आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

सिप्लीकानले बनाएको कृषिउद्यमी


  • आफ्नै खबर
  • २०८२ चैत्र ६, शुक्रबार ३ घण्टा अघि
  • ५७ पाठक संख्या
  • तनहुँ/  शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि फार्मका सञ्चालक कविराज खनाललाई यतिखेर माग अनुसारको सिप्लीकानका बिरुवा पुर्‍याउनै धौधौ छ ।

    विगत ६ वर्षयता सिप्लीकानको व्यावसायिक खेतीसँगै नर्सरी गरी बिरुवा बेच्दै आएका खनालले यसवर्ष ५० हजार सिप्लीकानका बिरुवा तयार गर्ने लक्ष्य राख्नुभएको छ । तर, बढ्दो मागका कारण बिरुवा पुर्याउन नसकिने अवस्था आएको छ ।

    पछिल्ला दिनमा विभिन्न कृषि समूहका साथै व्यक्तिगत रूपमा बिरुवाका लागि अत्याधिक माग आइरहेको खनालले बताउनुभयो । अघिल्लो वर्ष मात्रै करिब ६ लाख रुपैयाँबराबरका करिब आठ हजार सिप्लीकानका बिरुवा बिक्री गरेको उहाँले जानकारी दिनुभयो ।

    विशेषतः पहाडी क्षेत्रमा पाइने बहुऔषधीय गुणयुक्त यो वनस्पति देशका अधिकांश स्थानबाट हराउँदै गएको छ । सिप्लीकानको महत्त्वलाई पछिल्ला पुस्तामासमेत पुर्याउने लक्ष्यसँगै आफूले यसको व्यावसायिक खेती गरी बर्सेनि आम्दानी गरिरहेको खनालको भनाइ छ ।

    ‘परापूर्वकालदेखि नै च्यवन, गर्गजस्ता ऋषिमुनिहरूले यस वनस्पतिलाई शरीरको शुद्धीकरणसँगै ध्यानमा स्थिरता र दीर्घायु प्राप्तिका लागि उपयोग गर्ने गरेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ’, उहाँले भन्नुभयो, ‘लोपोन्मुख अवस्थामा पुगेको यो औषधीय वनस्पतिको संरक्षणसँगै पुस्तौँसम्म यसको उपयोग होस् भन्ने सोचका साथ मैले व्यावसायिक खेती थालेको हुँ ।’

    कास्कीको रुपा, मादी, माछापुछ्रे, अन्नपूर्ण गाउँपालिका र तनहुँको शुक्लागण्डकी, भीमाद, बन्दीपुर, देवघाट आसपासका क्षेत्रहरू सिप्लिकान खेतीका लागि उपयुक्त रहेको बताउँदै खनालले लोपोन्मुख अवस्थामा रहेको बनस्पतिलाई संरक्षण गर्दै जनजनमा प्रयोग बढाउने उद्देश्यसहित काम गरिरहेको बताउनुभयो ।

     उहाँले योजना सुनाउनुभयो, ‘कोभिड–१९ महामारीपछि विगत ६ वर्षयता म यस खेतीमा लागेको थिएँ । यहाँ उत्पादित बिरुवा कास्कीको रुपा गाउँपालिकासहित देशका विभिन्न स्थानमा पुगिसकेका छन् । यस वर्ष मागअनुसार पुर्याउने लक्ष्यसँगै ५० हजार बिरुवा तयार गर्ने गरी काम भइरहेको छ ।’

    खनालले व्यापार मात्र होइन, छरछिमेक, इष्टमित्रलगायत कतिपय स्थानमा निःशुल्क बिरुवा प्रदान गर्दै आउनुभएको छ । उहाँले प्रतिबिरुवा एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा बिक्री गरिराख्नुभएको छ । पर्यावरणीय सन्तुलनका लागि पनि यसको महत्त्व रहेकाले सबैले यसको संरक्षण गरी लाभ लिनुपर्ने उहाँको भनाइ छ ।

    उच्च रक्तचाप, सुगर, जन्डिस र मिर्गौलामा हुने पत्थरीलगायतका रोगका लागि औषधिका रूपमा सिप्लिकानको प्रयोग गर्ने गरिन्छ । यसलाई तत्कालका लागि तरकारी र अचार तथा लामो समयका लागि गुन्द्रुक बनाएर पनि खान सकिन्छ ।

    ‘एक पटक लगाएको सिप्लीकानको बिरुवाबाट चार पुस्तासम्म उत्पादन लिन सकिन्छ’, खनालले भन्नुभयो, ‘यसमा बाँदरले पनि क्षति पुर्‍याउँदैन । वर्षाको समयमा लगाइने लहरे तरकारीका लागि यसलाई थाँक्रोका रूपमासमेत उपयोग गर्न सकिन्छ ।’

    खनालले आफ्नो फार्ममा सिप्लिकानसँगै कुरिलोखेती पनि गर्दै आउनुभएको छ । यहाँको उत्पादन शुक्लागण्डकी नगरपालिका–१ र २ का साथै पोखरा नगरपालिका–३२ बाट पनि बिक्री भइरहेको छ । उहाँका अनुसार फार्मबाट वार्षिक २० देखि २५ हजार कुरिलोका बिरुवा बिक्रीवितरण गर्ने गरिएको छ ।

    स्वास्थ्यका लागि  उपयोगी कुरिलोको टुसालाई तरकारीका रूपमा बढी प्रयोग गरिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न पौष्टिकतत्व पाइने र बच्चादेखि वृद्धसम्म सबैका लागि उपयोगी हुने चिकित्सकले बताएअनुसार आफूले यसको व्यवसायमा जोड दिएको खनालको भनाइ छ ।

    उहाँले फार्ममा आउने वा बुझ्न चाहने जो कोहीलाई कुरिलो, सिप्लिकानलगायत खेतीका प्रविधि, उपयोगिता र बजारीकरणलगायत विषयमा जानकारी गराउँदै आउनुभएको छ । कृषिबारे ज्ञान, सीप र प्रविधिबारे जानकारी गराउने भएकोले उहाँको फार्म एउटा जीवन्त पाठशालासमेत बन्दै गएको छ ।

    व्यवसायिक कृषिसँगै पत्रकारिता र शिक्षण पेसालाई सँगसँगै अघि बढाउनुभएका खनाल रेडियो नेपाल र आदर्श समाज राष्ट्रिय दैनिकमा संवाददाताका रूपमा कार्यरत हुनुहुन्छ ।

    रोजगारीको खोजीमा धेरै नेपाली युवाहरू विदेशिने गरेको अवस्थामा सम्भावनायुक्त कुरिलो, सिप्लीकान जस्ता खेतीतर्फ आफू लागेको उहाँको भनाइ छ । यसबाट अन्य युवाले पनि प्रेरणा लिँदै व्यावसायिक उत्पादन गर्न सक्ने खनालले बताउनुभयो ।

    व्यवसायिक कृषिका माध्यमबाट स्वदेशमा नै केही गर्छु भन्नेलाई पहिचान गरी उनीहरूलाई प्रोत्साहित गर्ने वातावरण राज्यले तयार गर्नुपर्ने र त्यसमा आफू पनि सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु