आज: २०८२ फागुन १४, बिहिबार | Thu, 26, Feb, 2026

पालिकाले बाँड्यो किबीका बिरुवा


  • आफ्नै खबर
  • २०८२ फागुन १३, बुधबार मा प्रकाशित ११ घण्टा अघि
  • १०४ पाठक संख्या
  • ताप्लेजुङ/  मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ । ‘एक घर एक फलफूल बगैँचा विकास’ कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरिएको हो ।

    गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र राईका अनुसार इलाम जिल्लाबाट खरिद गरी हे–वार्ड जातका किबीका बिरुवा वितरण गरिएको हो । किबीखेती गर्न इच्छुक गाउँपालिकाभित्रका किसानबाट आवेदन माग गरी प्राप्त आवेदनका आधारमा बिरुवा खरिद गरेर वितरण गरिएको छ ।

    उहाँका अनुसार किसानलाई आवश्यकता र उपलब्धताका आधारमा ३० देखि एक सय वटासम्म बिरुवा उपलब्ध गराइएको छ । किबीखेतीका लागि ३३ किसानले आवेदन दिएका थिए र आवेदन दिने सबै किसानलाई बिरुवा वितरण गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ‘एक घर एक फलफूल बगैँचा’ विकास गर्ने उद्देश्यले बिरुवा वितरण गरिएको हो । उहाँले किवीका बिरुवा प्राप्त गर्ने किसानलाई अन्य प्रजातिका बिरुवा नदिइने पनि स्पष्ट पार्नुभयो ।

    वितरण गरिएका बिरुवाको नियमित अनुगमन गर्नुका साथै आवश्यक प्राविधिक सहयोगसमेत गाउँपालिकाले उपलब्ध गराउने उहाँले बताउनुभयो ।

    त्यसैगरी, किसानले लगेको बिरुवाको उचित स्याहार सुसार नगरेमा वा समयमै नरोपेमा गाउँपालिकाबाट प्रदान गरिने सेवासुविधा रोक्का गर्न सकिने पनि उहाँले बताउनुभयो । किसानले उत्पादन गरेको फलफूलको बजारीकरणका लागि समेत गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

    यस कार्यक्रमले स्थानीयस्तरमा व्यावसायिक किबीखेती विस्तार गर्नुका साथै किसानको आयआर्जन वृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु