२२ असोज २०८२ बुधबार | 08 Oct 2025 Wed

बाढी र पहिरोमा भत्किएका घर प्रदेश सरकारले बनाइदिने



  • आफ्नै खबर
  • २२ असोज २०८२ बुधबार (३ घण्टा अघि)
  • पाठक संख्या ५६
  • मोरङ/  कोशी प्रदेश सरकारले केही दिनअघिको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो ।

    विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ । घरहरूको सम्पूर्ण विवरण सङ्कलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद् बैठकले निर्णय गरेको छ । 

    परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई सङ्कटग्रस्त घोषणा गर्नको लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । 

    प्रदेश सरकारले राहत र पुनःस्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई जिम्मा दिएको छ । सो टोलीले सम्पूर्ण क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई फिल्डमै खटेर तीव्रता दिने छ ।

    त्यस्तै, सुनसरी जिल्लाको हकमा वन पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले समन्वय गरी काम गर्नुहुनेछ ।

    झापा जिल्लाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

    बैठकले चालु बजेटका खर्च र योजनाहरू हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । 

    भौतिक पूर्वाधार विकास मन्त्रालयले तत्कालै सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि आजको बैठकले निर्देशन गरेको छ ।

    मुख्यमन्त्री  कार्कीले पुनर्निर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउनका लागि बैठकमा निर्देशन दिनुभएको थियो । 

    विपद्मा सम्पूर्ण नागरिक, उद्योगी व्यवसायी, अधिकारकर्मी, राजनीतिक पार्टी, बैँक तथा वित्तीय संस्था र कर्मचारीहरूलाई सहयोग गर्नका लागि आह्वान गर्ने समेत निर्णय गरेको आन्तरिक मामला तथा कानुन मन्त्रालयका विपद् महाशाखा प्रमुख कमल थापाले जानकारी दिनुभयो ।

    –रासस