आज: २०८२ फागुन १३, बुधबार | Wed, 25, Feb, 2026

बिजुली बत्ती पर्खिरहेका अपिवासी

पोल गाड्ने र तार तान्ने काम अघि बढेपछि भने अब गाउँमा विद्युत आउँछ भन्नेमा स्थानीय ढुक्क छन् । 

  • आफ्नै खबर
  • २०८२ फागुन १२, मंगलबार मा प्रकाशित १३ घण्टा अघि
  • ६७ पाठक संख्या
  • दार्चुला/

             ‘चौलानीको कञ्चन पानी, बिजुलीको खानी
            अँध्यारोमै बित्न लाग्यो, हाम्रो जिन्दगानी ।
            आशा छ अब त सरकार, बिजुली बालिदेला
            घरघरमा बत्ती बल्दा, खुसीले मन छाउला ।’

    देउडिया प्रेमसिंह कार्कीले गुनगुनाउने यी शब्दमा अपिहिमालको पीडादायी यथार्थ लुकेको छ । टुकी र सोलारको भरमा जीवन बिताउँदै आएका कार्की अहिले ७० वर्ष पुगिसक्नुभयो । गाउँको तल चमेलिया नदी कलकल बगिरहे पनि उहाँको बस्ती भने अझै अन्धकारमै छ ।

    स्थानीय भाषा ‘चम्लेउ’ (चौलानी) भनेर चिनिने चमेलिया नदी अपिहिमाल (सात हजार १३२ मिटर) को फेदबाट बग्छ । चमेलिया नदीबाट विद्युत् उत्पादन भएको धेरै सुनिए पनि मुहान नजिकैका बस्तीहरू भने उज्यालोबाट वञ्चित छन् ।

    अपिहिमाल गाउँपालिका-१ का ल्वाथी, लुम्चा, खायकोट, भट्टार, गुरुसाड, सिती, आरुखोड तथा वडा नं. २ का घुसा, पाटु, लिथीलगायतका बस्ती अहिले पनि अन्धकारमै छन् । सेतो हिमाल चम्किएर उज्यालोको आभास दिलाए पनि गाउँमा विद्युत् नहुँदा स्थानीयको दैनिक जीवन कठिन बनेको छ ।

    जिल्लाको सबैभन्दा विकट क्षेत्र मानिएको दार्चुलाको अपिहिमालमा अहिले भने आशाको किरण देखिन थालेको छ । विद्युतीकरणका लागि हेलिकप्टरमार्फत ट्रान्सफर्मर ढुवानी गरिएपछि स्थानीयमा अब गाउँमा बत्ती बल्ने विश्वास बढेको हो ।

    गाउँ-गाउँमा विद्युतका पोल गाड्ने काम सुरु भइसकेको छ भने हाइटेन्सन लाइन अपिहिमाल गाउँपालिका-२ को धनबोरासम्म पुगेको छ । पोल गाड्ने र तार तान्ने काम अघि बढेसँगै स्थानीय उत्साहित भएका छन् । पोल गाड्ने र तार तान्ने काम अघि बढेपछि भने अब गाउँमा विद्युत आउँछ भन्नेमा स्थानीय ढुक्क छन् ।

    अपिहिमाल गाउँपालिका-२ का रमेशसिंह लोथ्याल भन्नुहुन्छ, ‘गाउँमा विद्युतकै लागि भनेर पोलहरू आफैँ पिठ्यूँमा बोकेर गाड्ने काम गरेका छौँ ।’

    विद्युतको तार पुगेपछि थप विद्युतीकरण सुरु हुनेछ । ६ वडा रहेको अपिहिमाल गाउँपालिकाको वडा नं. ५ मा मात्रै विद्युत्को राष्ट्रिय प्रसारण लाइनको बत्ती बलेको छ । अहिले विद्युतीकरण हुन बाँकी रहेका सबै वडामा विद्युत् पुर्याउने गरी पोल विस्तार गर्ने काम भएको छ ।

    विद्युतीकरणको काम गराउँदै आएका निर्माण व्यवसायी जीवन लोथ्यालकाअनुसार अहिले अपिहिमाल गाउँपालिका-३ र ४ हुँदै वडा नं. २ मा लाइन विस्तार गर्ने तयारी छ । अपिहिमाल गाउँपालिकाको सकारमा पोल गाड्न बाँकी छ । वडा नं. १ को भट्टार गाउँभन्दा माथिल्लो क्षेत्रमा विद्युतको पोल गाड्न बाँकी छ । विद्युतको पोल गाडेपछि लाइन विस्तार अभियान चल्ने उहाँको भनाइ छ ।

    गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरेका अनुसार अब अपिहिमाल गाउँपालिकामा छिट्टै राष्ट्रिय लाइनबाट बत्ती बल्नेछ । बस्ती-बस्तीहरुमा विद्युत् राष्ट्रिय प्रसारणलाइन विस्तार तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।

    अध्यक्ष बोहराका अनुसार हाल गाउँपालिका-४ को सबै ठाउँमा लाइन विस्तार भइसकेको, वडा नं. ३ को लाइन विस्तार केही ठाउँमा सम्पन्न भएको छ भने हाइटेन्सन पोल ढुवानी भइरहेको छ । वडा नं. १ र २ मा लोकल सर्भिस पोल ढुवानी ९० प्रतिशत पूरा भएको उहाँले बताउनुभयो । यस्तै, वडा नं. ६ मा विद्युतका पोल ढुवानीको काम चलिरहेको छ । 

    नेपाल विद्युत् प्राधिकरणले दार्चुला-डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत जिल्लाका सबै स्थानीय तहमा विद्युत पुर्याउने गरी काम भइरहेको छ । दार्चुलामा विद्युतको मेन लाइन र शाखा लाइनको काम धमाधम भइरहेको कस्मिक इलेक्ट्रिकल लिमिटेड परियोजनाका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर मनोज बस्नेतले बताउनुभयो ।

    उहाँका अनुसार अपिहिमालमा सिम्रिक एयरको हेलिकप्टरमार्फत २२ वटा विद्युत् ट्रान्सर्फमर ढुवानी गरिएको छ तथा हाइटेन्सन लाइन विस्तार हुँदैछ ।

    जिल्लाको महाकाली, लेकम, मालिकार्जुन, दुहुँ, शैल्यशिखरलगायत अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । व्यास, मार्मा, नौगाडमा पनि विद्युतीकरणको काम भइरहेको छ । अपिहिमालमा जनशक्ति अभावका कारण विद्युतीकरणमा ढिलाइ भइरहेको इन्जिनियर बस्नेतले बताउनुभयो ।

    प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरिया र दार्चुला वितरण केन्द्र खलङ्गाले यस जिल्लाको नौवटै स्थानीय तहमा विद्युत् लाइन विस्तार, मर्मत तथा विद्युतीकरणको काम गरिरहेको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख रोशनकुमार ठाकुरले बताउनुभयो ।

    करिब २८ हजार घरधुरी रहेको दार्चुलामा अहिले २२ हजार चार सय ८८ घरधुरीमा विद्युत् पहुँच पुगेको ठाकुरले बताउनुभयो । यो कुल विद्युतीकरण भएको ७९.२४ प्रतिशत हो । यी घरधुरीमा विद्युतको मिटर जडान भइसकेको छ ।

    गत आर्थिक वर्ष २०८१/८२ मा यहाँका सात गाउँपालिका र दुई नगरपालिकाका २८ हजार तीन सय ८१ घरधुरीका २० हजार पाँच सय ६३ ग्राहकलाई पाँच करोड ७५ लाख ८२ हजार रुपैयाँमा विद्युत बिक्री गरिएको थियो । 

    गत आवमा जिल्लाका एक हजार आठ सय ६७ जना विद्युतका नयाँ ग्राहक थपिएका थिए । केन्द्रले गत आवमा २०.८ किलोमिटर एलटी लाइन र १५.२५ किलोमिटर ११ केभिए लाइन निर्माण र नौ थान नयाँ ट्रान्सफर्मर जडान गरेको उहाँले बताउनुभयो ।

    अहिले पनि विद्युतको एलटी लाइन तथा ट्रान्सफर्मर थप गर्ने प्रक्रिया चलिरहेको छ । जिल्लामा दुई मेगावाट विद्युत मात्रै खपत रहेको कार्यालय प्रमुख ठाकुरको भनाइ छ । 

    एक सय मेगावट उत्पादन
    विद्युतको ‘हब’ मानिएको चमेलिया र आसपासका नदीहरूबाट दार्चुलामा हालसम्म एक सय मेगावाट विद्युत् उत्पादन गरिएको छ । जिल्लाले भने हाल दुई मेगावट मात्रै विद्युत् खपत गरिरहेको छ । अझै
    जिल्लामा विद्युत उत्पादनको काम निरन्तर भइरहेको छ ।

    दार्चुलामा सरकारी तवरबाट उत्पादन गरिएको चमेलिया जलविद्युत् आयोजनाबाट ३० मेगावाट विद्युत उत्पादन भइरहेको छ । शैल्यशिखर नगरपालिका-१ स्थित बलाँचमा विद्युत उत्पादन भइरहेको हो ।

    चमेलियामा विद्युत उत्पादन गरिएपछि जिल्लाभरि उत्पादन गरिएका विद्युत् यहीँबाट जिल्ला बाहिर पठाउने काम भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ ।

    यस्तै निजी क्षेत्रबाट मार्मा गाउँपालिका-२ घट्टेगाडमा माथिल्लो चमेलिया आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादन गरिएको छ । अपि पावर लिमिटेडले विद्युत् उत्पादन गरेको हो ।

    यस्तै, अपिहिमाल गाउँपालिका-५ मकरीगाडमा १० मेगावाट, नौगाड खोला जलविद्युत् आयोजनाबाट शैल्यशिखर नगरपालिका-२ मा ८.५ मेगावाट नौगाड र माथिल्लो नौगाड खोला आयोजनाबाट आठ मेगावाट विद्युत् उत्पादन भएको छ । यी आयोजनाहरुबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन भइरहेको छ ।

    यसबाहेक अपिहिमाल गाउँपालिका-३ क्षत्तिगाडमा एक सय किलोवाट विद्युत् उत्पादन भएको छ । यस विद्युतबाट अपिहिमालका वडा नं. ३ र ४ मा बत्ती बलेको छ ।

    यस्तै नौगाड गाउँपालिका-३ होपरीगाडमा एक सय किलोवाट क्षमताको विद्युत् उत्पादन गरिएको छ । यसले हाल नौगाडका वडा नम्बर १, २, ३ र ४ नम्बरसम्म बिजुली बाल्ने काम भएको निर्माण समिति अध्यक्ष पानसिंह धामीले जानकारी दिनुभयो ।

    चमेलिया र थालीगाडमा विद्युत उत्पादन गरिँदै
    दार्चुलाको मार्मा गाउँपालिका-२ मा २८.३० मेगावाटको मध्यचमेलिया जलविद्युत् आयोजना निर्माणको काम चलिरहेको छ । दार्चुला पावर लिमिटेडले पाँच अर्ब ६६ करोड रुपैयाँको लागतमा आयोजना निर्माण
    गरिरहेको हो । अपर चमेलिया जलविद्युत् आयोजनाको विद्युत् गृहभन्दा आधा किलोमिटर तल मध्यचमेलियाको बाँध बनाएर आयोजना निर्माण भइरहेको छ ।

    अपि पावर कम्पनीको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले २०८१ फागुन १० गते २४ महिनाभित्र निर्माण सक्ने गरी आयोजनाको शिलान्यास गरेको थियो । २०८३ माघसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको प्रोजेक्टर म्यानेजर विनय उप्रेतीले बताउनुभयो ।

    अहिले विद्युतको पाइप लाइन, पावरहाउस लगायत सबै काम भइरहेका छन् । २५ प्रतिशत प्रगति भएको छ । अहिलेको बर्खा अगावै ६० प्रतिशत काम सकिने उहाँको भनाइ छ ।

    मार्मा गाउँपालिका-२, लाम्बगाडमा बाँधस्थल रहने आयोजनाको साढे सात किलोमिटर तल मार्मा गाउँपालिका-३, नलगाडमा विद्युत् गृह निर्माण भइरहेको छ । यो आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाँच सबस्टेसनमा जोडिनेछ ।

    यस आयोजनाबाट वार्षिक १८५.६२ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने बताइएको छ । मध्यचमेलियामा नेपाल बैङ्क लिमिटेड र नबिल बैङ्कको ७५ प्रतिशत ऋण लगानी रहेको छ भने २५ प्रतिशत दार्चुला पावर लिमिटेडको स्वपुँजी रहेको छ ।

    यस्तै, महाकाली नगरपालिका-६ र ७ को सीमाना भएर बग्ने थालिगाड खोलामा दुई मेगावाटको थालिगाड साना जलविद्युत् आयोजना निर्माण गरिदैछ । दार्चुलाको त्रिकाल पावर कम्पनी प्रालिले थालिगाड खोलामा आयोजना निर्माण सुरु गरिसकेको कम्पनीका निर्देशक दिलीपसिंह बुढाथोकीले जानकारी दिनुभयो ।

    अहिले थालिगाडमा विद्युतको प्रारम्भिक काम सुरु भइसकेको छ । आयोजनाबाट उत्पादित बिजुली एक किलोमिटर लामो ३३ केभी लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको धाप सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट २०८३ वैशाख १० गतेसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा ४० देखि ४५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु