२७ असोज २०८२ सोमबार | 13 Oct 2025 Mon

तपाईँलाई थाहा छ ? चिनी हो मुटु र दाँतको दुस्मन 



  • डा. अरुणा उप्रेती
  • २७ असोज २०८२ सोमबार (४ घण्टा अघि)
  • पाठक संख्या ६६
  • चिनी खान जति गुलियो छ, उति नै स्वास्थ्यका लागि हानिकारक । चिनी हाम्रो भान्छादेखि पूजाआजामा पनि प्रयोग हुने गर्दछ ।

    भनिन्छ, चिनी धेरै खायो भने तीतो हुन्छ । स्वादमा मात्र होइन, यसले हाम्रो स्वास्थ्यमा पार्ने असरका दृष्टिले पनि उपयुक्त छैन । चिनीको प्रयोग धेरै वर्षअघिदेखि हुँदै आएको छ ।

    करिब २५सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु भयो र विस्तारै चीन, पश्चिम अफ्रिका, ब्राजिल हुँदै विश्वभर फैलियो । प्रारम्भमा चिनी उत्पादन गर्नु खर्चिलो हुने भएकाले धेरै महँगो पर्थ्यो र धनी मानिसहरूले मात्र प्रयोग गर्न सक्थे ।

    राजा-महाराजालाई अन्य सुन र चाँदीका गहनाजस्तै गरेर चिनी उपहारस्वरूप दिइने चलन थियो । जब संसारका विभिन्न ठाउँमा चिनीको उत्पादन हुन थाल्यो, तब आम मानिसले पनि यसको प्रयोग गर्न थाले ।

    सन् १८८५ बाट चिनीको प्रयोग कोकाकोलामा सुरु भयो । त्योबेला कोकलाई ‘ब्रेन टनिक’ अर्थात् मस्तिष्क तीक्ष्ण पार्ने वस्तु भनेर गलत प्रचार गरिएको थियो ।

    चिनी बनाउने कम्पनीले मानव शरीरमा चाहिने ऊर्जा ग्लुकोजले दिन्छ र चिनी खाएपछि शरीरमा ग्लुकोज पुग्छ । शरीरमा स्फूर्ति आउँछ । अर्थात् जति खायो उति राम्रो भनेर प्रचारप्रसार गरे । तर जिब्रोको स्वादका लागि सेवन गरेको चिनी हानिकारक छ, यसले क्षणिक उत्तेजना दिए पनि दीर्घकालीन रुपमा भने मानव स्वास्थ्यमा असर पुर्याउँछ ।

    सन् १९२८ मा ‘चिनी स्वस्थकर’ भनेर विज्ञापन नै सुरु भयो । गर्मीको समय सर्बतमा जाडोमा पेयपदार्थमा चिनी हालेर खाँदा रोग-प्रतिरोधात्मक शक्ति बढ्छ भनेर भ्रामक प्रचार गरियो । यस्तो विज्ञापनबाट प्रेरित भएर अमेरिकामा चिनीको प्रयोग बढ्न थाल्यो । विस्तारै त्यहाँ मोटोपन पनि बढ्न थाल्यो ।

    चिनी कम्पनीहरूले अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीलाई पैसाले गोजी भरिदिई ‘चिनी स्वस्थकर छ’ भनेर अनुसन्धानको निचोड निकाल्न लगाए र धेरै प्रचारप्रसार गरे । तर जनस्वास्थ्य विज्ञहरुले चिनीको खराबीको बारेमा बोल्न थाले ।

    जब २०औं शताब्दीमा अमेरिकामा मधुमेह, फ्याटी लिभर, कब्जियत, अल्सर, ग्यास्ट्राइटिस र मोटोपन बढ्न थाल्यो र अस्पतालमा अनेक समस्या लिएर मानिसहरू आउन थाले, तब मात्र जनस्वास्थ्य विज्ञले भनेको कुरामा विश्व समुदायले विश्वास गर्न थाले ।

    चिनीले मानिसको मोटोपन बढाउने, मधुमेह गराउने र मुटुरोग लाग्ने भएकाले यसको प्रयोग कम गर्न विश्व स्वास्थ्य सङ्गठनले बोल्न आवश्यक छ’ भनेर केही जनस्वास्थ्य विज्ञहरूले सन् २००२ मा सुझाव दिएका थिए ।

    त्यसपछि उक्त सङ्गठनले ‘हामीले खानाबाट प्रत्येक दिन प्राप्त गर्ने क्यालोरी (शक्ति) मध्ये १० प्रतिशतभन्दा बढी चिनीबाट लिनु हुँदैन’ भन्यो । अर्थात् हामीले लिने शक्तिको स्रोतमध्ये चिनी १० प्रतिशतभन्दा कम नै हुनुपर्छ र ९० प्रतिशत अन्य खानाको स्रोतबाट प्राप्त गर्नुपर्छ ।

    यो कुरा प्रकाशमा आएपछि विशेषगरी अमेरिकाका चिनी उत्पादन गर्ने ठूला कम्पनीहरूले ‘विश्व स्वास्थ्य सङ्गठनले जनतामा भ्रम फैलायो’ भनेर आक्रोश पोखे । उनीहरूले विश्व स्वास्थ्य सङ्गठनलाई दिने सहयोग कटौती गर्ने निर्णय पनि गरे ।

    साथै, ती कम्पनीले अमेरिकाको सिनेटमा प्रभाव पारेर ‘चिनीले खराबी गर्ने कुरा प्रचार गरेमा विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकाबाट दिँदै आएको आर्थिक सहयोग रोकिदिने धम्की पनि दिन लगाए ।

    चिनी उत्पादक कम्पनीहरूले भनेका थिए, ‘हामीले खानाबाट प्राप्त गर्ने दैनिक क्यालोरीमध्ये २५ प्रतिशतसम्म चिनीबाट प्राप्त गर्दा पनि हुन्छ ।’ तर जनस्वास्थ्य विज्ञहरूले यो कुरालाई अस्वीकार गरे र धेरै चिनीको उपभोगबाट जनस्वास्थ्यमा हुने हानिका बारेमा आम जनतालाई निरन्तर जागरुक गर्न प्रयत्न गरे । 

    चिनीले मानिसको स्वास्थ्यमा कसरी खराबी गर्छ भन्ने विषयमा सन् १९७२ मा नै डा. जोन युड्किनले ‘विषालु सेतो चिनी’ नामक अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका थिए । तर उनको यो अनुसन्धान र अनुभवलाई अमेरिकाका चिनी र चिनीजन्य गुलियो पदार्थ उत्पादन गर्ने कम्पनीले हावामा उडाउने कार्य गरेका थिए ।

    साथै, अफवाह फैलाउने कार्य हो भनेर विरोध पनि जनाएका थिए । तर, हाम्रो भान्सामा दिनहुँ प्रयोग हुने यस्तो सेतो चिनी एक प्रकारको मन्द विष नै हो ।

    कतिपय मानिसहरू ‘सेतो चिनी’ राम्रो होइन तर ‘खैरो चिनी’ चाहिँ स्वस्थकर हो भन्ने ठान्दछन् । वास्तवमा यो कुरा बिल्कुलै सही होइन । प्रारम्भमा चिनीका बारेमा लेख्ने अनुसन्धानकर्ताले मुसामा चिनीको विभिन्न तरिकाले प्रयोग गरेर अध्ययन गरेका थिए ।

    उक्त शोध अध्ययनअनुसार चिनी प्रयोग गरिएका मुसाहरूमा मुटुरोग, बिर्सने रोग र बाथको रोग बढेको पाइयो । चिनीले मानिसमा पनि विभिन्न किसिमका रोग उत्पन्न गर्ने कुरा अनुभव र अनुसन्धानले सिद्ध गरिसकेको छ । 

    परम्परागत भोजनशैलीमा परिवर्तन भएकाले चिनीको उपभोग धेरै भएको पाइन्छ । हामी बिहान उठेदेखि बेलुकासम्म अनेक तरिकाले चिनी उपभोग गर्छौं । उदाहरणको लागि चिया, दूध, केक, कुल्फी, बिस्कुट, पाउरोटी आदिमा चिनी प्रशस्त प्रयोग भएको पाइन्छ ।

    चाडबाड र देवीदेवताका प्रसादको रुपमा त झन् चिनीको मात्रा धेरै प्रयोग हुन्छ । केटाकेटीको बिहान र दिउँसोको खाजामा पनि धेरै चिनीको प्रयोग हुने भएकाले नेपाली केटाकेटीमा दाँतसम्बन्धी समस्या उच्च छ । उच्च रक्तचाप, मोटोपन, मधुमेहजस्ता समस्याहरूको एउटा प्रमुख कारकको रुपमा चिनी रहेको प्रमाणित भएको धेरै भइसकेको छ तर पनि हामी यसतर्फ त्यति सचेत भइरहेका छैनौँ ।

    विश्व स्वास्थ्य सङ्गठनले सन् २०१४ मा ‘वयष्कलाई दैनिक पाँच चम्चाभन्दा बढी र बालबालिकालाई तीन चम्चाभन्दा बढी चिनी खान नदिनु भने पनि अहिले हाम्रो भोजनमा त्योभन्दा निकै बढी मात्रामा चिनी प्रयोग भएको पाइन्छ ।

    सस, बिस्कुट, चाउचाउ आदि गुलियो जस्तो नलाग्ने खानामा पनि चिनी मिसाइएको हुन्छ । त्यस्तै, बट्टाबन्द र प्याकेटबन्द गरेको मासु, सुप, स्वस्थकर नास्ता भनिएका बट्टाका बजारे भोजन (जस्तो, मुसेली, कर्नफ्लेक्स मा पनि चिनी मिसिएको हुन्छ ।

    तर, प्रायः यो कुरा हामी वास्ता नै गर्दैनौँ । चिनी भएको थाहा नै नपाई हामी त्यसको उपभोग गरिरहेका हुन्छौँ । त्यसैगरी, हर्लिक्स, बोर्नभिटा, भिभा आदि पेयपदार्थ, लस्सी, कोक, फ्यान्टा, पेप्सी, डिउ, मिरिन्डा, फ्रुटी, एपी, सर्बत, लस्सी आदि चिसा पेयपदार्थहरूमा अधिकमात्रामा चिनी मिश्रण हुन्छ ।

    चिनी भएको वस्तु खाएपछि यसले दाँतको इनामेल गालेर दाँतमा प्वाल पार्छ । बच्चाको आहारा जस्तो, बोतलबन्द दूध तथा पेय पदार्थहरूमा मिसाइएको गुलियो पदार्थले उनीहरूको कलिलो दाँतमा गम्भीर असर गरेको हुन्छ ।

    तर, बच्चाका अभिभावक यस्ता खानामा भएको चिनीले बच्चालाई नोक्सानी गर्छ भन्ने बारेमा अनभिज्ञ छन् । नेपालको सन्दर्भमा कुरा गर्दा मिठाईहरू, गुँदपाक, पुष्टकारी, केक, आइसक्रिम, सेल, मालपुवा आदिमा पनि ठूलो मात्रामा चिनी मिसाइएको हुन्छ र त्यसलाई हामीले अन्धाधुन्ध रुपमा प्रयोग गरिरहेका छौँ ।

    एक लिटर हलुका पेयमा औसत १४ चम्चा चिनी राखिएको हुन्छ । यसबारेमा हामीले कहिल्यै विचार गरेका हुँदैनौँ । तर, खाँदा त्यति गुलियो नलागे पनि यसमा भएको अत्याधिक चिनीले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ ।

    अङ्ग्रेजीमा सुगर भनिने चिनीका माल्टोज, फ्रुक्टोज, ल्याक्टोज आदि अनेक रुपाकारहरु छन् । कतिपय फलफूलको बट्टामा ‘सुगर फ्रि’ भनेर लेखिएको हुन्छ । तर माल्टोज, फ्रुक्टोज, सुक्रोज आदि स्वरुपमा चिनी रहेको हुन्छ र हामी नजानेरै यसको उपभोग गरिरहेका हुन्छौँ । 

    मकैबाट पनि चिनी बनाइन्छ । विशेषगरी चकलेट, कुकिज बिस्कुट बनाउँदा यसको प्रयोग गरिन्छ । यस्तो प्रकारको गुलियो पदार्थ र पेयले कोलेस्टेरोल (खराब बोसो) को मात्रा बढाउँछ । खराब बोसो बढेपछि यो मुटुका धमनीका भित्ताहरूमा लेउजस्तै टाँसिन पुग्दछ ।

    यसकारण धमनीहरू साँघुरिने वा कडा हुने जटिलता उत्पन्न हुन थाल्छ । यसो हुनेबित्तिकै मुटुका मांसपेशीहरूमा धमनीबाट रगत, अक्सिजन र पोषक तत्व आवश्यकमात्रामा पुग्न सक्दैन । अनि मुटुका मांसपेशीहरू मर्दछन् र हृदयाघात निम्तिन्छ । 

    त्यसैगरी, शरीरलाई आवश्यक नपरेको चिनी चिल्लो पदार्थ या बोसोमा परिणत हुन्छ । यसैकारण मुटु तथा रक्तनलीमा अवरोध पुग्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभुषण उपाध्यायका अनुसार गुलियो ज्यादै खाँदा डायविटिजको जोखिम बढ्छ ।

    चिनी, सख्खर हालेका वस्तुबाहेकका सुगर फ्रि कोक, जुस, मह आदि जुनसुकै रुपमा खाए पनि चिनी चिनी (सुगर वा गुलियो बस्तु) नै हो । जसरी खाँदा पनि यदि चिनीको मात्रा बढी छ भने त्यसले असर गर्छ ।  ‘सुगर फ्री’ भनिएको वस्तु वास्तवमा ‘सुगर फ्री’ हुँदैन । स्याक्रिन हालिएको चिया या अन्य पेयपदार्थ स्वास्थ्यका लागि झनै भयानक हुन्छन् । यसले मुटुलाई बिगार्छ ।

    –रासस