आज: २०८३ अषाढ ३०, मंगलबार | Tue, 14, Jul, 2026

अदुवाखेतीमा आउँदैन बाँदर


  • आफ्नै खबर
  • २०८३ अषाढ ३०, मंगलबार १0 घण्टा अघि
  • ४७ पाठक संख्या
  • पर्वत/  पैयूँ गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन् ।

    अदुवा नगदे तथा मसला बाली हो । दक्षिण पर्वत अधिकारीडाँडामा ४० जना कृषकले बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवाखेती गरेका हुन् ।

    गत वर्ष पाँच रोपनीमा सोचेभन्दा धेरै आम्दानी भएपछि यस वर्ष ६० रोपनी क्षेत्रफलमा अदुवाखेती विस्तार गरिएको समूहका अध्यक्ष हुमलाल अधिकारीले जानकारी दिनुभयो ।

    गत वैशाखमा गरिएको अदुवाखेती आगामी पुस महिनामा खनेर बजार पठाइने भएको छ । यहाँका प्रत्येक कृषकले चारदेखि ६ क्विन्टल अदुवा रोपेका छन् । गत वर्ष झण्डै ६० क्विन्टल अदुवा बिक्री गरेर ६ लाख रुपैयाँ आम्दानी गरेका कृषकले यस वर्ष १० मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान गरेका छन् ।

    मकै र कोदो खेती गर्न छोडेपछि बाँदर हराउँदै गए । आम्दानी पनि दोब्बर भयो । स्थानीय ‘नशे’ जातको अदुवालगायका कृषक उत्पादन राम्रो भएपछि अदुवाखेतीमा पल्किएका छन् ।

    अदुवाखेतीको प्रवर्द्धन र कृषक प्रोत्साहनका लागि कृषि विकास कार्यालय पर्वतले बीउमा प्रतिकिलो एक सय रुपैयाँ र बजार मूल्यमा प्रतिकिलो ५० रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ । यस वर्ष पालिकाले समूहलाई थप तीन लाख रुपैयाँ अनुदान दिएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो ।

    नेपाल विश्वको चौथो ठूलो अदुवा उत्पादक राष्ट्र हो । उत्पादनको झन्डै ६० प्रतिशत अदुवा भारतलगायतका देशमा निर्यात हुन्छ । ग्रामीण अर्थतन्त्र उकास्न र कृषकको आयआर्जन बढाउन अदुवा बाली महत्त्वपूर्ण मानिन्छ ।

    नेपालका ६९ जिल्लामा अदुवाको व्यावसायिकखेती हुन्छ । जसमध्ये इलाम, सल्यान, पाल्पा, डोटी, मकवानपुर र धनकुटा प्रमुख अदुवा उत्पादन गर्ने जिल्लामा पर्छन् ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु