आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’


  • आफ्नै खबर
  • २०८३ जेष्ठ १६, शनिबार ४ दिन अघि
  • ६९ पाठक संख्या
  • काठमाडौँ/  आज अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ भन्ने नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ ।

    संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा सन् २०२४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् २०२६ मे २९ तारिखमा तेस्रो पटक यो दिवस मनाइँदैछ ।

    यो दिवसले आलु उत्पादन, वितरण तथा उपभोगसँग जोडिएका किसानदेखि मूल्य शृङ्खलासम्मका सबै सरोकार भएकालाई समेट्दै दिगो तथा समावेशी कृषि–खाद्य प्रणाली प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ । आलुको वैज्ञानिक नाम सोलानम ट्युबेरोसम हो । यो विश्वका अर्बौं मानिसको नियमित आहारमा समावेश हुने प्रमुख बालीमध्ये एक हो ।

    एफएओका अनुसार आलु विश्वका एक सय ५९ देशमा खेती गरिन्छ भने यसको करिब ५ हजार प्रजातिहरू विश्वभर पाइन्छन् । करिब ८ हजार वर्षदेखि मानव सभ्यतासँग जोडिएको यो बाली आज पनि उत्तिकै महत्वपूर्ण खाद्य सुरक्षा र जीविकोपार्जनको आधारका रूपमा रहँदै आएको छ ।

    उच्च पहाडी क्षेत्रदेखि समथर भूभागसम्म विविध कृषि प्रणालीमा खेती गरिने आलुले खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यसको उत्पादनले ग्रामीण तथा शहरी दुवै क्षेत्रमा रोजगारी सिर्जना गर्दै गरिबी न्यूनीकरणमा सहयोग पुर्याएको छ ।

    साना किसानदेखि ठूला व्यावसायिक कृषि फार्मसम्म फैलिएको यस बालीले विश्वका विभिन्न महादेशमा आर्थिक गतिविधि चलायमान बनाएको छ ।

    यस दिवसले सन् २००८ मा मनाइएको अन्तर्राष्ट्रिय आलु वर्षको उपलब्धिलाई निरन्तरता दिँदै आलु बालीको महत्वलाई अझ उजागर गर्ने उद्देश्य राखेको छ । विशेषगरी साना पारिवारिक किसान, जसमध्ये उल्लेख्य सङ्ख्या महिला किसानको रहेको छ, उनीहरूले आलुको विविध प्रजाति संरक्षण र प्रवर्द्धनमा खेलेको भूमिकालाई पनि यस अवसरमा सम्मान गरिनेछ ।

    त्यसैगरी, आलुको सांस्कृतिक तथा पाक परम्परासँग जोडिएको विविधतालाई पनि विश्वव्यापी रूपमा मनाइने यो दिवसले उजागर गर्ने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्रसङ्घले बढ्दो भोकमरी, गरिबी र जलवायु परिवर्तनजस्ता चुनौती सामना गर्न दिगो कृषि प्रणालीको विकासमा आलुजस्ता बालीको योगदान महत्वपूर्ण हुने जनाएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु