तेह्रथुम/ देशको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खासगरी युवा पुस्ताले कृषि क्षेत्रलाई अँगाल्न छाड्दै गएका छन् ।
वैदेशिक रोजगारी र बसाइँसराइले गाउँका कैयौँ खेतीयोग्य जमिन बाझिँदै गएका छन् । यद्यपि, तेह्रथुमको म्याङलुङ नगरपालिका-६ मेक्चानाका तिलबहादुर श्रेष्ठ र कुष्णकुमार श्रेष्ठको कृषिकर्म भने जिल्लामै उदाहरणीय छ ।
५३ वर्षीय कृष्णकुमार र ५६ वर्षीय तिलबहादुर श्रेष्ठले कृषि पेसा अँगालेर गाउँमै लोभलाग्दो आम्दानी गरिरहेका छन् । श्रेष्ठ कृषि फार्म खोलेर व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका तिलबहादुर श्रेष्ठले वार्षिक लाखौँ आम्दानी गर्ने बताउनुभयो । लगानी र आफ्नो निमेक काटेर वार्षिक ११ लाख रुपैयाँ बच्ने गरेको उहाँले सुनाउनुभयो ।
‘गर्नेलाई जहीँतहीँ, नगर्नेलाई कहीँ न कहीँ’ भनेझैँ गाउँकै जमिनमा व्यावसायिक रूपले तरकारीखेती गरेर श्रेष्ठले मनग्य आर्थिक उपार्जन गरिरहनुभएको हो । उहाँले आफ्नै ३० रोपनी र भाडामा लिएको गरी ४२ रोपनीमा तरकारीखेती गर्दै आउनुभएको छ ।
उहाँले बारीमा मौसम र बेमौसमका सागसब्जी लगाउने गरेको बताउनुभयो । यसमा काँक्रा, घिरौला, बैगुन, स्क्वास फर्सी, करेला, सिमी, क्याप्सिकम, आलु, अकबरे खुर्सानीलगायतका तरकारी बाली छन् ।
करिब डेढ दशकअघि तिलबहादुरले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा तरकारीखेती गर्दै आउनुभएको हो । उहाँको कृषि फार्म विशेषतः अकबरे खुर्सानीका लागि प्रख्यात छ । बट्टामा अकबरे खुर्सानीको अचारसमेत बिक्री गर्ने उहाँले यस वर्ष ११ रोपनीमा अकबरे खुर्सानीमात्र लगाउनुभयो भने आगामी वर्ष त्यसलाई बढाएर ३० रोपनी पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
आलु रोप्न खेतालासँगै बारीमा माटो तयार गरिरहेका तिलबहादुरले भन्नुभयो, ‘यो वर्ष अकबरे ३० क्विन्टल बेचिसकेँ, अब मङ्सिरको पहिलो सातासम्ममा १० क्विन्टल जति निस्किन्छ ।’
तिलबहादुरसँगै छिमेकी कृष्णकुमार श्रेष्ठले पनि कृषि कर्मबाट पर्याप्त आम्दानी गर्दै आउनुभएको छ । परम्परागत खाद्यान्न बालीसँगै व्यावसायिक पशुपालन र कृषि पेसामा रमाइरहनुभएका कृष्णकुमारले गत वर्ष २५ लाख रुपैयाँ आम्दानी भएको बताउनुभयो ।
२०६९ सालमा रङ्गेली कृषि फार्म दर्ता गरी ३२ रोपनी क्षेत्रफलमा तरकारीखेतीमात्र लगाउनुभएका उहाँले पनि अकबरे खुर्सानीलाई विशेष प्राथमिकता दिनुभएको छ ।
यो याममा हालसम्ममा एक हजार दुई सय किलो अकबरे खुर्सानी बेचिसक्नुभएका उहाँले पछिल्लो याममा रोपेको अकबरेले अहिले फल दिइरहेको बताउनुभयो । वैशाखमा रोपिएका लोकल र इलामे लोकल जातको अकबरे खुर्सानी बेचिसकिएको र साउनमा रोपिएका बिरुवाले अब मङ्सिरसम्म उत्पादन दिने श्रेष्ठले बताउनुभयो ।
नातामा दाजुभाइ पर्ने श्रेष्ठद्वयले उत्पादित कृषि उपज करिब चार किलोमिटरको दूरीमा रहेको तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको शुक्रबारे र मङ्गलबारे हटिया अनि एक किलोमिटरको दूरीमा रहेको जिरी बजारको सोमबारे हटियामा बेच्दै आएका छन् ।
कतिपय व्यापारी र ग्राहक घरैमा समेत पुग्ने गरेका छन् । अकबरे खुर्सानी धरान, इटहरीलगायत तराईका बजारसम्म पनि खपत हुने गरेको कृष्णकुमारले बताउनुभयो ।
श्रेष्ठद्वयले मल्चिङ प्लाष्टिकको प्रयोग गरेर तरकारीखेती गर्दै आएका छन् । मल्चिङ प्लाष्टिकको प्रयोगले लागत घटाउने उनीहरूको अनुभव छ । बेमौसमी तरकारीका लागि भने टनेलको प्रयोग गर्नुपर्ने उनीहरूले बताए ।
पशुपालन तथा तरकारीखेतीलाई एकैसाथ बढाउँदा मलखादको व्यवस्थापन गर्न सहज भएको उनीहरूले सुनाए । यो क्षेत्रकै अगुवा किसानका रूपमा श्रेष्ठद्वयलाई कृषि ज्ञान केन्द्र, नगरपालिका, घरेलु तथा सानो उद्योग कार्यालयले समेत अनुदान, उपकरण र तालिमलगायतका सहयोग प्रदान गर्दैआएको छ ।
तिलबहादुरको श्रेष्ठ कृषि फार्म र कृष्णकुमारको रङ्गेली कृषि फार्मलाई कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा तरकारी बालीमा नमूना फार्म स्थापनाका लागि तीन/तीन लाख रुपैयाँ अनुदान प्रदान गरेको केन्द्रका निमित्त प्रमुख विशाल राईले बताउनुभयो ।
उहाँका अनुसार कृषि ज्ञान केन्द्रको धनकुटा तेह्रथुम कार्यक्षेत्र रहेका बेलामा समेत धनकुटाबाट पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उहाँहरूको तरकारी बालीको ब्लक विकास सञ्चालन गरिएको थियो ।
कृष्णकुमार र तिलबहादुरको लामो समयदेखि जिल्लामा ताजा तरकारी उत्पादनमा योगदान रहेकाले उनिहरूले तत्कालीन कृषि विकास कार्यालयमार्फत पनि विभिन्न अनुदान प्रदान गरिएको देखिएको प्रमुख राईले बताउनुभयो ।
परम्परागत कृषिखेती गरिरहेका श्रेष्ठद्वयले २०५८ सालमा खोलाखेत बाढीले बगाएपछि तत्कालीन गाउँ विकास समितिबाट राहतमा पाएको काँक्रो, भिन्डी, लौका, स्क्वास फर्सीको थोरै बीउबिजनबाट तरकारीखेतीमा हात हालेका थिए ।
एउटा गरा बारीबाट सुरु भएको उनिहरूको तरकारीखेती थुप्रै रोपनीमा विस्तार भई लाखौँ आम्दानी दिन सफल हुँदा तिलबहादुर र कृष्णकुमार खुसी छन् । पौरख गर्न सके गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ गर्न सकिने उदाहरण बनेका उनिहरू बेरोजगार युवालाई इलम गरेर स्वरोजगार बन्न आग्रह गर्छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस