
मकवानपुर/ पढ्ने उमेर भए पनि मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका ९ वर्षीय रजनी वनकरिया विद्यालय जाँदैनथे । घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय बिताउँथे तर अहिले बिहान हुनेबित्तिकै झोलामा कपी–किताब बोकेर पढ्न विद्यालय जान थालेका छन् ।
कुनै बेला पर्साको मध्यवर्ती क्षेत्र चुरेघाँचमा फिरन्ते जातका रुपमा चिनिने लोपोन्मुख वनकरिया जातिलाई सरकारले २०६२ सालमा जङ्गली जीवनबाट मानव बस्तीमा सारेको थियो ।
जिल्ला वन कार्यालयले कबुलियती वनसमूहअन्तर्गत नौ हेक्टर क्षेत्रफलमा रहेको उक्त बस्तीमा २४ घरपरिवार वनकरिया समुदायको बसोवास गराएको छ । त्यही ठाउँमा ती जातिका मानिस करिब २० वर्षदेखि बन्दै आएका थिए ।
२०७८ सालको जनगणनाअनुसार वनकरिया जातिको कुल जनसङ्ख्या एक सय ८० र मातृभाषा बोल्ने जनसङ्ख्या ८६ मात्र छ । वनकरिया जातिको नेपालको त्यो बस्तीमा मात्र बसोबास रहेको वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियाले बताउनुभयो । उक्त बस्तीमा हाल ४५ महिला र ४६ पुरुष गरी ९१ जना वनकरिया रहेको उहाँको भनाइ छ ।
केही वर्षअघिसम्मका फिरन्ते वनकरियाले अहिले खेतीपातीसँगैै कुखुरा, बाख्रा र भैँसी पालेका छनभने कोही ज्याला मजदुरीको काम गर्छन् ।
आमा–बुबा खेतीपाती र पशुपालनमा व्यस्त हुँदा दिनभरि खेलेरै दिन बिताउँदै आएका सोही बस्तीका सात वर्षीय सौरभ वनकरियाको पनि अहिले दिनचर्या फेरिएको छ । रजनीसँगै सौरभ पनि अहिले घर नजिकैको चेपाङ आधारभूत विद्यालय जान थालेका छन् ।
रजनी र सौरभ मात्र होइन, पछिल्लो समय वनकरिया बस्तीका बालकबालिकाको शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ । अहिले उक्त बस्तीका सात जना बालबालिका चेपाङ आधारभूत विद्यालयमा अध्ययनरत छनभने चार जना श्रीपशुपतिनाथ माध्यमिक विद्यालय मसिने गोलघरमा अध्ययनरत रहेको बस्तीका अगुवा सन्तोषी वनकरियाले बताउनुभयो ।
‘म करिब १० वर्षको छँदा २०६३ सालमा पहिलोपटक विद्यालय पुगेकी थिएँ’, सन्तोषीले भन्नुभयो, ‘त्यतिखेर मानिसहरू वनकरिया भनेर अचम्म मानेर हेर्थे । स्कुलमा सरहरू देख्दा पनि मलाई डर लाग्थ्यो, कहिल्यै त्यसरी अन्य समुदायका मान्छेहरूसँग सङ्गत गरेको थिइन ।’
विस्तारै स्कुल सहज हुँदै गएको र २०७३ सालमा आफूले एसइई परीक्षा उत्तीर्ण गरेको उहाँले सुनाउनुभयो । त्यो भन्दा अघिल्लो वर्ष २०७२ सालमा सोही बस्तीका पम्फा वनकरियाले सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।
पम्फा र सन्तोषीसँगै आरती वनकरिया, सम्झना वनकरिया, अनिल वनकरिया र विष्णुमाया वनकरिया गरी अहिलेसम्म उक्त बस्तीका ६ जनाले एसइई उत्तीर्ण गरेका छन् ।
एसइई उत्तीर्ण गरेमध्ये सन्तोषीले कक्षा १२ सरहको बाली विज्ञान (जिटिए) उत्तीर्ण गर्नुभएको छ भने आरती, सम्झना, अनिल कक्षा १२ मा अध्ययनरत छन् । मकवानपुरको हेटौँडा बहुमुखी क्याम्पसमा अध्ययनरत आरती पत्रकारिता क्षेत्रमा पनि थोरै सक्रिय रहेको बताउनुहुन्छ ।
उक्त बस्तीका बालबालिकाहरूलाई लक्षित गरी मनहरी गाउँपालिका र केही संस्थाहरूले शैक्षिक अभियानअन्तर्गत बस्तीमै निःशुल्क ट्युसन कक्षा र विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू उपलब्ध गराएपछि विद्यालय जाने वनकरिया समुदायको बालबालिकाको सङ्ख्या बढ्दै गएको हो ।
विगतमा प्राथमिक तहको विद्यालय टाढा हुँदा वनकरिया बस्तीबाट विद्यालय जाने बालबालिकाको सङ्ख्या थोरै थियो तर गाउँपालिकाले बस्ती नजिकै २०७९ सालमा चिसापानीबाट चेपाङ आधारभूत विद्यालय सारेपछि अहिले उक्त बस्तीबाट विद्यालय जाने विद्यार्थीको सङ्ख्या बढेको आरती वनकरिया बताउनुहुन्छ ।
‘पहिला पहिला हाम्रो बस्तीका बालबालिकाहरू स्कुल टाढा छ भनेर विद्यालय नगई खेलेरै दिन बिताउने गरेका थिए तर बस्ती नजिकै स्कुल सारिएको र बस्तीमै निःशुल्क ट्युसन कक्षा सञ्चालन भएपछि बिस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन्’, आरतीले भन्नुभयो, ‘केही वर्षअघिसम्म विद्यालयमा हाम्रो बस्तीका बालबालिका न्यून सङ्ख्यामा मात्र भेट्थ्यो । अहिले विस्तारै विद्यालय जानेको सङ्ख्या बढ्न थालेको छ ।’
वनकरिया बस्तीका अभिभावकहरूले पनि शिक्षाको महत्व थाहा नभएका कारण आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाउन चाहिरहेको थिएनन् । बिस्तारै अभिभावकहरूमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको सन्तमाया वनकरिया बताउनुहुन्छ ।
‘जङ्गलमा फिरन्ते जीवन बिताइरहँदा आफूहरूले पनि पढ्नुपर्छ भने थाहै थिएन’, वनकरिया समाजका अध्यक्षसमेत रहनु भएकी सन्तमायाले भन्नुभयो, ‘अहिले फरक संसारमा आएको महसुस भइरहेको छ ।’
वनकरिया समुदायको शिक्षाको अवस्थामा सुधार ल्याउन स्थानीय सरकारले वनकरिया बस्ती लक्षित शैक्षिक कार्यक्रम सञ्चालन गरिएको मनहरी गाउँपालिका–४ का वडाअध्यक्ष प्रकाश थापाले बताउनुभयो ।
‘वनकरिया बस्तीका बालबालिकालाई विद्यालयमा भर्ना गराउनुका साथै बस्तीकै निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेका छौँ’, उहाँले भन्नुभयो, ‘विद्यालय भर्ना भएका वनकरिया बस्तीका बालबालिकालाई शैक्षिक सामग्री र स्कुल झोला समेत उपलब्ध गराउँदै आएका छौँ ।’
महिलाहरूका लागि प्रौढ शिक्षासमेत सञ्चालन गरिएको छ । बिस्तारै समाजमा घुलमिल हुँदै गएकाले वनकरिया समुदायमा चेतनाको विकास भएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस