गण्डकी/ वर्षायामलाई पर्यटनमा बेमौसम (अफसिजन) मानिन्छ । सामान्यतया यो बेला पर्यटकीय गतिविधि न्यून हुने गर्छन् ।
प्रतिकूल हावापानी, विपद्को जोखिम, आवतजावतमा कठिनाइजस्ता कारणले मानिस हत्तपत्त घुमफिरमा निस्कँदैनन् । तर, केही यस्ता गन्तव्य छन्, जहाँको पर्यटन यही याममा बढी चलायमान हुन्छ । मनसुन पदयात्रामा बढ्दो आकर्षणले कास्कीको कोरी, बागलुङको ढोरपाटन, पूर्वीरुकुमको चुङ्ग्रीबुकीलगायत गन्तव्यमा मध्यबर्खामा पनि पर्यटकीय चहलपहल बढेको हो ।
उच्च पहाडी भेगका पाटन र खर्कमा फुल्ने बुकीफूल, लेकाली जनजीवन, वर्षातमा हरियाली देखिने डाँडापाखा, रिमझिम वर्षा र बादलभित्र लुकामारी खेल्ने हिमालको सौन्दर्य नियाल्न पदयात्रीहरू मनसुन पर्खिरहेका हुन्छन् ।
यो याममा गरिने घुमफिरको अनुभव बेग्लै खालको हुने बताउनुहुन्छ, पदयात्री सन्दीप शर्मा । हालै पूर्वीरुकुमको भूमे गाउँपालिका–१ स्थित चुङ्ग्रीबुकी पुगेर फर्कनुभएका उहाँले त्यहाँका पाटनमा फुल्ने रङ्गीचङ्गी भुइँफूलले पर्यटकलाई लोभ्याउने गरेको बताउनुभयो ।
‘फूलैफूलले ढाकिएका पाटन, भेँडीगोठ र नजिकबाट नियाल्न सकिने हिमाली सौन्दर्य यहाँका मुख्य आकर्षण हुन्’, उहाँले भन्नुभयो, ‘छोटो दूरीको पदयात्रापछि पुग्न सकिने भएकाले पनि चुङ्ग्रीबुकीमा पर्यटकको आवतजावत बढेको हो ।’
बागलुङ र पूर्वीरुकुमको सीमास्थल पातीहाल्नेदेखि पाँच किमीको पदयात्रामा चुङ्ग्रीबुकी पुग्न सकिने शर्माले बताउनुभयो । यो बेला चुङ्ग्रीबुकी, बागलुङको ढोरपाटनलगायत क्षेत्रमा देखिएको पर्यटकीय चहलपहलले नेपाल हरेकयाम घुम्नका लागि उपयुक्त गन्तव्य हो भन्ने प्रमाणित गरेको उहाँको भनाइ छ ।
मनसुन पदयात्रामा जाँदा विशेष रुपमा चनाखो हुनुपर्ने र सोहीअनुसारको बन्दोबस्ती मिलाउनुपर्ने शर्माको सुझाव छ । ‘बाढीपहिराको जोखिम हुने भएकाले मौसमसम्बन्धी पूर्वसूचना र चेतावनीको सधैँ ख्याल गर्नुपर्छ, ज्यान जोखिममा पारेर यात्रा गर्नुहुँदैन’, उहाँले भन्नुभयो, ‘अरु याममाभन्दा योबेला पदयात्राका लागि अलि बढी समय छुट्याउनुपर्छ ।’
चुङ्ग्रीबुकीमा रहेको ‘पहाडी आँगन क्याम्प’ का सञ्चालक नवीन अधिकारीले मनसुन सुरु भएपछि पर्यटकको आगमन बढेको बताउनुभयो । उक्त क्याम्पले चार हजार मिटर उचाइमा रहेको त्यस क्षेत्रमा पर्यटकलाई खाना र बासको सेवा दिँदै आएको छ ।
पर्यटकीय राजधानी पोखरादेखि एक दिनको यात्रामा चुङ्ग्रीबुकी पुग्न सकिन्छ । मध्यपहाडी लोकमार्गबाट पर्वत, बागलुङ हुँदै पातीहाल्नेसम्म मोटर यात्रा र त्यहाँबाट पदयात्रा सुरु हुने अधिकारीको भनाइ छ ।
‘पोखरादेखि दुई दिनमै चुङ्ग्रीबुकीको यात्रा पूरा गर्न सकिन्छ । मध्यपहाडी लोकमार्गसँग जोडिएकाले नेपालको जुनसुकै सहरबाट पनि यहाँ सजिलै आउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘काठमाडौँसहित टाढाटाढा पनि घुम्न आइरहनुभएको छ । यहाँ आउने धेरैजसो आन्तरिक पर्यटक नै हो ।’
बागलुङ र रुकुमपूर्वको सीमास्थल पातीहाल्नेदेखि दुईदेखि तीन घण्टाको पदयात्रामा चुङ्ग्रीबुकी पुग्न सकिन्छ ।
पर्यटकलाई दुई छाक खाना, खाजा र ‘टेन्ट क्याम्प’ मा एक रात सुतेकोसहित प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँको प्याकेज तय गरिएको अधिकारीले बताउनुभयो । एकरातमा ४५ जनासम्म पाहुना राख्न सकिने उहाँको भनाइ छ । अन्य कुनै होटल, रेस्टुराँ नभएकाले टेन्ट क्याम्प राखेर पर्यटकलाई सेवा प्रदान गरिएको अधिकारीले बताउनुभयो ।
यात्रा भ्लगर दिव्या ढकाल पर्यटकले मनसुन याममा चुङ्ग्रीबुकी, ढोरपाटनजस्ता गन्तव्य रोज्नुमा बुकीफूल र भेडीगोठको आकर्षण मुख्य रुपमा जोडिएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘ढोरपाटन उपत्यका र बुकी क्षेत्रमा पाइने थरीथरीका फूल, भेडीगोठ र रमणीय भूबनोटले जोकोहीलाई लोभ्याउने गर्छ ।’ विकास निर्माण र पर्यटकीय गतिविधि बढेसँगै पर्यावरण संरक्षणमा जोखिम बढेको उहाँको भनाइ छ ।
‘यसअघि कहिल्यै मानिस नपुगेका ठाउँमा एकैपटक ठूलो सङ्ख्यामा पुग्दा त्यसले पारिस्थितिक प्रणालीमा असर पुग्छ’, ढकालले भन्नुभयो, ‘ढोरपाटनजस्ता ठाउँमा दिगो पर्यटनलाई अगाडि बढाउनुपर्छ, स्थानीयस्तरमा वातावरणीय संरक्षणका विषयमा सचेतनाको खाँचो छ ।’
पर्यटकले जथाभावी फूल टिप्ने, फोहर गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई बेलैमा निराकरण गर्न नसके पर्यटनमा नकारात्मक असर पुग्ने उहाँको भनाइ छ । चार हजार मिटरमाथिसम्म विशाल क्षेत्रमा फैलिएका हरिया पाटन र खर्कले यो याममा बुकीको आकर्षण बढाउने गरेको छ ।
ढोरपाटन उपत्यका पनि अहिले रङ्गीचङ्गी भुइँफूलले सजिएको छ । वनफूलले ढाकिएको उपत्यकामा घोडा सयर गर्न पाउनु ढोरपाटनको अर्को आकर्षण हो । चार/पाँच वर्षयता मनसुन याममा ढोरपाटन घुम्ने पर्यटकको सङ्ख्या बढेको छ ।
फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालले पनि ढोरपाटन र बुकी क्षेत्रको प्रचारप्रसारमा व्यापकता ल्याएको हो । विशेषगरी शरद र वसन्तऋतुमा बढी पर्यटकीय गतिविधि गरेकामा पछिल्लो समय मनसुन याममा पनि पदयात्रामा जाने क्रम बढ्नुले नेपाल पर्यटनका लागि हरेक मौसममा उपयुक्त छ भन्ने देखाएको छ ।
ढोरपाटनको गर्पाछेडामा रहेको ‘हाइअल्टिच्युड गोठ एण्ड टेन्ट स्टे’ का सञ्चालक महेन्द्र घर्तीले ढोरपाटनको बुकी क्षेत्र घुम्नका लागि साउन–भदौ महिना उत्तम रहेको बताउनुभयो ।
‘मनसुनमा हरेक हप्ता यहाँ नयाँनयाँ भुइँफूल फुल्ने गर्छ, यहाँ रहेका भेँडीगोठ र उत्तरपट्टि लहरै देखिने हिमशृङ्खला पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ’, उहाँले भन्नुभयो, ‘अहिले दैनिक दुई/तीन सय पर्यटक यहाँ आउने गरेका छन् ।’
ढोरपाटन उपत्यकाबाट चारदेखि पाँच घण्टाको पदयात्रामा गर्पाछेडा पुग्न सकिन्छ । पर्यटकहरू त्योभन्दामाथि ४२ सय मिटरमा रहेको टीकाधारासम्म पुग्ने गरेको घर्तीले सुनाउनुभयो । गर्पाछेडामा पर्यटकका लागि गोठस्टे र टेन्ट क्याम्पको व्यवस्था छ । घर्तीसहित सात जना व्यवसायीले त्यहाँ लगानी गरेका छन् ।
‘हामीले सञ्चालन गरेको गोठस्टे र टेन्ट क्याम्पमा एक रातमा ७० जनासम्म पाहुना राख्न सकिन्छ’, घर्तीले भन्नुभयो, ‘प्रतिव्यक्ति दुई हजारदेखि दुई हजार चार सय रुपैयाँसम्मको प्याकेजमा सेवा उपलब्ध गराएका छौँ ।’
दुई हजार रुपैयाँमा एक छाक सादा खाना, खाजा, एक रात बास र ढोरपाटन सिकार आरक्षलाई तिर्ने पर्यटक शुल्कसमेत समावेश गरिएको छ । दुई हजार चार सय रुपैयाँ तिर्ने पर्यटकले खानामा मासुसहितको सुविधा पाउँछन् ।
पदयात्रा गर्न नसक्नेका लागि ढोरपाटन उपत्यकाबाट घोडा सवारकोसमेत सुविधा उपलब्ध छ । घोडा व्यवसायीले तीन हजार पाँच सय रुपैयाँमा पर्यटलाई गर्पाछेडासम्म पुर्याउँछन् । पर्यटक बढ्न थालेपछि आतिथ्य सेवादेखि फोहर व्यवस्थापनसम्ममा चुनौती थपिएको घर्तीको भनाइ छ ।
कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कोरी पनि मनसुन पदयात्रा लागि रोजाइको गन्तव्य हो । पर्यटकीय गाउँ सिक्लेसबाट पदयात्रा सुरु गरी अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार ८०० मिटरको कोरी लेक पुग्न सकिने सिक्लेसस्थित नमस्ते गेष्टहाउसका सञ्चालक झरना गुरुङले बताउनुभयो ।
‘दुई दिनमा कोरीको पदयात्रा पूरा गर्न सकिन्छ । विशेष गरी मनसुन याममा यहाँ पर्यटक घुम्न आउँछन्’, उहाँले भन्नुभयो, ‘यो बेला फुल्ने थरीथरीका फूल, नजिकै देखिने हिमाली दृश्य र छिनछिनमा फेरिइरहने मौसम कोरी ट्रेकको आकर्षण हो ।’
मनसुन याममा कोरीको प्राकृतिक सौन्दर्य पनि लोभलाग्दो हुने गरेको उहाँको भनाइ छ । सामाजिक सञ्जाल फेसबुक, टिकटकजस्ता माध्यमबाट कोरीको प्रवर्द्धनमा टेवा पुगेको उहाँले बताउनुभयो । स्तरीय पदमार्गसहित पर्यटकीय सुविधा पनि उपलब्ध भएकाले कोरीको यात्रा सहज छ ।
सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आवतजावत बढेको हो । सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईटा पदमार्ग छन् । तीन दिनमा कोरी ट्रेक घुम्न सकिन्छ । पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन् ।
ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान), गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रचुर सम्भावना भएर पनि नेपालमा मनसुन याम केन्द्रित पर्यटकीय गतिविधि अपेक्षित रुपमा बढ्न नसकेको बताउनुभयो । पर्यटनलाई बाह्रैमास चलायनमान बनाउने गरी नीति र प्रवर्द्धनका कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ ।
–रासस
प्रतिक्रिया दिनुहोस