आज: २०८३ भाद्र १०, बुधबार | Wed, 26, Aug, 2026

३५ वर्षदेखि काठमाडौँका नागरिकलाई इस्कुस खुवाइरहेका दुई गाउँ


  • आफ्नै खबर
  • २०८३ भाद्र ९, मंगलबार २३ घण्टा अघि
  • ५२ पाठक संख्या
  • काठमाडौँ/  घुमारचोक र लप्सेका किसानहरू इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ ।

    इस्कुसको मुन्टादेखि जरा (तरुल)सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि इस्कुस खेतीमानै रमाउन थालेका हुन् । पहिला यहाँका जनताले जीवन चलाउन दाउरा बेच्नुपर्थ्यो । तर इस्कुसखेतीमा रमाउन थालेपछि यहाँका अधिकांश किसानको जीवननै बदलिएको छ ।

    अहिले त उहाँहरूसँग जेठदेखि मङ्सिरसम्म रुपैयाँको कमी हुँदैन । शङ्खरापुर नगरपालिकाको दुई गाउँ घुमारचोक र लप्सेका किसानको जीवन गुजाराको एकमात्र कृषि बाली इस्कुसखेतीनै हो ।

    किसानले इस्कुसको मुन्टा सिजनमा प्रतिकेजी एक सयदेखि एक सय ५० रुपैयाँसम्म, जरा (तरुल) प्रतिकेजी एक सय ५० देखि दुई सय रुपैयाँसम्म र इस्कुस प्रतिकेजी ३५ देखि ५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् ।

    उनीहरूले उत्पादन गरेको इस्कुस तथा अन्य सागसब्जी बिक्री गर्न बजारसम्म धाउनुपर्दैन । व्यापारीहरू ढक तराजु बोकेर घर/घर आउँछन् ।

    यहाँ प्रत्येक घर वरिपरि बारीमा टाढैसम्म लहरिएका इस्कुसका झ्याङ देखिन्छन् । इलामको चिया बगानजस्तै । यहाँका किसानको पुस्तौँदेखि आम्दानीको मुख्य आधार इस्कुस बनेको छ । अधिकांश घर परिवारको दैनिकी, चाडपर्व र वर्षभरिको खर्चसमेत इस्कुससँग जोडिएको छ ।

    ऐतिहासिक साँखु बजार र बज्रयोगिनी मन्दिरबाट अलिकति माथि र शिवपुरी राष्ट्रिय निकुञ्ज, मणिचुड कुण्डभन्दा अलिकति तल घुमारचोक पर्दछ । सहरीकरणको हावा लाग्दै गरेको काठमाडौँको ग्रामीण क्षेत्र शङ्खरापुर नगरपालिका–८ घुमारचोकको भिरालो बस्ती यतिबेला इस्कुसको बगानले मनोरम देखिन्छ ।  

    साथै, वडा नं. ४ लप्से पुग्दा पनि उक्त गाउँका अधिकांश घर–गोठ वरिपरि इस्कुसका ठूला–ठूला बगानहरु भेटिन्छ । यतिबेला यहाँका कृषकहरूलाई इस्कुस टिप्ने, प्याकिङ गर्ने र घरछेउमा आएका व्यापारीलाई बेच्न भ्याइनभ्याइ छ ।

    यी दुई वडाका धेरै घर परिवारका लागि इस्कुस केवल सागसब्जी मात्र नभई वर्षभरिको घरखर्च धान्ने मुख्य आम्दानीको स्रोत बनेको छ । वर्षको करिब ६ महिना यहाँका कृषकको दैनिकी इस्कुस टिप्ने, जोख्ने र बिक्री गर्ने काममै बित्छ ।

    जेठदेखि उत्पादन सुरु हुने उक्त तरकारी मङ्सिरसम्म फल्छ । शङ्खरापुर–४ लप्से थाङसाङ डाँडाका कृषक सञ्चमान घलानले इस्कुसखेती गर्न थालेको ३५ वर्ष नाघिसकेको छ । उहाँले पाँच रोपनी जग्गामा इस्कुसखेती गरेर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्नुभएको छ ।

    घुमारचोक र लप्सेका इस्कुसखेती किसान खुसी छन् । उनिहरूको जग्गासम्म सडकको पहुँच विस्तार भएपछि व्यापारी कृषकको बारीमा सजिलै पुग्ने भएकाले खुसी भएका हुन् । 

    लप्सेकै अर्का कृषक बुद्धिबहादुर घलानले ६ रोपनी जमिनमा इस्कुसखेती गर्नुभएको छ । उहाँका सबै परिवार इस्कुसखेतीमा नै लागेका छन् । इस्कुसखेतीबाट आफू सन्तुष्ट भएको बताउनुहुन्छ ।

    घुमारचोकमा स्थानीय विकास थिङले यहाँका प्रायः किसानले थोरैमा एक लाख र बढीमा ६ लाख रुपैयाँसम्मको इस्कुस बिक्री गर्ने गरेको बताउनुभयो । शङ्खरापुरका यी दुई वडामा उत्पादन भएको इस्कुस काठमाडौँका विभिन्न तरकारी बजारमा पुग्ने गरेको छ । विशेषगरी यहाँका अधिकांश तामाङ परिवार इस्कुसखेतीमा आबद्ध छन् । 

    यहाँका किसानले इस्कुससँगै काँक्रो, सिमी, आलुलगायतका अन्य तरकारी पनि लगाउँछन् । जग्गा भएका प्रायः घरपरिवार इस्कुसखेतीमा जोडिनुको कारण पनि यसको नियमित आम्दानी नै हो ।

    एकैपटक ठूलो रकम हात पर्नेभन्दा पनि लामो समयसम्म थोरै–थोरै रकम निरन्तर आउने भएकाले घरायसी अर्थतन्त्र चलाउन सहज भएको कृषकहरूको अनुभव छ ।

    मानबहादुर वाइवाले झन्डै पाँच रोपनी जग्गामा इस्कुसखेती गर्नुभएको छ । विगतमा राम्रै फाइदा भए पनि यो वर्ष समयमानै थाँक्रो दिन ढिलाइ भएकाले पाँच लाख रुपैयाँको मात्र इस्कुस बिक्री गरेको बताउनुभयो ।

    घुमारचोकका म्याङ्गाई घलानले पनि पाँच रोपनीमा इस्कुसखेती गर्नुभएको छ । उहाँले ५० हजार रुपैयाँ लगानी गरेर एक लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको बताउनुभयो । यसक्षेत्रका डाँडाकटेरी, कालीमेल, रैले, जहरसिंहपौवालगायतका क्षेत्रमा पनि इस्कुसखेती हुने गरेको छ ।

    इस्कुसखेतीलाई व्यावसायिक रूपमा अघि बढाउन शङ्खरापुर नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । नगरप्रमुख रमेश नापितले इस्कुसखेतीमा आबद्ध किसानलाई आवश्यक मचान निर्माणमा अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो ।

    इस्कुसलाई थाँक्रो दिन आवश्यक मचानका लागि सिमेन्ट, बालुवा र रडबाट तयार गरिने टेका कृषकको ५० प्रतिशत लागत र नगरपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो ।

    –रासस 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु