९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

कहिले बन्छ चुहार पक्की पुल ?



  • आफ्नै खबर
  • ३० असोज २०८२ बिहिबार (१ महिना अघि)
  • पाठक संख्या १५८
  • भोजपुर/  भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ सालमा निर्माण सुरु गरिएको उक्त पुल हालसम्म पनि रोकिएको छ ।

    कोशी प्रदेश सरकारले २१ करोड २३ लाख १२ हजार रुपैयाँ लागतमा कालिका-प्यासेफिक जेभीलाई पुल निर्माणको जिम्मा दिएको थियो । सुरुमा दुवैतर्फ पिलर निर्माण सुरु भए पनि कामले निरन्तरता नपाएर अधुरै छाडिएको हो ।

    लामो समयदेखि अलपत्र बनेको पुल निर्माणमा ढिलाइ भएपछि भोजपुरका तीन स्थानीय तह रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले संयुक्त बैठक बसेर प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।

    रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले पुल निर्माणमा भइरहेको ढिलाइले तीनवटै पालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित भएका बताउनुभयो ।

    ‘प्रदेश सरकारले दुई वर्षमा बनाउने भनिएको पुल पाँच वर्षसम्म पनि बनेको छैन’, उहाँले भन्नुभयो, ‘हामी संयुक्त पहलमार्फत प्रदेश सरकारलाई काम अघि बढाउन दबाब दिनेछौँ । काममा ढिलाइ हुँदा नागरिकलाई प्रत्यक्ष असर पुगेको छ ।’

    संयुक्त बैठकमा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, आमचोक गाउँपालिका उपाध्यक्ष अशोक राईसहित तीनवटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत र सरोकार भएका निकायका प्रतिनिधि सहभागी थिए ।

    दक्षिणी क्षेत्र हुँदै तराईका जिल्लासँग जोडिने प्रमुख मार्गका रूपमा रहेको चुहार पुल निर्माण रोकिएपछि स्थानीयवासी वर्षौँदेखि जोखिमपूर्ण रूपमा दूधकोशी पार गर्दै आवतजावत गर्न बाध्य छन् ।

    २०७७ असोज २७ गते शिलान्यास गरिएको यो पुलले भोजपुरको हतुवागढी-९ हसनपुर र उदयपुरको वेलका नगरपालिका-७ मैनामैनीलाई जोड्छ । पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर रहनेछ ।

    स्थानीयवासीका अनुसार पुल बनेपछि यो क्षेत्रको आवागमन, व्यापार तथा सामाजिक सम्पर्कमा सहजता आउनेछ । निर्माणकार्य लामो समयदेखि ठप्प हुँदा स्थानीय निरास भएका छन् ।

    –रासस