आज: २०८२ फागुन १३, बुधबार | Wed, 25, Feb, 2026

नगरपालिकाले बाँड्यो उन्नत जातका सुन्तलाका बेर्ना


  • आफ्नै खबर
  • २०८२ फागुन १२, मंगलबार मा प्रकाशित १२ घण्टा अघि
  • ८२ पाठक संख्या
  • भोजपुर/  किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले यहाँको भोजपुर नगरपालिका-५ बोखिमका किसानलाई उन्नत जातका सुन्तलाका बेर्ना वितरण गरिएको छ । वडा कार्यालयले एक सय ५० किसानलाई करिब एक हजार दुई सय ५० सुन्तलाका बेर्ना वितरण गरेको हो ।

    बोखिम क्षेत्र सुन्तला उत्पादनका लागि उपयुक्त मानिन्छ । किसानलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा बेर्ना उपलब्ध गराइएको वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिनुभयो । ती बेर्ना धनकुटास्थित पारीपात्ले सुन्तला जात अनुसन्धान केन्द्रबाट ल्याइएका हुन् ।

    ‘उन्सु जापानिज’ र ‘खोकु स्थानीय कलमी’ जातका सुन्तलाका बेर्ना वितरण गरिएको वडाध्यक्ष प्रधानले बताउनुभयो । यस वर्ष वडाले सुन्तला तथा अङ्गुरका बेर्ना वितरणका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मागका आधारमा हाल सुन्तलाका बेर्ना वितरण गरिएको र केही समयपछि अङ्गुरका बेर्ना पनि वितरण गरिने उहाँको भनाइ छ ।

    ‘बोखिम सुन्तला खेतीका लागि उपयुक्त क्षेत्र हो’, वडाध्यक्ष प्रधानले भन्नुभयो, ‘सदरमुकाम नजिक भएकाले बजारको समस्या छैन । किसानलाई व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित गर्दै आयआर्जनमा जोड्ने उद्देश्यले बेर्ना वितरण गरेका हौँ ।’

    हाल यहाँका करिब तीन सय किसान सुन्तला खेतीमा आबद्ध छन् । स्थानीय किसान भीमबहादुर दाहालले उन्नत जातका बेर्ना वितरण कार्यक्रमले किसानलाई ठूलो राहत मिलेको बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु