आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

कोभिडदेखि बन्द रहेको ‘वाटर पार्क’ सञ्चालनमा आयो


  • आफ्नै खबर
  • २०८२ चैत्र १२, बिहिबार १३ घण्टा अघि
  • ६२ पाठक संख्या
  • झापा/  कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका–११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालन भएको छ ।

    स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाको ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा सात वर्षअघि पार्क स्थापना गरिएको थियो । पार्कमा मनोरञ्जनका लागि जिपलाइन, ‘वेभ’ पुल, पौडी खेल्न ‘स्विमिङ’ पुल, बच्चाका लागि किड्स पुल, ‘वाटर एक्टिभिटी स्टेसन’, कृत्रिम गुफा, आकर्षक मूर्तिकलालगायत संरचनाहरू छन् ।

    ‘अहिले ती सबै संरचना पुनः सञ्चालनमा ल्याएका छौँ’, पार्कका सञ्चालक सङ्ग्रौलाले भन्नुभयो, ‘पर्यटकीय विकासको सम्भावना देखेर लगानी गरेका थियौँ । कोरोना महामारीपछिको अवस्थाले बन्द गर्नुपरेको थियो । फेरि नयाँ व्यवस्थापन, सोच र आँटसहित पार्कलाई सञ्चालनमा ल्याएका छौँ । यसले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ ।’

    सङ्ग्रौलाका अनुसार तीन बिघा क्षेत्रफलमा फैलिएको यस पार्कमा पर्यटकीय आवास र रेस्टुरेन्टका लागि सात वटा भूकम्प प्रतिरोधात्मक भवन, दुई वटा सुविधा सम्पन्न रेस्टुरेन्ट, ३५ वटा आधुनिक आवासीय कोठा र एक सय ५० देखि चार सय जनासम्म अट्ने चार वटा सभाहल छन् ।

    उहाँले भन्नुभयो, ‘कोरोना महामारीपछि मुलुकका कतिपय व्यवसाय बन्द भए भने कतिपय पलायन भएका छन् । हामि भने हार नमानी पुनरुत्थानमा लागेका छौँ ।’

    पार्कमा परिवारसहित आउनुभएका इलामका सुमन धितालले यहाँको भौतिक संरचना र सेवा पर्यटकमैत्री रहेको जनाउँदै बालबालिकाको मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको धारणा राख्नुभयो । यहाँका जिपलाइन र बुद्धको प्रतिमाले मन लोभ्याएको उहाँले बताउनुभयो ।

    स्थानीय पत्रकार विनोद सापकोटाले निजी लगानीमा कोसी प्रदेशकै ठूलो परियोजना पुनः सञ्चालनमा आउनुले पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । पार्कको स्थापनाबाट स्थानीय क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो योगदान पुग्ने बताउँदै उहाँले यसबाट रोजगारी सिर्जना हुने उल्लेख गर्नुभयो ।

    सञ्चालक सङ्ग्रौलाले आगामी वैशाखसम्ममा तीन करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको बताउनुभयो । पार्कमा झापा, मोरङ, इलाम जिल्लाका स्थानीय पर्यटकका साथै भारतका विभिन्न स्थानबाट बाह्य पर्यटकसमेत आउने गरेका उहाँले जानकारी दिनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु