविक मागको समर्थन गर्दै माइतीघर पुग्नुभयो । भ्रष्टाचार रोक्ने नारासहित ग्रामीण दृश्यचित्र बोकेर जानुभएकी आनाको उक्त क्यानभासमा सयौँ युवाले हस्ताक्षर गरेर उहाँको अभियानमा समर्थन जनाउनुभयो । त्यही क्यानभासलाई पनि उहाँले प्रदर्शनीमा राख्नुभएको छ । 

    अझै आफूलाई निखार्दै गरेको बताउने आना अग्रज कलाकारको सृजना हेरेर पनि धेरै सिकिरहेकी सुनाउनुहुन्छ । आधा समय कला सृजना गरेर बिताउने र आधा समय प्रकृति र फूलसँग खेल्ने गरेको सुनाउने आना सहरबजारभन्दा ग्रामीण परिवेशप्रति रुचि रहन्छ भन्नुहुन्छ ।

    त्यसैले उहाँको सृजनामा पनि ग्रामीण दृश्यहरू देख्न पाइन्छ । काठमाडौँमा मन्दिर गुम्बाहरूमा उहाँ घुम्न जानुहुन्छ । त्यहाँबाट पनि प्रभावित हुने गरेको आनाले सुनाउनुभयो ।

    अहिले ललितपुरमा कुञ्जको प्रस्तुतिमा उहाँको एकल कला प्रदर्शनी भइरहेको छ । चार वर्षदेखि बनाएका १५ कलालाई उहाँले प्रदर्शनीमा राख्नुभएको छ । 

    –रासस