आज: २०८२ चैत्र ११, बुधबार | Wed, 25, Mar, 2026

उद्योग वाणिज्य महासङ्घमा दुई प्यानलबाट आंशिक उम्मेदवारी घोषणा

निजी क्षेत्रको नेतृत्व चयनलाई नीतिगत दिशानिर्देशन र आर्थिक एजेन्डा तय गर्ने महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । मुलुक आर्थिक सुस्तता, लगानी सङ्कुचन र नीतिगत अनिश्चितताबाट गुज्रिरहेको अवस्थामा महासङ्घको नयाँ नेतृत्वले कस्तो रणनीति अवलम्बन गर्छ भन्ने प्रश्न अहिले चासोको विषय बनेको छ ।

  • आफ्नै खबर
  • २०८२ चैत्र ११, बुधबार ७ घण्टा अघि
  • ५६ पाठक संख्या
  • काठमाडौँ/  नेपाल उद्योग वाणिज्य महासङ्घको ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचनले निजी क्षेत्रभित्रको राजनीतिक तथा संस्थागत सरगर्मी तीव्र बनेको छ । महासङ्घको कार्यकारिणी समितिको १५ औँ बैठकले गरेको निर्णयअनुसार यही चैत्र २९ गते साधारणसभा र त्यसलगत्तै चैत्र ३० गते निर्वाचन कार्यक्रम तय गरिएको छ ।

    महासङ्घका अनुसार साधारणसभा ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना हुनेछ भने निर्वाचन कार्यक्रम काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरिनेछ ।

    निजी क्षेत्रको नेतृत्व चयनलाई नीतिगत दिशानिर्देशन र आर्थिक एजेन्डा तय गर्ने महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । मुलुक आर्थिक सुस्तता, लगानी सङ्कुचन र नीतिगत अनिश्चितताबाट गुज्रिरहेको अवस्थामा महासङ्घको नयाँ नेतृत्वले कस्तो रणनीति अवलम्बन गर्छ भन्ने प्रश्न अहिले चासोको विषय बनेको छ ।

    विशेषतः सरकारसँगको सम्बन्ध, कर नीतिमा सुधार, उद्योगमैत्री वातावरण निर्माण, विदेशी लगानी आकर्षण तथा आर्थिक पुनरुत्थानका एजेन्डामा महासङ्घको भूमिका महत्वपूर्ण हुने भएकाले योे निर्वाचनलाई सामान्य संगठनात्मक प्रक्रिया भन्दा बढी रणनीतिक महत्वको रूपमा हेर्ने गरिन्छ ।

    महासङ्घको विधान २०४९ (सातौँ संशोधनसहित) बमोजिम साधारणसभासँगै उपाध्यक्षहरू तथा कार्यकारिणी समितिका सदस्यहरूको निर्वाचन हुने व्यवस्था रहेकाले यसपटकको सभा औपचारिकता मात्र नभई नेतृत्व चयनको महत्त्वपूर्ण मञ्चका रूपमा हेरिएको छ ।

    निजी क्षेत्रको छाता सङ्गठनको नेतृत्व चयन हुने भएकाले यसले आगामी आर्थिक नीति, लगानी वातावरण र सरकारसँगको समन्वयमा समेत दूरगामी प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

    यस्ता छन् उम्मेदवारहरू

    महासङ्घको प्रस्तावित वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले गत फागुन ११ मै उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । ढकाल अहिलेको कार्यकारिणी समितिमा वस्तुगत तर्फका उपाध्यक्ष हुनुहुन्छ । यो समूहबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठको उम्मेदवारी रहनेछ । श्रेष्ठ अहिलेको कार्यकारिणी समितिमा पनि एसोसिएट उपाध्यक्ष हुनुहुन्छ ।

    त्यस्तै, जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे र उमेश डालमिया, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र प्रस्तावित महिला उपाध्यक्षमा कमला श्रेष्ठ छन् । यो समूहको चैत १३ गते वस्तुगत तर्फका सदस्यको उम्मेदवारी घोषणा गरिने जनाएको छ ।

    महासङ्घको आसन्न नेतृत्व चयनको सन्दर्भमा वरिष्ठ उपाध्यक्ष पदका आकाङ्क्षी हेमराज ढकालले आफ्नो उम्मेदवारीलाई अनुभव, निरन्तरता र नीतिगत सुधारको आवश्यकताका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।

    उहाँले उपाध्यक्षको रूपमा काम गरिसकेको अनुभवलाई आधार बनाउँदै महासङ्घको गरिमा कायम राख्दै अझ प्रभावकारी भूमिका निर्वाह गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । ढकालले आफू लामो समयदेखि महासङ्घभित्र सक्रिय रहँदै आएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबेदारी स्वाभाविक भएको बताउनुभयो । उहाँले विगतमा गरेका कामहरूलाई निरन्तरतासहित अगाडि बढाउँदै निजी क्षेत्रका समस्या समाधानमा केन्द्रित हुने उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘अहिलेसम्म चलायमान भएर काम गरियो । महासङ्घको गरिमा राख्नेगरी काम गरिएको अनुभवका आधारमा अझ पनि धेरै काम गर्न सकिन्छ भन्ने विश्वास छ । अबको आवश्यकता नीतिगत स्थिरता हो । लगानीमैत्री वातावरण सिर्जना गर्नु हो र अव्यवहारिक कानूनहरू संशोधन गर्नु हो । बहुदर कर प्रणाली लागू गर्ने, उधारो उठाउने स्पष्ट कानूनी व्यवस्था बनाउने र डिजिटल अर्थतन्त्रको विकासतर्फ अगाडि बढ्नुपर्छ ।’

    ढकालले पछिल्लो समय केही सकारात्मक कानुनी सुधार भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘केही कानून संशोधन भएका छन्, तर अझै पनि कार्यान्वयनको पक्ष बलियो छैन । निजी क्षेत्रमा अख्तियारको अनावश्यक हस्तक्षेप हुन खोजेको थियो । त्यसलाई हामीले रोक्न सफल भयौँ ।

    विशेष आर्थिक क्षेत्र (सेज) को भाडा घटाइएको छ, जुन सकारात्मक पक्ष हो । अब हामी बहुदर कर प्रणालीतर्फ जानुपर्छ । थप नयाँ कानून बनाउनुपर्छ र पुराना कानूनहरूलाई समयअनुकूल संशोधन गर्नुपर्छ भन्ने विषयहरू हाम्रा एजेण्डा हुन् ।’

    ढकालले साना तथा घरेलु उद्योगको संरक्षणका लागि छुट्टै नीति आवश्यक रहेको उल्लेख गर्नुहुँदै चोरी पैठारी नियन्त्रण गर्न नसक्दा आन्तरिक उत्पादन प्रभावित भएको विषयलाई पनि गम्भीर रूपमा लिइनुपर्ने बताउनुभयो ।

    महासङ्घका हालका वरिष्ठ उपाध्यक्ष तथा आगामी कार्यकालका अध्यक्ष अञ्जन श्रेष्ठ समूहले गत सोमबार एक कार्यक्रमबीच आफ्नो समूह घोषणा गरेको छ । यो समूहले वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे र जिल्ला/नगरतर्फको उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

    वस्तुगत उपाध्यक्षतर्फका आकाङ्क्षी शिवप्रसाद घिमिरे महासङ्घको कार्यकारिणी सदस्य, स्थल यातायात तथा पारवहन समिति सभापति तथा नेपाल कत्था उद्योग उत्पादक सङ्घको अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल एलपी ग्यास उद्योग सङ्घको निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ ।

    यो समूहबाट वस्तुगततर्फका सदस्यमा अरनिको राजभण्डारी (नेपाल आइसक्रिम उद्योग व्यवसाय सङ्घ), रविन पुरी (नेपाल दाना उद्योग सङ्घ), राजकुमार कार्की (नेपाल कुचो सङ्घ), बसन्त चन्द्र मरहट्टा (नेपाल बिउ व्यवसायी सङ्घ), रघुनन्दन मारु (नेपाल सिमेन्ट उद्योग सङ्घ), सुनीता न्हेम्हाफुकी (नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ) छन् ।

    त्यस्तै, होम प्रसाद घिमिरे (नेपाल प्लाईउड उत्पादक सङ्घ), धनप्रसाद लामिछाने (नेपाल पस्मिना उद्योग सङ्घ) लगायतको उम्मेदवारी घोषणा भएको छ । त्यस्तै, धर्मराज सापकोटा (नेपाल धितोपत्र दलाल सङ्घ), सङ्घर्ष विष्ट (रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल), राजेशभक्त श्रेष्ठ (फ्लोरिकल्चर एसोसिएसन नेपाल), नानिराज घिमिरे (जुत्ता उत्पादक सङ्घ नेपाल) रहेका छन् ।

    एब बहादुर थापा (नेपाल वायोग्यास प्रवर्द्धन सङ्घ), विश्वनाथ खनाल (ढुवानी व्यवसायी महासङ्घ नेपाल), कृष्णप्रसाद अवाले (नेपाल इटा उद्योग महासङ्घ), नेपाल बोटल वाटर इन्ड्रस्ट्रिज एशोसिएसन ध्रुवबहादुर गौतम पनि यो समूहमा उमेदवार रहेका छन् ।

    त्यस्तै, एसोसिएट उपाध्यक्षमा प्रवलजङ्ग पाण्डेसहित सदस्यमा अम्बिकाप्रसाद पौडेल, अभया मल्ल, ईश्वर जिसी, हेमन्त गोल्छा, बाबुकाजी कार्की, जुना माथेमा, मनोज पौडेल, कृष्णलाल महर्जन, निकोलस पाण्डे, राजेशकुमार अग्रवाल, ऋषि अग्रवाल, शक्तिकुमार बेगानी, उज्ज्वल श्रेष्ठ, सुयोस प्याकुरेल, सुशील थापा, प्रियाराज रेग्मीलगायतको उम्मेदवारी रहने बताइएको छ ।

    वस्तुगत उपाध्यक्षतर्फ उम्मेदवारी घोषणा गर्नु भएका शिवप्रसाद घिमिरेले महासङ्घ नेतृत्व केवल पद वा प्रतिष्ठाको विषय नभई निजी क्षेत्रका समस्या सुल्झाउने र मुलुकको समग्र आर्थिक तथा व्यवसायिक अवस्था सुधारका लागि पहल गर्ने ठाउँका रूपमा लिइनुपर्ने बताउनुभयो ।

    विगतका नेतृत्वसँग नजिक रही समन्वयात्मक ढङ्गले काम गरेको आफ्नो अनुभव पनि आफ्नो महत्त्वपूर्ण पुँजीका रूपमा रहेको घिमिरेको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘अग्रजको अनुभव र वर्तमानको आवश्यकतालाई नजिकबाट बुझेको नाताले महासङ्घको इतिहास र भविष्य जोड्ने कडीका रूपमा आफूलाई समर्पित गरेको छु । सशक्त महासङ्घ र सुरक्षित निजी क्षेत्र बनाउनका लागि हामी कटिबद्ध भएर लाग्नेछौँ ।’

    सेवा प्रवाहमा पारदर्शिता, वस्तुगत क्षेत्रका समस्या समाधानका लागि एकीकृत इकाई स्थापना, नीति निर्माणमा निजी क्षेत्रको अनिवार्य सहभागितालगायतका विषयहरू पनि आफ्नो प्राथमिकतामा रहने उहाँले बताउनुभयो ।

    त्यस्तै, साना तथा मझौला उद्योगको संरक्षण र सम्बर्धन, विश्वव्यापीकरण र विकासशील मुलुकका रूपमा नेपालको औद्योगिक क्षेत्रका लागि उपयुक्त हुने नीति बनाउनका लागि पनि आफूले पहल गर्ने उहाँले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु