९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

छठ पर्वले ल्याएको डोम समुदायको खुसियाली

छठ पर्वको बेला बाँस र बेतबाट उत्पादन गरेको डालो, नाङ्लो, ढकिया, कोनियाजस्ता भाँडाकुँडाको व्यापार छठपर्वको बेला मात्रै चल्ने भएकोमा भने चिन्तित



  • सञ्जीतकुमार मण्डल
  • १० कात्तिक २०८२ सोमबार (४ हप्ता अघि)
  • पाठक संख्या १९२
  • महोत्तरी/  वर्षभरि विभिन्न दुःख, पीडा र आर्थिक समस्यासँग जुध्दै आएको कुरा सुनाउँदै हिँड्ने जलेश्वर नगरपालिका-१ का इन्दल डोम आज आफ्नै घरअगाडि मुसुमुसु हाँस्दै बाँस र बेतका भाँडाकुँडा बेच्न व्यस्त हुनुहुन्छ ।

    उहाँ डालो, नाङ्गलो र टालु टपरी बेचेर आएको आम्दानीले यसअघि लिएको ऋणहरू चुक्ता गरी एक/दुई महिनाको घरखर्चको जोहो गर्न सकिने बताउनुहुन्छ । उहाँसहित उहाँका छोरा, नाति र घरका अन्य महिलाहरू पनि प्रसन्न मुद्रामा हातहातमा बाँस र बेतको भाँडाकुँडा बेच्दै गरेको देख्न सकिन्छ । 

    गरिबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षैभरि गाउँगाउँमा सुँगुर डोहोर्याएर चहार्ने महोत्तरीका डोम समुदायलाई अहिले तराईवासीका महान् पर्व छठ व्रतमा बाँस र बेतका चोयाबाट डालो, नाङ्गलो र टालु टपरी बेचेर मनग्य आम्दानी गर्न पाउँदा खुसी तुल्याएको छ ।

    गाँस, बास र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेको डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको महोत्तरी जिल्लाका मनरासिस्वा नगरपालिकाका ६० वर्षीय हरिदेव डोमले बताउनुभयो ।

    पहाडी क्षेत्रमा पनि छठ पर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडाहरू निर्यात हुने हुँदा डोम समुदायले कात्तिकको महिनाभरि काम र दाम दुवै पाएर निकै खुसी देखिएका छन् ।

    डालो बुन्दै गरेकी गौशाला नगरपालिकाकी ७० वर्षीया घुरनी डोमिनले गहभरि आँसु लिएर भन्नुभयो, ‘कात्तिक लाग्ने बित्तिकै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्गलो र टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निकै खुसी हुन्छौँ ।’

    तर, वर्षभरि उनीहरूको काम नचल्ने हुनाले फेरि केही दिनपछि दुःख थपिने चिन्ताले भने उहाँलाई सताएको छ ।  

    छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्गलो र टालु टपरीमा अर्घ्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सातवटा बाँसका भाँडाकुँडाहरू किन्नुपर्दछ ।

    छठ पर्वको आगमनसँगै डोमका घर आँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वासपूर्ण कुरा बताउँदै सम्सी गाउँपालिकाका ६५ वर्षीय बेचना डोमले आफूहरू सोही कारण एक महिनादेखि दिनरात व्रतालुहरूको निम्ति बाँसका भाँडाहरू बनाउने गरेको सुनाउनुभयो । 

    त्यसैगरी जिल्लाको भङ्गहा नगरपालिकाका बिरजु डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्गलो बेचेर प्रतिव्यक्ति ५०/६० देखि ७०/८० हजार रुपैयाँ र प्रत्येक परिवारले दुई/तीन लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्ने गरेको बताउनुभयो ।

    एक महिनादेखि जिल्लाको प्रत्येक पालिकाको गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको थियो भने परिवारका सबैले बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिएका थिए भने आज सबै बेचेर मनग्यै आम्दानी गर्न सफल भएका छन् ।  

    पछिल्लो केही वर्षदेखि तराईमा मात्रै नभएर देशको राजधानी काठमाडौँसहित पोखरा, हेटौँडाजस्ता पहाडी क्षेत्रमा पनि छठ पर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडाहरू निर्यात हुने हुँदा डोम समुदायले कात्तिकको महिनाभरि काम र दाम दुवै पाएर निकै खुसी देखिएका छन् ।

    डोमको आँगन र पिँढीमा बाँस र बेतबाट बनेको भाँडाकुँडा खरिद गर्नका लागि पुग्न थालेको बताउँदै औरही नगरपालिकाका महेश डोमले आफू परिवारसहित राति अबेरसम्म काम गरेर बाँसका र बेतका भाँडाकुँडा बनाउने गरेको बताउनुभयो ।

    सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ पर्व डोम जातिका लागि प्रत्येक वर्ष खुसी र उत्साह ल्याउनाका साथै आर्थिक आम्दानी गर्ने प्रमुख चाड बनेर आउने गरेको पिपरा गाउँपालिकाका सुरेश डोमले बताउनुभयो । 

    यस्तो छ व्रत विधि 
    अत्यन्त कठिन रहेको यस पर्व चार दिनसम्म मनाइने गरिन्छ । यस पर्वको पहिलो दिन व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछन् अर्थात् जीउ चोख्याउने काम गर्नेछन् ।

    दोस्रो दिन खर्ना मनाइन्छ । खर्नाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।

    तेस्रो र षष्ठीका दिन यस पर्वको मुख्य दिन हुने गर्दछ । यस दिनका साँझ व्रतालुहरू गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता पकवान बनाउँछन् ।

    त्यस्तै, विभिन्न फलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केराजस्ता प्रसादहरू बाँस र बेतबाट निर्मित नाङ्लो, ढकिया, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्छन्  । 

    यस पर्वमा सूर्यदेवतालाई ७० प्रकारको प्रसाद चढाउने मान्यता रहे पनि व्रतालुहरू आ-आफ्ना गच्छेअनुसार कसैले २०/२५ कसैले ३०/३५ र कोहीकोहीले ५० तथा सो भन्दा माथि पनि पुर्याउने गर्दछन् ।

    षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर सबै अघ्य सामग्री (प्रसाद) पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्यअर्पण गर्दछन् ।

    त्यसको भोलिपल्ट अर्थात् पारणका दिन एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गर्दछन् । 

    यस वर्ष गत शनिबार नहाँ खा विधि गर्दै चारदिने छठ पर्व सुरु भएको थियो भने दोस्रो दिन आइतबार खरना पर्व मनाएका थिए भने आज सोमबार मुख्य छठ पर्व अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाउने छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ पर्व सम्पन्न हुनेछ । 

    यसरी छठ व्रत सुरु हुनुदेखि अन्त्य हुनुसम्म छठ व्रत मनाउने प्रत्येक परिवारले पूजा सामग्री तथा पूजा प्रसाद प्रयोग गर्न डोमले बनाएकै बाँसका भाँडाकुँडा प्रयोग गर्नुपर्ने हुन्छन् ।

    डोम समुदायले मिथिलावासीका यस पर्वका लागि एक/डेढ महिना पहिलेदेखि नै पर्याप्त बाँसको व्यवस्थापन गर्नुपर्ने, जनशक्ति लगाउनुपर्ने, भाँडाकुँडा तयार गर्नुपर्ने र तयार भाँडाकुँडालाई बिक्री वितरणका लागि घरदेखि बजारसम्म विभिन्न व्यवस्था मिलाउन भ्याइनभ्याइ हुने गरेको सोनमा गाउँपालिकाका रामजी डोमले बताउनुभयो । 

    सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । यस पर्वमा सूर्य देवतालाई चढाइने प्रत्येक वस्तु (प्रसाद) बाँस र बेतकै भाँडाकुँडामा राख्नुपर्ने प्रचलन रहेको छ ।

    पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्व पोखरी, नदी, तलाउ र अन्य जलाशयमा मनाउने गरिन्छ ।  

    महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि सम्पूर्ण मिथिला क्षेत्रमा छठ मनाउने परम्पराको थालनी भएको हो ।

    बाँस र बेतका भाँडाकुँडा छठको बेला नेपालको राजधानी काठमाडौँसहित पोखरा, हेटौँडा, चितवन, बुटबल, धरानजस्ता पहाडी क्षेत्रका साथै भारतको मधुबनी, दरभङ्गा, सीतामढी, मुजफ्फरपुर र पटनासम्म पुग्ने गर्दछ ।

    त्यस्तै सूर्य पुराणका अनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ ।

    धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमहरूले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्‍याउनुपर्छ तर चढाउने सामर्थ्य नभएकाहरू गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ ।

    यस पर्वमा सूर्यदेवतालाई ७० प्रकारको प्रसाद चढाउने मान्यता रहे पनि व्रतालुहरू आ-आफ्ना गच्छेअनुसार कसैले २०/२५ कसैले ३०/३५ र कोहीकोहीले ५० तथा सो भन्दा माथि पनि पुर्याउने गर्दछन् ।

    तर, सबै पूजा सामग्रीका  लागि बाँस र बेतका भाँडाकुँडा प्रयोग गर्नुपर्ने भएको हुनाले यस पर्वमा डोम समुदायको महत्वपूर्ण भूमिका रहने गरेको व्रतालुहरू बताउँछन् ।

    महोत्तरी जिल्लामा मात्रै १० नगरपालिका र पाँँच गाउँपालिकासहित १५ वटा पालिका रहेकामा प्रत्येक गाउँठाउँका डोम समुदायलाई प्रत्येक वर्ष छठ पर्वको आगमनसँगै बाँस र बेतका भाँडाकुँडा बनाउन भ्याइनभ्याई भएको हुन्छ भने आर्थिक उपार्जन गर्ने ठूलो अवसर हुन्छ ।

    वर्षभरि गरिबी र विपन्नताको ऋण, कर्जाको जालोमा जेलिएका उनीहरु छठ पर्वका बेला सबै ऋण, कर्जाबाट मुक्ति पाउने र मीठो मसिनो खान पाउने सौभाग्य प्राप्त गर्ने गरेको मटिहानी नगरपालिकाकी मरनी डोमिन बताउनुहुन्छ । 

    यसैबीच डोम समुदायका युवाहरुले आफूले छठ पर्वको बेला बाँस र बेतबाट उत्पादन गरेको डालो, नाङ्लो, ढकिया, कोनियाजस्ता भाँडाकुँडाको व्यापार छठपर्वको बेला मात्रै चल्ने भएकोप्रति चिन्तित हुँदै यसको वर्षभरि नै बजारीकरणको लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारसँग समेत माग गरेका छन् ।

    छठपर्वको बेला महोत्तरीको विभिन्न १५ वटै पालिकामा उत्पादन गरिएको बाँस र बेतका भाँडाकुँडा छठको बेला नेपालको राजधानी काठमाडौँसहित पोखरा, हेटौँडा, चितवन, बुटबल, धरानजस्ता पहाडी क्षेत्रका साथै भारतको मधुबनी, दरभङ्गा, सीतामढी, मुजफ्फरपुर र पटनासम्म पुग्ने गर्दछ ।

    –रासस