मे, २८, २०२४ को बिहान वातावरण हुस्सुमय थियो । नायग्रा सिटी डम्मै ढाकिएको थियो हुस्सुले । बाहिर त चिसो हुँदो हो । तर, हामी बिहान १० बजेसम्म बाहिर निस्केनौँ ।
म घोत्लिरहेँ, अमेरिकी आदिवासीहरूको अवस्था व्यवस्थामा । वासिङटन डिसी स्थित ‘अमेरिकी इन्डियनको राष्ट्रिय सङ्ग्रहालय’ को अवलोकन गर्न भ्याएको भए अझ बढी लाभान्वित हुने थिएँ । त्यहाँ आदिवासीहरूको अस्तित्वलाई जिउँदो राख्ने प्रयास गरिरहेको छ रे ! नायग्रासम्म पुगेर पनि आदिवासीसँग साक्षात्कार हुने अवसर नै पाइएको होइन । यसपटक वासिङटन डिसी पुग्ने सम्भावना पनि थिएन ।
‘ड्याडी ! जाऔँ दश बजिसक्यो’, सौजनको आवाजले हामी सतर्क भयौँ र लुगा फेरफार गर्न लाग्यौँ ।
‘लौ जाऔँ ! भोक पनि लाग्यो ।’
हामी होटलबाट निस्किन्छौँ । घाम पोतिँदै थियो वातावरणमा । बाहिर रेष्टुराँको कौला (ब्रेकफाष्ट) ले पेट न्यानो पार्यौँ ।
सौजनले कार फर्किङ गर्यो गोट इज्ल्याण्डको फर्किङ स्थलमा । अनि हामी हान्नियौँ केभ अफ द विन्ड अर्थात् हुरीको गुफातर्फ ।
हिजै तय भएको थियो केभ अफ द विन्ड नै आजको एउटा रोमान्चक गन्तव्य हो । यस गन्तव्यमा प्रतिव्यक्ति २१ डलरको टिकटमा अति रोमाञ्चक क्षण बिताउन पाइँदोरहेछ ।
एउटा पुरानो घरमा प्रवेश गर्नासाथ इतिहास बोलिरहेको भेट्यौँ । यो प्राचीन घर पहिलेको विद्युतगृहको अवशेष झैँ लाग्यो मलाई । यसैमा सानो सङ्ग्रहालय बनाइएको रहेछ ।
यस सङ्ग्रहालयद्वारा नायग्रा नदी विद्युत उत्पादनको विशाल भण्डार हो भन्ने बुझेँ । जल विद्युत उत्पादन भएपछि यहाँको जीवन शैली नै बदलिएको बुझियो । अठारौँ शताब्दीदेखि नै विद्युत उत्पादनमा अग्रणी रहेको नायग्रा नदीले वर्तमानमा सत्ताइस लाख किलोवाटभन्दा बढी विद्युत त अमेरिकालाई मात्रै उपलब्ध गराउँछ भन्ने सङ्केत पनि पाइयो ।
अर्को कक्षका प्राचीन फोटाहरूले र डकुमेन्ट्री प्रदर्शनले इतिहास सम्झाउँदै थियो । म १३ हजार वर्ष पहिलेको हिम युगको नायग्रा फल्समा विचरण गर्न पुगेछु । जहाँ आदिमानवको भर्खर भर्खर आगमन हुँदै थियो ।
हिउँ पग्लेर इरी र ओन्टारियो ताल बन्दै थिए । नायग्रा नदी कलकलाउँदै बग्न खोज्दै थियो ।
उनीहरूलाई भिसाको आवश्यकता हुँदोरहेन छ लम्के उनीहरु । हामी दम्पतीले अतिरिक्त भिसा नभइ क्यानडा पस्न कहाँ पाउँदा रहेछौँ र ? हामीसँग आवश्यक गोलीगठ्ठै थिएन ।
जाडोमा कठ्याङ्ग्रिएर हिँड्दै थिएँ टुप्लुक्क ह्युडेनसुनी र अनिसिनाब आदिवासीसँग जम्काभेट भयो । भर्खर भर्खर जीवन बाँच्ने सुरसार गर्दैरहेछन् तिनीहरू । अचम्मित भएँ म, उनीहरूको अनौठा वेशभूषा र जीवन शैली देखेर ।
झल्यास्स झस्किएँ वर्तमानमा, डकुमेन्ट्री फिल्म भन्दै रहेछ, ‘यो पवित्र भूमि हो । यसलाई मेटिस र इन्यूट जनजातिको घर पनि मानिन्छ । यो भूमिमा आदिम मानव सभ्यताको इतिहास भरिएको छ । हाल यो भूमि क्यानडासँगको ‘द डिश विथ वान स्पून वाम्पम’ सम्झौताअनुसार सुरक्षित रहेको छ ।’
अलिअलि बुझेँ इतिहास, अलिअलि बुझेँ भूगोल । तर कौतुहल अझै सेलाएको थिएन । हामी एउटा मानव निर्मित पुरानो लामो गुफा जस्तो संरचनामा छि¥यौँ । अलिअलि गुफाको आभास समेट्दै बाहिर निस्कियौँ र नजिकै रहेको लिफ्टबाट तल नदीतटमा ओर्लियौँ ।
त्यो नदीतट ब्रिडल भेल फल्सको मुन्तिर रहेछ । त्यहाँ पहेँलो प्लस्टिकको रेनकोट सबैलाई ओडाइयो ।
समुद्री सेता चराहरू भुर्र भुर्र उडे । ह्वास्स गन्ध नाकमा ठोकियो बिस्टाको । ढुङ्गे नदीतटमा सामुद्रिक सेता चराहरू प्रशस्तै उडिरहेका र बसिरहेका देखेँ । ढुङ्गे बगरमा ससाना बचेराहरू पनि असरल्लै देखिए । सायद गाँसबास त्यहीँ हुँदो हो तिनीहरूको । जीवन न हो !
‘उः हेर्नोस् त, त्यहाँ मसिनो सर्प ढुङ्गाको कापमा मडारिइरहेछ ।’ प्रतिभाले देखाइन् ।
‘खै खै ?’ निभेदले चासो देखायो ।
कोलाहलमा पनि शान्तमय वातावरण ! दूध झै स्वेत र निर्मल झरनाको छङछङ सङ्गीतमा नाच्न थाल्यो मन । जलक्रिडाको रमाइलो अनुभूत गरिरहेछु म !
हामी अगाडि बढ्यौँ, जहाँ अमेरिकी भूमिबाट बेजोडले छङ्छङाउँदै झरिरहेको ब्रिडल भेल झरनाको कञ्चन पानी शास्त्रीय सङ्गीतको धूनमा बुर्कुसी मार्दै बगिरहेको थियो । चट्टाने परिवेश छिचोल्दै ।
कोलाहलमा पनि शान्तमय वातावरण ! दूध झै स्वेत र निर्मल झरनाको छङछङ सङ्गीतमा नाच्न थाल्यो मन । जलक्रिडाको रमाइलो अनुभूत गरिरहेछु म !
चट्टाने परिवेशले गर्दा झरनाको कद केही छोटो देखियो । अरू झैँ एक सय ६७ फिट अग्लो थिएन सायद । बेजोडको जलप्रवाहको निकट पुग्न व्यवस्थित र सुरक्षित काठे सिँढीहरूमा उमङ्ग
पोखिएको थियो । उक्लिन थाल्यौँ हामी ती सिँढीहरू झरनाको हुरीसमान जलकणको बाक्लो बाछिटा आइपुग्ने स्थानसम्म ।
अरू पर्यटकहरू हुत्तिँदै आइपुग्ने पानीका बाछिटामा रुझ्दै रमाइरहेको देख्दा नै हौसियौँ हामी पनि । पाइला चल्नथाल्यो सुस्त सुस्त नजिक नजिक हुँदै । पहिलो झमटमै पानीका कणहरूले हामीलाई स्पर्श गर्न आइपुग्दा रोमाञ्चित नभइ रहन सकेनौँ हामी ।
झरना दूधका धारा झैँ झरिरहेका थिए । सेता कणहरू मोतीका दाना झैँ चम्किरहेका थिए । हाम्रो मन हत्तारिँदै थियो जलप्रवाह चुम्दै । कहिल्यै जलक्रिडामा सरिक नहुने मलाई पनि लोभ्याइरहेको थियो निर्झर जलकणहरूले ।
सायद हुरीसमान झरनामुनि रम्नुपर्ने भएकोले केभ अफ द विन्ड (हुरीको गुफा) भनिएको हो !
निभेद झन् उत्साहित देखिन्थ्यो । सौजन र सुमित्राले उसलाई सुरक्षा दिइरहेका थिए । हौसला थपिरहेका थिए । ऊ पनि बुद्रुक बुद्रुक उफ्रेर जलकणको स्पर्शमा रमाइरहेको थियो । सौजन र सुमित्राको युवा उमङ्ग झन् के कम हुन्थ्यो र ! तर उनीहरु निभेद र हाम्रो रेखदेखमा पनि चनाखा देखिन्थे ।
हामी लग्लगाउँदो बुढ्यौली शरीरसहित बेजोड हुरीसमान वर्सिरहेका बाक्लै बाछिटामुनि होमिएका थियौँ । भनौँ, हुरीको गुफामा पसेका छौँ । हामी पनि बालक निभेद झैँ चञ्चल र उत्साहित बनिरहेका थियौँ ।
रुझ्नु पनि कति मज्जा आउँदो रहेछ ।
आहा ! मज्जा आयो ! निथ्रुक्कै भिजियो पनि जुत्तासम्मै । हिजो र आजको भिजाइमा बेग्लाबेग्लै आनन्दानुभूति गर्न पुगेँ म ।
हिजो स्टिमरको छतमा चलमलाएका थियौँ नियन्त्रित परिवेशमा । आज प्रत्यक्ष भूमिमा टेकेर झरनाकै मुन्तिर स्वेच्छाले उफ्रिरहेका छौँ । रमाइरहेका छौँ, फोटो खिचिरहेका छौँँ ।
समयको कुनै पाबन्दी थिएन । उन्मुक्त थियौँ हामी । यस्तो उन्मुक्ति हतपती कहाँ पाइन्छ र जीवनमा !
केटाकेटी त रमाए रमाए, बुढ्यौलीले ङ्याकेका हामी दम्पती पनि बालबालिका झैँ उत्साहित थियौँ, रोमाञ्चित थियौँ । रमाउन र अनुभूति समेट्न उमेरको हद पनि नलाग्दो रहेछ । वातावरण चाहिँदो रहेछ, बस् !
प्रतिभा र म पनि झुम्यौँ मज्जाले झरनाको बाछिटे गुफामा ! झरनाको बेगवान् मूल छाँगोभित्र छिर्ने अनुमति कसैलाई थिएन ! बाछिटाले नै हुत्याउन खोज्थ्यो राम्रैसँग ।
यही त हो उमङ्ग जीवनको । दुःखजिलोको जिन्दगीमा सधैँ कहाँ पाइन्छ र यस्तो उमङ्ग ! यो अनुभव अतुलनीय थियो । जीवनमा पहिलोचोटी यस्तो अनुभूति बटुल्ने संयोगका स्यावासी र आशीषका हकदार थिए प्रिय पुत्र सौजन र स्नेही पुत्रबधु सुमित्रा !
रुझ्दै भिज्दै र रमाउँदै हुरीको गुफाबाट निवृत्त भएर स्टेट पार्कमा झुल्कियौँ । पार्कसँगै जोडिएको बफ्यालो र रेन्बो नामधारी सडकहरू फुटपाथे बजारसँगै चलायमान थिए ।
एउटा स्टलमा आइसक्रिम देखेर निभेदको मुख रसाएछ, स्टलभन्दा अगाडि बढाएन उसले आफ्नो पाइला । हामी पनि लोभियौँ र सियाँल ताप्न थाल्यौँ ।
सुमित्राले पाँच थान आइसक्रिमको जोहो गरी हालिन् आ–आफ्ना रुचिका । आइसक्रिमका नाम, थर, गोत्र त के के हुन् हामी बबुरोलाई के पत्तो !
चुस्दै लम्कियौँ लन्चको खोजीमा । भोक पनि लागेकै हो । फुटपाथे पसलहरूमध्ये घुम्ती ‘नेपाली खाजा घर’ हाम्रो रोजाइ बन्यो । नायग्रा फल्स सिटीमा हिजो नेपाली रेष्टुराँ भोगेका थियौँभने आज फुटपाथे नेपाली खाजा घर !
लन्चपछि सौजन र सुमित्रा निभेदलाई लिएर क्यानडातर्फ लागे पैदलै सीमान्तकृत पुल तरेर । नायग्रा नदी अमेरिका र क्यानडाको साँध सीमाना रहेछ । पानी नै आधाआधा ! पुल नै आधा आधा !
जब नवआगन्तुकहरूको आगमन हुनथाल्यो अमेरिकी आदिवासीहरू पनि उत्सुक देखिए । सुरुमा उनीहरूले युरोपेली आगन्तुकहरूलाई स्वागत गरेका थिए पाहुनाको रूपमा । अझ व्यापारिक साझेदारीको रूपमा पनि स्वीकारेका थिए ।
उनीहरूलाई भिसाको आवश्यकता हुँदोरहेन छ लम्के उनीहरु । हामी दम्पतीले अतिरिक्त भिसा नभइ क्यानडा पस्न कहाँ पाउँदा रहेछौँ र ? हामीसँग आवश्यक गोलीगठ्ठै थिएन ।
छुन नपाए पनि सीमान्तकृत बजारमा केही बेर अल्मलियौँ र कोठामा गएर आरामका साथ पल्टियौँ । मनले आराम गर्न के दिन्थ्यो मलाई । अमेरिकी आदिवासीहरूको घर गोठ चाहार्न कुत्कुत्याइ हाल्यो नि !
नेटिभ अमेरिकन, अ हिस्ट्री इन पिक्चर कृतिका लेखक आर्लेन हिच्जेल्डर आफ्नै सामु उभिएर भनिरहेझैँ लाग्यो, ‘बुझ्यौ तेज ! अमेरिकी आदिवासीहरूको कथाव्यथा साह्रै मार्मिक छ । हालको अमेरिका आप्रवासीहरूले कब्जा गरेर बनाएको देश हो । सर्वप्रथम युरोपबाट भित्रिएका गोराहरूले यहाँका रैथाने रेड इन्डियन अर्थात् अमेरिकी इन्डियनहरूलाई कजाएर वा धपाएर साम्राज्य खडा गरेका थिए । त्यस बेलाको आदिवासीहरूको सङ्घर्ष टीठलाग्दै छ नि !’
‘हो र ?’ म अवाक भएर सुन्नथालेँ ।
‘हो नि ! लौ सुन ।’ उनी धाराप्रवाह बोल्न थाले, ‘वर्षौँ पहिले उत्तरी अमेरिकामा अमेरिकी मूलबासिन्दाका विभिन्न चार सयभन्दा बढी भाषा बोल्ने जनजातिका ७० लाख देखि एक करोड बासिन्दा बस्दथे । विभिन्न स्वतन्त्र संस्कृतिहरू अपनाउने उनीहरूको नेतृत्व योग्यताअनुसार छानिन्थ्यो र भूमिको स्वामित्व सामूहिकतामा रहन्थ्यो । अमनचैन थियो । झै–झगडा कमै पर्थ्यो ।
जब नवआगन्तुकहरूको आगमन हुनथाल्यो अमेरिकी आदिवासीहरू पनि उत्सुक देखिए । सुरुमा उनीहरूले युरोपेली आगन्तुकहरूलाई स्वागत गरेका थिए पाहुनाको रूपमा । अझ व्यापारिक साझेदारीको रूपमा पनि स्वीकारेका थिए ।
संख्या ज्यादै कम भएकाले युरोपेलीहरू पनि आदिवासीहरूको सहयोग चाहन्थे । फलतः उनीहरूले मूलनिवासीको सार्वभौमिकतालाई मान्यता दिए झैँ गरी विभिन्न सन्धीहरू गराए । अनि भूमिअधिग्रहण गरी उनीहरूलाई भूमिहीन पार्दै अन्ततः दासतुल्य व्यवहार गर्दैलगे ।
स्पेनीहरूले आदिवासीलाई बहुमूल्य धातुहरूको खानीमा काम लदाउन थाले भने फ्रान्सेली र अङ्ग्रेज व्यापारी र ट्रापरले भारी बोकाउन थाले । सन् १६०० को दशकमा अङ्ग्रेजहरूले जमिन हडप्दै अनेकन दुर्व्यवहार गर्नथाले ।
तर, आधुनिक हातहतियारले सुसज्जित युरोपेलीहरूसँग उनीहरूको कुनै जोर चलेन । तैपनि बिद्रोह गर्न छोडेनन् । रैथाने र युरोपेलीहरूको बिचमा रक्तरञ्जित युद्ध सुरु भयोभने उपनिवेशवादीहरूले भित्र्याएका नयाँ रोगहरूसँग पनि आदिवासीहरूले सामना गर्नुपर्यो । सत्रौँ शताब्दीको अन्त्यसम्म त एट्लान्टिक समुद्री किनारामा रहेका आदिवासीहरूको अस्तित्व नष्ट भएर युरोपेली औपनिवेशिकहरूको नियन्त्रणमा पुग्यो ।’
‘अनि के भयो ?’ म मा कौतुहल थपियो ।
‘त्यसपछि भूमिशोषण गर्न र उपनिवेश खडा गर्न युरोपेलीहरूलाई खुल्ला भयो । उनीहरूले आदिवासीहरूको भूमिमा विभिन्न सीमा स्थापना गरे, जसबाट आदिवासीहरू झन् पिल्सिँदै गए ।
आदिवासीहरूको भूमि प्राप्त गर्न र नियन्त्रण गर्न विभिन्न सम्झौता गराइयो र आदिवासीहरू सीमित स्थानमा रहनुपर्ने व्यवस्था गर्दा विद्रोहको स्वर गुन्जिरहयो । पछि अमेरिकी सरकारले नै सन् १८७१ मा सन्धी गर्ने प्रणाली नै बन्द गरी पूर्वसन्धि पनि पालना गर्न आवश्यक ठानेन । झन् पिल्सिँदै गए आदिवासीहरू ।
फलतः आदिवासी नेता टेकुमसेहले सबै जनजातिका आदिवासीहरूलाई एकवद्ध हुन र कुनै पनि भूमि हस्तान्तरण गर्न अस्वीकार गर्न आग्रह गरेपछि तनाब झन् बढ्यो । अनि अमेरिकी इन्डियनहरूलाई आफ्नो मातृभूमिबाट हटाउन नयाँ राष्ट्रिय नीति नै लागू गरियो । उनीहरूले संरक्षित क्षेत्रमा रही गोरा सभ्यतामा समायोजन हुने समय तोकियो । उत्तरपूर्व र दक्षिणपूर्वमा जनजातिले आफ्नो जग्गा बेच्नैपर्ने गराइयो ।
सन् १८२५ सम्म केही जनजाति स्वेच्छाले पश्चिम भारतीय क्षेत्र (हाल ओक्लाहोमा राज्य) मा सरे । तर ग्रेट लेक क्षेत्र र दक्षिणपूर्वका अन्य जनजाति सर्न मानेनन् । राष्ट्रपति एन्ड्रयु ज्याक्सनले सन् १८३० मा अमेरिकी भारतीय हटाउने ऐन नै पारित गराए । जसबाट मूलनिवासीहरूले आफ्नो पुर्ख्यौली भूमि गुमाउनु पर्यो ।
सन् १८४० सम्म करिव १ लाख मूलनिवासीहरूलाई जबर्जस्ती हटाएर आरक्षित क्षेत्रमा सारियो । त्यहाँ मिसनरी र सरकारद्वारा उनीहरूलाई इसाई धर्म सिकाउने लक्ष्यका साथ सुन खानीको उत्खनन, सडक निर्माण, रेलमार्ग निर्माण आदिमा जोताउन थाले ।
आरक्षणमा बलजफ्ती पठाउन खोज्दा दुई दशकभन्दा बढी अनसाइड गृहयुद्धमा होमिनु पर्यो । जनजातिहरू दक्षिणी र उत्तरी मैदानहरूमा, टेक्सस र दक्षिणपश्चिम, बेसिन पठाइए । तर आफ्नो पुर्ख्यौली थलो फिर्ता ल्याउन र जनजीवनको मार्ग प्रशस्त गर्न लडिरहे ।
तैपनि सय भन्दा बढी जनजातिहरू युद्ध र रोगले मर्न थालेपछी सन्धिमा हस्ताक्षर गर्न र आरक्षणमा जान बाध्य भए । आदिबासीहरूका संस्कृति नष्ट गर्न सरकारले अमेरिकी संस्कृति आत्मसात गर्नेपर्ने कार्यक्रम ल्यायो । तर अमेरिकी राष्ट्रिय संस्कृति अझै पूर्ण भएको छैन बरु आदिवासीका संस्कृतिहरूले नै राष्ट्रिय पर्वहरूमा शोभा बढाइरहेको पाइन्छ ।’
‘ए हो र !’ म छक्कै परेँ । लेखक आर्लेन हिच्जेल्डर फिस्स हाँसे ।
क्यानाडेली भूमिबाट आधाघण्टा जति आतासबाजीको वर्षा गराइँदोरहेछ । अमेरिकी भूमि पनि झल्झलाकार भएको पायौँ ।
‘यो सारांश मात्र हो है !’ भन्न खोज्दै थिएँ, कसैले ढोका ढक्ढकायोे । किताबलाई बन्द गरेँ, लेखक हिच्जेल्डर अलप भए तत्क्षण !
आँखा मिच्दै उठेँ सौजनहरू आइपुगेका रहेछन् क्यानडाको भूमि टेकेर । आराम गर्यौँ हामीले बेलुका नौ बजेसम्मै । अब कतै जानु थिएन हिजो साँझ अनुभूत गर्न नपाएको आतसबाजी हेर्नबाहेक ।
बेलुकी नौबजे साँझमा निस्क्यौँ कोठाबाट हामी आतिशबाजीको रङ्गीन संसारमा लुट्पुटिन । डिनरका लागि एउटा रेष्टुँराबाट पिज्जाका पाकेट बोकर लम्कियौँ नायग्रा फल्स स्टेट पार्कतर्फ जहाँ राति १० बजेदेखि आतिसबाजी अर्थात् भुइँचम्पाको खेल हुन्छ ।
नायग्रा नदीको क्यानडातर्फको तटबाट विभिन्न रूपरङका आतसबाजी उडाउन थालिए । होलीमा रङ्गिए झै रङ्गीन बन्यो वातावरण ! झरनाका रूपरङमा नौरङ्गी डाँफे फुरफुर नाचेको देख्न थाले म !
आहा ! रङ्गीन विशाल झरनाका साथै धुर्मैलो आकाशमा झिलिमिली फुलहरू फुलेको देख्दा अलौकिक आनन्द छायो । हुर्रे, सबै कराए स्वागतमा ! क्यानाडेली भूमिबाट आधाघण्टा जति आतासबाजीको वर्षा गराइँदोरहेछ । अमेरिकी भूमि पनि झल्झलाकार भएको पायौँ । नायग्रा फल्सको अनुपम दृश्य मनमस्तिष्क, क्यामेरा र मोबाइलफोनमा कैद गर्न सबै लालायित देखिए ।
मैले पनि एक दुई क्लिक हानीहालेँ ।
निभेद र सुमित्रा आफैँमा मगनमस्त थिए । अझ तात्तातो पिज्जा टोक्दै रङ्गीन झरना र भुइँचम्पा हेर्दाको अनुभूति बेग्लै थियो ।
अनुभूति न हो, रमाइलो लाग्न पनि सक्थ्यो, नरमाइलो पनि । अवस्था र परिस्थितिले अनुभूति निर्धारण गर्दोरहेछ । सौजन र प्रतिभा भुइँचम्पामै अल्झिएका थिए पिज्जा टोक्दै । उनीहरूले कस्तो अनुभूति गरे ? थाहा भएन । तर सबै रमाइरहेकै थिए । म पनि रमाएँ, जीवनमा अब नायग्रा फल्सको यस्तो संयोग कहिले भेटिन्छ र !
राति निद्रा पनि मस्तले लाग्यो ।
भोलिपल्ट बिहान साँडे चार बजे बफ्यालो विमानस्थलतर्फ लाग्यौँ फिर्तिका लागि । भाडाको कार पार्किङमा राखेर रिटर्न कार लेखिएको स्ट्यान्डमा कारको साँचो घुसारेर ढुक्क भयो सौजन । कति सजिलो प्रबन्ध ।
समयमै उड्यौँ तर डालसमा मौसम खराब भएकोले एक डेढ घण्टा नै आकाशमा चक्कर लगायो । तैपनि टेनसी राज्यको मेम्फिस् विमानस्थलमा अवतरण हुनैपर्यो सुरक्षाका लागि । ल्हासा जानु कुतीको बाटो भने झैँ करिब आधा घण्टा विश्राम गरी विमान फेरि उड्यो । हामी भने एउटा अर्को राज्यको भूमिमा टेक्न पाउँदा रमायौँ ।
डालसको मौसम कस्तो होला ? अवतरण हुने हो होइन ? हामी कुशलताका साथ पुग्छौँ कि पुग्दैनौँ ? जस्ता तर्कनाहरू उडिरहे मनभरि । नायग्रा फल्सले दिएको उमङ्ग र रोमाञ्चित क्षणहरू धुमिल हुनखोज्दै थिए । तर, सकुशल अवतरित भयौँ हामी !
लौ न नि ! डालसमा त वर्षासँगै हुरीबतास पनि जोडले चलेको रहेछ । कैयौँ रुख त सोत्राम्मै !
–डेनटन, टेक्सास
प्रतिक्रिया दिनुहोस