
कास्की/ सात वर्षअघि पोखरा महानगरपालिका-३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गर्नुभएको भैँसीपालनले यतिखेर व्यवसायिक रूप लिएको छ । समाजमा कृषिप्रतिको नकारात्मक सोच कायमै रहेका समयमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका उहाँले भरतपोखरीस्थित सुरौदीको तिखेढुङ्गामा दुई पाडी पाल्न सुरु गर्नुभएको थियो ।
आचार्यलाई तत्कालीन समयमा आफ्नै छिमेकी, इस्टमित्रसमेतले के गरेको होला भनेर होच्याउँथे, कुरा काट्ने गर्थे । तर समय बदलिएको छ । त्यसबेला होच्याउने र खिसिट्युरी गर्नेहरू अहिले भने उहाँको फस्टाइरहेको भैँसीपालनसहितको व्यावसायिक कृषि कर्म देखेर लोभिएका छन् ।
भैँसीपालनले व्यावसायिक रूप लिँदा आचार्य आफैँ आफ्नो पेसाप्रति गौरवान्वित हुनुहन्छ । पाडी पाल्न सुरु गर्दा तिखेढुङ्गामा केवल झाडीमात्र रहेको र त्यसलाई फाँडेर पाल टाँगेर बसेको उहाँले अनुभव सुनाउनुभयो ।
‘वरपर जङ्गलको बीचमा पाल टाँगेर मैले यो व्यवसाय सुरु गरेको हुँ’, आचार्यले भन्नुभयो, ‘पछि गोठ तथा धन्सार बनाएर त्यसलाई व्यवस्थित गर्दै लगेँ । अहिले गोठमा ३० भैँसी छन् ।’
पछिल्ला समयमा हरेक वर्ष लैनो भैँसी बेच्ने गरेको आचार्यले बताउनुभयो । उहाँले अघिल्लो वर्ष १८ लैनो भैँसी बेच्नुभयो । भैँसी बिक्री गर्न समस्या छैन । सामान्यतः एउटा लैनो भैँसी एक लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
आचार्य आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकसमेतको अनुभव सँगाल्दै अहिले पूर्ण रूपमा व्यवसायिक कृषिमा लाग्नुभएको छ ।
२०७८ सालमा तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फार्म दर्ता गरी व्यावसायिक कृषि कर्ममा लाग्नुभएका आचार्यले भैँसीपालनसँगै व्यावसायिक रूपमा तरबुजाखेतीसहित तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आउनुभएको छ ।
फार्ममा उहाँले हाल मकैखेती, तरबुजा, काँक्रो, लसुन, प्याजलगायत गरिरहनुभएको छ । उहाँले सुरुमा २०७६ सालमा साना किसानबाट तीन लाख रुपैयाँ ऋण लिएर व्यावसायिक कृषि थालेकामा पछि फार्म दर्ता भएपश्चात कृषि विकास बैङ्कबाट ऋण लिएर आफ्नो व्यावसायिक यात्रा सुरु गर्नुभएको हो ।
व्यवसायिक कृषिमा नयाँनयाँ प्रयोग गर्न रुचाउने आचार्यले सुरुमा १५-२० बोट तरबुजाखेती परीक्षणका रुपमा गर्नुभयो । अर्को वर्ष दुई रोपनी क्षेत्रफलमा थप्नुभयो । राम्रो उत्पादन दिएपछि अघिल्लो वर्ष करिब ३५ रोपनी क्षेत्रफलमा संयुक्त रूपमा उक्त खेती गर्नुभयो ।
श्रीमती धनलक्ष्मी तथा स्नातक तहमा अध्ययनरत छोराछोरीको साथले आचार्य आफ्नो कृषिकर्मप्रति उत्साहित हुनुहुन्छ । सुरौदी खोलाको बाढीले बर्सेनि कटान भइरहेकाले नियन्त्रणसँगै यहाँको पानीलाई सिँचाइका लागि उपयोग गरिनुपर्ने उहाँ बताउनुहुन्छ ।
खोलामा पक्की पुल तथा बाटो व्यवस्थित नहुँदा दूध बजारसम्म पुर्याउन नसकिएको आचार्यले दुःखेसो गर्नुभयो । बाँदरको समस्या सुरौदीमा पनि उस्तै छ । फार्ममा उत्पादित कृषिजन्य वस्तु भरतपोखरीमा नै खपत हुने गरेको आचार्यको भनाइ छ ।
सुरौदीसम्मको बाटो थप व्यवस्थित गर्नुका साथै टुनिखोलामा पुल बन्न सके उत्पादित वस्तु पोखरा तथा तनहुँको दुलेगौँडा पुर्याउन सहज हुने उहाँले बताउनुभयो ।
सुरौदी खोला क्षेत्रमा पानीको स्रोत भएर पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा सिँचाइको असुविधा भोग्नुपरेको आचार्य बताउनुहुन्छ । व्यवस्थित गर्न सकेमात्रै पनि यहाँ उपलब्ध पानीको स्रोतलाई उत्पादनसँग जोड्न सकिने उहाँले बताउनुभयो ।
सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बर्सेनि बगरमा परिणत हुँदै जाँदा जलाधार क्षेत्रका स्थानीयवासी समस्यामा परेको आचार्यको भनाइ छ ।
–रासस
प्रतिक्रिया दिनुहोस