आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

खलङ्गा बजारमा फायर हाइड्रेन्ट, विपद्बाट जोगाउने महत्वपुर्ण फड्को


  • आफ्नै खबर
  • २०८२ मंसिर २२, सोमबार ३ महिना अघि
  • ३५ पाठक संख्या
  • जुम्ला/  चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल छिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए ।

    आगलागी नियन्त्रण बाहिर जाँदैथियो । एकआपसमा जोडिएका अन्य घरहरूमासमेत आगलागीको सम्भावित जोखिम उच्च बन्दै थियो । 

    पसलको सामुन्नेकै चोकमा ‘फायर हाइड्रेन्ट’ को ‘ड्राइराइजर’ भर्खरै जडान गरिएको थियो । तत्काल स्थानीयवासी, चन्दननाथ नगरपालिकाका अग्निनियन्त्रक, सुरक्षाकर्मी, स्वयंसेवकका सहयोगमा तत्काल चोकमा राखिएकोे ‘फायर हाइड्रेन्ट’ मार्फत् आगलागी नियन्त्रणमा लिइयो ।

    सम्भावित ठूलो क्षति हुनबाट बजार क्षेत्रलाई जोगाइयो । चन्दननाथ-५ का स्थानीयवासी अकवरनाथ क्षेत्रीले त्यसदिनको घटना सम्झँदै भन्नुभयो, ‘चोकमा ‘फायर हाइड्रेन्ट’ नभएको भए बजार क्षेत्र जलेर ध्वस्त नै हुने सम्भावित जोखिम थियो । यसको उपयोगले आगो नियन्त्रणमा आयो र बजार क्षेत्र जोगियो ।’ 

    दमकल जान नसक्ने साँघुरा स्थान, चोक्गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनलाई नै ‘फायर हाइड्रेन्ट’ भनिन्छ । ‘फायर हाइड्रेन्ट’ पाइप लाइनका ठाउँठाउँका राखिएका ड्राइराइजर (नियमित पानीको प्रेसर नभएको, दमकलको पानी राखेर प्रयोग गर्नुपर्ने ठाउँ) मा पाइप जोडेर यसको उपयोग गरिन्छ । 

    स्वीस रेड्क्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा चन्दननाथ नगरपालिकामा सञ्चालित ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवर्द्धन परियोजनाले चन्दननाथ नगरपालिकामा ‘फायर हाइड्रेन्ट’ पाइपलाइन जडान गर्न सहयोग पुर्याएको छ ।

    विशेष गरेर आगलागीको उच्च जोखिममा रहेका नगरका वडा नं. २, ३ र ५ मा ‘फायर हाइड्रेन्ट’ पाइपलाइन राखिएका छन् । यस्ता ‘फायर हाइड्रेन्ट’ लाई कसरी उपयोग गर्ने भन्ने कुरा स्वयम्‌सेवकमार्फत समुदायलाई जानकारीसमेत गराइएको छ ।

    नेपाल रेडक्रसका स्वयंसेवक लालबहादुर भण्डारीले आपतकालीन विपद् प्रतिकार्यकाबारेमा समुदायलाई जानकारी दिएको जानकारी दिनुभयो ।  

    चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले भन्नुभयो, ‘हालै चन्दनाथ-५ स्थित जुम्ला बजारको एक मोबाइल पसलमा लागेको आगलागीलाई निभाउन ‘फायर हाइड्रेन्ट’ ले  सहयोग गर्यो । यो नभएको भए अकल्पनीय क्षति बेहोर्नु पर्दथ्यो ।’

    उहाँका अनुसार चन्दननाथ नगरपालिका क्षेत्रसहित खलङ्गा बजार क्षेत्र विपद्जोखिम अन्तर्गत आगलागीको उच्च जोखिममा रहेको छ ।

    बर्सेनि आगलागीबाट मानवीय एवं धनजनको क्षति हुने गरेको छ । ‘सहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन परियोजनाले चन्दननाथ नगरपालिकासँगको सहकार्यमा आगलागीको उच्च जोखिम क्षेत्रका ती वडामा ‘फायर हाइड्रेन्ट’ जडान गरेको हो ।

    साथै दुईवटा अग्नि नियन्त्रक मोटसाइकल पनि तयारी अवस्थामा राखेको छ । आगलागीको जानकारी पाउनासाथ नगर प्रहरीले उक्त मोटसाइकललाई घटनास्थलमा पुगेर उपयोगमा ल्याउँछन् । 

    परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले भन्नुभयो, ‘विपद् जोखिम न्यूनीकरण गर्न सहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धनमा जोड दिइराखेका छौँ । यही ध्येय पूरा गर्न हाम्रा गतिविधि केन्द्रित छन् ।’

    ‘फायर हाइड्रेन्ट’ सुरुआती चरण
    नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा असन, इन्द्रचोक वरपरका स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि ‘फायर हाइड्रेन्ट’को पहिलो प्रयोग गरेको थियो ।

    काठमाडौँ महानगरपालिका-२५ का तत्कालीन वडाध्यक्ष नीलकाजी शाक्य र ब्रिटिश रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित ‘उत्थानशील नगर प्रवर्द्धन तथा सहभागिता कार्यक्रमका तत्कालीन जिल्ला कार्यक्रम संयोजक शारदा खतिवडाको संयुक्त पहलमा सो वडाको मांसगल्ली-केलटोलदेखि महाबौद्ध जाने गल्लीमा आगलागी नियन्त्रणका लागि ‘फायर हाइड्रेन्ट’ को अवधारणालाई कार्यान्वयनमा उतारिएको थियो । 

    साँघुरा गल्लीका कारण ती स्थानमा आगलागी हुँदा अहिले पनि दमकल छिर्नसक्ने अवस्था छैन । सहज रुपमा दमकल छिर्न नसक्ने यस्ता स्थानमा आगलागी नियन्त्रण गर्ने एकमात्र उपाय ‘फायर हाइड्रेन्ट’ का पाइप लाइन नै हुन् । ‘उत्थानशील नगर प्रवर्द्धन तथा सहभागिता कार्यक्रम’ ले  मांसगल्ली-केलटोलदेखि महाबौद्ध जाने गल्लीमा जडान भएको ‘फायर हाइड्रेन्ट’ लाई २०७६ पुस २६ गते दिउँसो परीक्षण गरेको थियो ।  

    तत्कालीन ‘उत्थानशील नगर प्रवर्द्धन तथा सहभागिता कार्यक्रम’ का जिल्ला कार्यक्रम संयोजक शारदा खतिवडाले भन्नुभयो, ‘दमकल छिर्न नसक्ने स्थानमा सम्भावित आगलागी नियन्त्रणको उपाय भन्नु नै  ‘फायर हाइड्रेन्ट’ हो । यही उपायलाई कार्यान्वयनमा ल्याइएको हो ।

    तत्कालीन समयमा हामीले मांसगल्ली-केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्मको ‘फायर हाइड्रेन्ट’ को उपयोगिताका लागि वास्तविक घटनामा आधारित अभ्यासमार्फत सफल परीक्षण पनि गरेका थियौँ ।’ उक्त परीक्षण सफल भएपछि स्थानीयवासी र व्यापारी खुसी भएका थिए । 

    काठमाडौँ महानगरपालिका-२५ का तत्कालीन वडाध्यक्ष शाक्यले भन्नुभयो, ‘मेरो वास्तविक जीवनसँगको अनुभव र पीडालाई सम्बोधन गर्न साँघुरा गल्लीमा आगलागी नियन्त्रण गर्न ‘फायर हाइड्रेन्ट’ को अवधारणा ल्याएका हौँ ।’

    यसका लागि ‘उत्थानशील नगर प्रवर्द्धन तथा सहभागिता कार्यक्रमले पाँच लाख रुपैयाँ, वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिले दुई लाख रुपैयाँ, सङ्घ संस्था र उपभोक्ताको दुई लाख ४१ हजार रुपैयाँ गरी कूल नौ लाख ४१ हजार रुपैयाँमा ‘फायर हाइड्रेन्ट’ जडानको काम सम्पन्न गरिएको थियो ।

    दमकल छिर्न नसक्ने स्थानमा आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकासहित अन्य नगरपालिकाले हाल ‘फायर हाइड्रेन्ट’ को अवधारणलाई कार्यान्वयनमा ल्याइरहेका छन् । 

    नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले विपद् जोखिम न्यूनिकरण गर्न आफ्ना गतिविधि केन्द्रित रहेको जानकारी दिँदै एक स्थानका सफलताका सिकाइ अन्य स्थानमा पनि कार्यान्वयन गरिराखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौँको सफलताले जुम्लामा ‘फायर हाइड्रेन्ट’ प्रयोग गरिएको हो ।’ 

    घामडाँडामा ‘साइरन’ जडान  
    ‘सहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन परियोजनाले चन्दननाथ नगरपालिकासँगको सहकार्यमा चन्दननाथ-६ स्थित घामडाँडामा अत्याधुनिक ‘साइरन’ समेत जडान गरेको छ । गत भदौ २१ गतेदेखि शुभारम्भ गरिएको उक्त ‘साइरन’ ले विपद्का पूर्वका सम्भावित जोखिमका सूचना तथा समुदायका लागि आमचासोका विषयलाई नगरवासीसमक्ष पुर्याइरहेको छ । 

    चन्दननाथ नगरपालिकाका सूचना प्रविधि अधिकृत विकल्प बुढ्थापाले भन्नुभयो, ‘विपद् पूर्वका सम्भावित जोखिमका जानकारी, नगरपालिकाका अन्य जनचेतनाका सूचना र समुदायका लागि आमचासोका विषयलाई नगरवासीसमक्ष पुर्याउन ‘साइरन’ ले कोशेढुङ्गाको काम गरिरहेको छ । हालै चन्दननाथ-५ स्थित जुम्ला बजारको एक मोबाइल पसलमा एकाएक आगलागी समयमा पनि साइरनमार्फत समुदायलाई जानकारी गराएका थियौँ । यसबाट थप क्षति हुनबाट जोगिएको थियो ।’

    उहाँका अनुसार नगरपालिकाले साइरनसहित विभिन्न माध्यम (मोबाइल म्यासेस, एप पोर्टल) मार्फत् पनि विपद्का पूर्व सूचना एवं अन्य सूचना नगरवासी समक्ष पुर्याइरहेको छ ।

    ‘सहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन परियोजना’ का जिल्ला कार्यक्रम संयोजक सुवेदीले भन्नुभयो, ‘विपद् प्रतिकार्यका लागि समुदायलाई ‘अलर्ट’ राख्न चन्दननाथ नगरपालिकाको समन्वयमा घामडाँडामा ‘साइरन’ जडान गरिएको हो । यसबाट विपद लगायतका अन्य आम चासोको पूर्व सूचना एवं जानकारी नगरवासी समक्ष पुर्याउन सहयोग मिलेको छ ।’

    –रासस  
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु