आज: २०८२ फागुन १४, बिहिबार | Thu, 26, Feb, 2026

मत सर्वेक्षण ‘लाइभ’ गर्ने अनलाइनहरू बन्द गर्न निर्देशन


  • आफ्नै खबर
  • २०८२ फागुन १४, बिहिबार मा प्रकाशित ९ घण्टा अघि
  • ८५ पाठक संख्या
  • काठमाडौँ/  निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’ मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ ।

    आयोगले यही फागुन २१ गते हुन लागेको मत सर्वेक्षण गर्न नपाउने आचारसंहिताविपरीत मत सर्वेक्षणको लाइभ गरेको भन्दै ती अनलाइनलाई कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको आयोगका सहप्रवक्ता सीता पुनले बताउनुभयो ।

    ‘अन्य देशको तुलनामा नेपालको परिवेश फरक छ । मतदातालाई आफैँलाई जनप्रतिनिधि चुन्ने अधिकार दिनुपर्छ’, निर्वाचन आयोगको सहकार्यमा पत्रकार महिलाका लागि आयोजित ‘निर्वाचन समाचार र आचारसंहितासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा उहाँले भन्नुभयो, ‘मतदातालाई अनावश्यक प्रभाव पार्नबाट रोक्नुपर्छ । मत सर्वेक्षणले मतदातालाई एउटा ह्वीममा लैजान्छ भनेर आचारसंहिताले बाँध्नुपरेको हो ।’

    निर्वाचन आयोग ऐन, २०७३ दफा २३ का अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा एक लाख रुपैयाँ जरिवाना र उम्मेदवारी रद्द हुनेछ । सहप्रवक्ता पुनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

    आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर गत माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । यही फागुन १८ गते राति १२ बजेदेखि सुरु हुने मौन अवधिका सञ्चार तथा सामाजिक सञ्जाल कुनै माध्यमबाट प्रचारमूलक सामग्री प्रकाशन/प्रसारण गर्न पाइने छैन ।

    कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले ‘निर्वाचनमा पत्रकार आचारसंहिता’ विषयक कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनमा समाचार सामग्री तयार गर्दा पत्रकार आचारसंहिताको ध्यान दिनुपर्ने र गोपनियताको सम्मान गरेर उच्च व्यावसायिक अभ्यासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    उहाँले समाचार तयार गर्दा क्षेत्र, लिङ्ग, भाषा, संस्कृति कसैलाई असर नपर्ने गरी समाचार तयार गर्नुपर्ने सूचना निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुनेमा जोड दिनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु