आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

एग्रो टुरिजम बढाउन सफल स्ट्रबेरीखेती


  • आफ्नै खबर
  • २०८२ फागुन १५, शुक्रबार मा प्रकाशित १५ घण्टा अघि
  • ६५ पाठक संख्या
  • चितवन/  भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको फर्ममा फलेको स्ट्रबेरीले यतिबेला पर्यटकको ध्यान तानेको छ ।

    विगत पाँच वर्षदेखि व्यवसायिक रूपमा सञ्चालन हुँदै आएको यस फर्मले स्ट्रबेरीखेतीसँगै एग्रो–टुरिजम प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ ।

    फर्मका सञ्चालकमध्येका प्रमुख ससन देवकोटा नौ वर्षअघि अमेरिका बसाइबाट नेपाल फर्किनुभएको हो । अमेरिकामा उच्च शिक्षा हासिल गरी उहाँले एग्रो–टुरिजम मोडलमा आधारित कृषि व्यवसाय सुरु गर्नुभएको हो ।

    उहाँले भन्नुभयो, ‘हामीले एग्रो–टुरिजम मोडलमा स्ट्रबेरी फर्म सञ्चालन गरेका छौँ । यहाँ आउने आगन्तुकले आफैँ स्ट्रबेरी टिपेर लैजान सक्छन् ।’

    स्ट्रबेरीखेती एक बिघा क्षेत्रफलमा फैलिएको छ भने समग्र फर्म पाँच बिघामा विस्तार गरिएको छ । फर्ममा चार जना स्थायी कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा आठदेखि १० जनासम्म कामदार खटिने गरेका छन् । यस वर्षदेखि आधुनिक तरिकाबाट स्ट्रबेरीसँगै टमाटर, भेडो खुर्सानी र खुर्सानी खेतीसमेत सुरु गरिएको छ ।

    देवकोटाका अनुसार यहाँ स्ट्रबेरी उत्पादनको मुख्य समय करिब ५० दिनसम्म रहन्छ । सुरुआती वर्षमा अनुसन्धान गर्दै उपयुक्त जात छनोट गरिएको उहाँ बताउनुहुन्छ । विशेषगरी अमेरिकन भेराइटीका स्ट्रबेरी तराई क्षेत्रमा राम्रो हुने भएकाले सोही जात लगाइएको छ ।

    उक्त बिरुवा मूलतः अमेरिकामा विकास गरिएको र हाल इजिप्टस्थित नर्सरीबाट आयात हुने गरेको उहाँको भनाइ छ । आगामी वर्षदेखि बिरुवा स्वदेशमै उत्पादन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘स्ट्रबेरीले अहिले एग्रो–टुरिजमलाई राम्रोसँग प्रवर्द्धन गरेको छ ।’ एग्रो–टुरिजममार्फत कृषिसँग प्रत्यक्ष जोडिने अवसर मिल्ने भएकाले बालबालिका तथा विद्यार्थीका लागि यो उपयोगी माध्यम बनेको उहाँको अनुभव छ ।

    विभिन्न कृषि कलेजका विद्यार्थीले फर्ममा अध्ययन तथा अनुसन्धानसमेत गर्दै आएका छन् । व्यवहारिक शिक्षामा यसले टेवा पुर्याएको देवकोटाको भनाइ छ ।

    देवकोटाका अनुसार पहाडी भेगमा पाइने भुइँ ऐँसेलु जातका स्ट्रबेरी समुद्री सतहबाट करिब १७ सयदेखि १९ सय मिटर उचाइमा राम्रो फल्ने गर्छन् ।

    ‘एग्रो–टुरिजमको सम्भावना नेपालमा धेरै छ’, देवकोटाले भन्नुभयो, ‘अहिले मानिस कृषिसँग जोडिने रहर राख्छन् । केहीले भने पैसा कमाएर खेती छोड्ने अवस्था पनि देखिन्छ । उनिहरुले ‘जति कमाए पनि अन्ततः खानैपर्छ’ भन्ने कुरा बिर्सेर खेती छोडेका छन् । हाम्रो टिमको उद्देश्य भने कृषि पढेर कृषिमै रमाउन सकिन्छ भन्ने सोचको विकास गर्नु हो ।’

    उहाँले आगामी दिनमा अन्य स्थानमा पनि एग्रो–टुरिजम विस्तार गर्ने योजना रहेको बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु