
स्याङ्जा/ भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरु गरेको छ ।
हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।
यहाँको हावापानी, माटो तर्बुजा खेतीका लागि उपयुक्त हुने देखिएकाले व्यवसायिकरुपमा अगाडि बढाउन पहिलो चरणमा बीउ, बेर्ना, उपकरण तथा प्राविधिक सहयोग गरिएको उहाँले बताउनुभयो ।
‘सम्भवतः जिल्लामै पहिलो पटक तर्बुजाखेती सुरु गरिएको छ’ उहाँले भन्नुभयो, ‘पहिलो चरणमा यहाँका किसानले परीक्षणका रुपमा लगाएका छन् । यो राम्रो हुनासाथ ठूलो परिमाणमा व्यावसायिक उत्पादनमा जोड दिन्छौँ ।’
यहाँ उत्पादित तर्बुजा किसान आफैँले बिक्री गर्नसक्ने र यदि नसकेमा नगरपालिकाले जिम्मा लिने उहाँले बताउनुभयो । भीरकोट नगरपालिका–१ को आँधीखोला नदी किनारको भीरकोट खेलमैदान परिसर, वडा नं. ४, वडा नं. ५ को पकान, वडा नं. ६ को एकुवार फाँटको २० रोपनी क्षेत्रफलमा पहिलो पटक तर्बुजाखेती सुरु गरिएको हो । यसपटक १८ किसानले तर्बुजा रोपेका छन् ।
यहाँ रोपिएको तर्बुजा आगामी जेठ मसान्तसम्ममा उत्पादन लिन सकिने परियोजनाका कृषि प्राविधिक अनिश अर्यालले जानकारी दिनुभयो । जिल्लामै पहिलो, नयाँ र नमूनाखेती भएकाले यहाँका किसान खेती प्रविधि बुझेर व्यवसायिक उत्पादनमा लाग्न सक्ने उहाँले बताउनुभयो ।
लक्ष्मी र सरस्वती दुई जातका तर्बुजा नमुना परियोजनाका रुपमा रोपिएका छन् । नगरपालिकाले तर्बुजाका साथै भेडे खुर्सानी, अकबरे खुर्सानीसहित बेमौसमी तरकारी उत्पादनमा जोड दिएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस