
रौतहट/ केराखेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केराखेतीमा बिमा नहुँदा यहाँका किसान प्राकृतिक प्रकोपबाट मारमा परेका हुन् ।
सोमबार साँझ आएको भीषण हावाहुरीका कारण चन्द्रपुर नगरपालिकामा अत्यधिक क्षति पुगेको छ । विशेष गरी चन्द्रपुर–३ मा लगाइएको करिब डेढ करोड रुपैयाँबराबरको केराखेती पूर्ण रूपमा नष्ट हुँदा किसान आर्थिक मारमा परेका छन् ।
चन्द्रपुर–१ को पौराई, चन्द्रपुर–२ को जुडिबेला, वार्ड नं. ३ को गैँडाटार, वार्ड नं. ४ को चन्द्रनिगाहपुरलगायत गाउँमा हावाहुरीले केराखेती पूर्ण रुपमा क्षति पुर्याएको छ । चन्द्रपुर–३ को गैँडाटार गाउँ केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित छ । यहाँका अधिकांश किसानले व्यवसायिक रूपमा केरा खेती गर्दै आएका छन् ।
सोमबार आएको हावाहुरीले हजारौँ बोट केरा ढल्दा वर्षभरिको मेहनत एकैछिनमा नष्ट भएको स्थानीय कृषक दीपक गौतमले बताउनुभयो । लगानी, श्रम र समय सबै गुम्दा किसान आर्थिक रूपमा धरासायी हुने अवस्थामा पुगेका छन् ।
केराखेती गर्ने किसानले बर्सेनि प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ । हावाहुरी, रोग र कहिलेकाही जङ्गली जनावरको आक्रमणले केराखेती नष्ट हुने गरेको तर बिमा नहुँदा सबै क्षति किसानले बेहोर्नुपरेको गौतम बताउनुहुन्छ ।
यस क्षेत्रमा व्यावसायिक रुपमा केराखेती गर्ने किसान बढेपछि केराखेतीको बिमा गर्न पटकपटक चन्द्रपुर नगरपालिकामा आवाज उठाउँदा पनि सुनवाइ नभएको उहाँले बताउनुभयो ।
बिमाका लागि चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले तथा विभिन्न बिमा कम्पनीलाई आग्रह गर्दा बेवास्ता गरेको कृषक गौतमको गुनासो छ । उहाँले करिब ७ बिघा जमिनमा केराखेती गर्दै आउनुभएको छ । रौतहटमा करिब चार सय बिघाभन्दा बढी जमिनमा केराखेती भएको र हावाहुरीबाट तीन करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।
यस्तै चन्द्रपुर–३ का अर्का किसान रमेश घिमिरेले केराखेतीको बिमा भएमा किसानको लगानी सुरक्षित हुने बताउनुभयो । यहाँ बिमा नहुँदा किसान मारमा परेको उहाँले बताउनुभयो । अहिलेको समयमा हरेक बालीको बिमा अपरिहार्य भएको घिमिरेले बताउनुभयो ।
बिमा कम्पनीले जोखिम बढी हुने भन्दै केराखेतीको बिमा गर्न आनाकानी गर्दै आएको उहाँको गुनासो छ । यसले हरेक वर्ष प्राकृतिक प्रकोप आउँदा किसान थप समस्यामा पर्ने गरेका छन् ।
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले कृषकको बाली बिमाका लागि नगरपालिका सबै किसिमको सहयोग गर्न तयार रहेको बताउनुभयो । बालीका लागी बिमा अति आवश्यक भएकाले बिमाका लागि कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।
–रासस
प्रतिक्रिया दिनुहोस