आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

लयमा फर्कनथाल्यो सिंहदरवार वैद्यखाना


  • आफ्नै खबर
  • २०८२ फागुन ५, मंगलबार मा प्रकाशित १३ घण्टा अघि
  • ८४ पाठक संख्या
  • काठमाडौँ/  सिंहदरबार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । २०७७ सालदेखि औषधि उत्पादन कमी आएकामा वैद्यखाना फेरि लयमा फर्कन थालेको हो ।

    तीन वर्षदेखि कच्चापदार्थका लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेकामा हाल औषधि उत्पादन बढाइएको वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक प्रदीप केसीले जानकारी दिनुभयो ।

    ‘केही समय समस्या भएको थियो । हाल उत्पादन वृद्धिमा  ध्यान दिएर लागेका छौँ । उत्पादन वृद्धिसँगै कारोबारमा बढाइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘हाल सरकारी औषधालयमा मात्र दुई करोड रुपैयाँ बराबरको औषधि माग आएको छ ।’

    कुनै बेला आम्दानीभन्दा दुई सय ३३ प्रतिशत बढी खर्च हुने वैद्यखाना साउनयता नाफामा गएको कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो । समयमा कच्चापदार्थको आपूर्ति नहुँदा औषधि उत्पादन ठप्प भइरहेकामा पछिल्लो समय आन्तरिक समस्या समाधान गरेर उत्पादन वृद्धि गर्न लागेको उहाँले बताउनुभयो ।

    २०७७ सालमा १२ वटा मात्र औषधि उत्पादन गर्ने गरिएकामा हाल यहाँबाट ८६ प्रकारका औषधि उत्पादन भइरहेका छन् । तीमध्ये ३० वटा औषधि सरकारी औषधालयमा जाने गरेका छन् ।

    कार्यकारी निर्देशक केसीले भन्नुभयो, ‘हामीले कच्चापदार्थ आपूर्तिका लागि २०८० पुसमा ठेक्का सम्झौता भएको थियो । तर, ठेकेदारले कच्चापदार्थ नल्याएपछि कालोसूचीमा राख्यौँ । २०८१ वैशाखमा नयाँ ठेक्का सम्झौता गरेर सोही वर्षको साउनयता औषधि उत्पादन भइरहेको छ ।’ 

    वैद्यखाना निरन्तर घाटामा गएपछि सात महिनासम्म कर्मचारीले तलबसमेत नपाउने अवस्था आएको थियो । हाल नियमित औषधि उत्पादन भएर नाफामा गएपछि कर्मचारीले नियमित तलब पाइरहेका छन् ।

    माग धान्नै गार्हो
    वैद्यखानाको औषधिलाई सबैले रुचाएका कारणले हाल माग बढिरहेको र हाल करिब चार करोड रुपैयाँ बराबरको औषधिको माग रहेको केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशभरिबाट नै औषधिको माग बढिरहेको छ । तर, हामीले मागअनुसार उत्पादन गर्न सकेका छैनौँ । त्यसैले हाल सरकारीबाहेक अन्यलाई औषधि दिन सकिएको छैन ।’

    कार्यकारी निर्देशक केसीले यस वर्षको अन्त्यसम्म ५० प्रतिशत सरकारी औषधालयमा औषधि पुर्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो ।

    शिलाजित, च्यवनप्राश, निमिया (जोर्नी दुख्ने औषधि), चन्द्र प्रभावटी, महायोगराज, कान्चानार, त्रिफलालगायत औषधिको माग उच्च रहेको वैद्यखानाले जनाएको छ । हाल १५ वर्षदेखि रोकिएको स्वर्णभष्म विन्दु फेरि उत्पादन सुरु गरिएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु