आज: २०८२ चैत्र ९, सोमबार | Mon, 23, Mar, 2026

विमानस्थलमा नेपालीका लागि अलग्गै डेस्क 


  • आफ्नै खबर
  • २०८२ चैत्र ९, सोमबार १३ घण्टा अघि
  • ६२ पाठक संख्या
  • काठमाडौँ/  विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ ।

    विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवं लगानी प्रवर्द्धन गर्न उक्त निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ ।

    विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न आइतबार पत्राचार गरेको छ ।

    विश्वमा रहेका नेपाली मूलका नागरिकहरूको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले यसका लागि निकै लामो समयदेखि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै र माग गर्दै आएको थियो । गृह प्रशासनले आइतबार यो निर्णय गरेपछि उक्त संस्थाले स्वागत पनि गरेको छ ।

    आइतबार अध्यागमन विभागले उक्त निर्णय गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पत्राचार गरेसँगै संस्थाले विज्ञप्तिमार्फत् गृहमन्त्री ओमप्रकाश अर्याल र गृह प्रशासनलाई धन्यवाद ज्ञापन गरेको हो ।

    एएनओका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयको यो निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकले आफूहरू सम्मानित भएको महसुस गरेका छन् । यो निर्णयको कार्यान्वयनले नेपाली मन र नेपाली पनलाई नेपालसँग जोड्न ठूलो योगदान पुर्याउने विश्वास लिएका छौँ ।’

    –रासस  
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु