२३ असोज २०८२ बिहिबार | 09 Oct 2025 Thu

चित्त बुझेन : तीन पटक म्याद थप्दा पनि बनेन एउटा अस्पताल भवन



  • आफ्नै खबर
  • २३ असोज २०८२ बिहिबार (५ घण्टा अघि)
  • पाठक संख्या ५८
  • गुल्मी/  नयाँ भवन निर्माणमा ढिलाइ हुँदा यहाँस्थित जिल्ला अस्पतालको उपचार सेवा प्रभावित बनेको छ ।  

    २०७७ सालमा सदरमुकाम तम्घासमा ५० शय्याको नयाँ भवन निर्माण सुरु गरिएको थियो । पुरानो भवनमा साँघुरो गल्ली र साना कोठा मात्र छन् । ६ वटा मात्रै बहिरङ्ग कक्ष छन् । ‘भिडियो एक्सरे’ र शल्यक्रिया गर्ने ठाउँमा पानी चुहिन्छ । पानी चुहिँदा विद्युत् सट हुने गरेको छ । पुरानो टिनको छानाबाट सेवा दिनुपर्दा सेवा दिने र लिने दुवैलाई कठिनाइ भएको छ । 

    नयाँ भवन नबन्दा ‘आइसीयु’ समेत सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका चिकित्सक विभव बस्यालले गुनासो गर्नुभयो । ‘एउटै कक्षमा दुई/तीनजना डाक्टर बसेर सेवा दिनुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘पुरानो भवनबाट सेवा दिन निकै अप्ठ्यारो छ ।’ डाक्टर बस्यालले हाल दैनिक चार सय सम्म बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो । 

    भवन निर्माणमा ढिलाइ भएपछि रेसुङ्गा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, अस्पताल विकास समितिलगायतले छिटो निर्माणको पहल गरे पनि निर्माण व्यवसायीले कामको गति अघि बढाएनन् । 

    ‘भारतबाट सामान मगाउनुपर्ने छ, आएको छैन भन्छन्’, अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेले भन्नुभयो, ‘विभिन्न बाहानामा काममा ढिलाइ गरेका छन् ।’ सङ्घीय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीमार्फत स्वच्छन्द/बाँनिया जेभी मकवानपुरले अस्पताल निर्माणको जिम्मा पाएको थियो ।

    भवनको कूल लागत २५ करोड ६४ लाख रुपैयाँ रहेको छ । २०७८ असार १८ गते भवन निर्माणको सम्झौता भएकामा त्यसको दुई वर्षभित्र अर्थात २०८० असार १७ गते काम सकिनुपर्ने थियो । 
    पछिल्लो समय तीन पटक म्याद थप भई गत २०८१ पुससम्म थप गरिएको छ । आयोजनाका इन्जिनियर सुशील रसाइलीले निर्माणको ८० प्रतिशत काम सकिएको जानकारी दिनुभयो ।

    –रासस