आज: २०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

दामोदरकुण्ड तीर्थयात्रीलाई दुई ठाउँमा निःशुल्क भोजन


  • आफ्नै खबर
  • २०८३ जेष्ठ ३१, आईतबार ८ घण्टा अघि
  • ४९ पाठक संख्या
  • मुस्ताङ/  लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी दुई महिनाका लागि निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ ।

    समुद्री सतहको चार हजार नौ सय ९० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल जाने पदमार्ग घिमेठाँटी र दामोदरकुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निःशुल्क भोजन र आवासको प्रबन्ध मिलाइएको हो ।

    पवित्र धार्मिकस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीका लागि म्याग्दीको अन्नपूर्ण–३ नारच्याङस्थित पुण्यश्वर महादेव शिवालय उपसमितिले निःशुल्क भोजन र त्यहाँ रहेको धर्मशालामा आवासको व्यवस्था मिलाएको दामोदरकुण्ड मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष एवं दामोदरकुण्ड तीर्थयात्री भोजन व्यवस्थापक समिति संयोजक मोहन पुर्जाले जानकारी दिनुभयो ।

    बर्सेनि बर्खायामको दुई महिना उपसमितिले सङ्कलन गरेको चन्दाबाट निःशुल्क भोजनको व्यवस्था मिलाउँदै आएको उहाँले बताउनुभयो । यस वर्ष पनि दामोदरकुण्ड तीर्थ गर्ने अनुकूल याम सुरु भएकाले जेठ २५ गतेदेखि साउनसम्म तीर्थयात्रीलाई खान र बस्न व्यवस्थित प्रबन्ध गरिएको संयोजक पुर्जाले उल्लेख गर्नुभयो ।

    म्याग्दीस्थित गलेश्वरधामबाट बर्सेनि मुठीदान उठाउने गरेको र उपसमितिको आंशिक अक्षयकोषबाट खर्चिने गरी तीर्थयात्रीका लागि निःशुल्क भोजनलगायत व्यवस्था गरिएको पुर्जाको भनाइ छ ।

    उपसमितिद्वारा सङ्कलित चन्दा दानको रकम खर्चिने गरी भोजन व्यवस्थापन गर्न चार जना खटाइएको छ । दामोदरकुण्डमा दुई र घिमेठाँटीमा दुई कर्मचारीलाई भोजनको व्यवस्था मिलाउन खटाइएको छ । यसका लागि बर्सेनि पाँच लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको व्यवस्थापक पुर्जाले बताउनुभयो ।

    २०६४ सालदेखि नारच्याङस्थित गुप्तेश्वर महादेव उपसमितिले दामोदरकुण्ड तीर्थयात्रीका लागि निःशुल्क भोजनको व्यवस्था मिलाउँदै आएकामा कोभिड–१९ को समयमा दुई वर्ष तीर्थयात्रा बन्द हुँदा कार्यक्रम रोकिएको व्यवस्थापक पुर्जाले जानकारी दिनुभयो ।

    तीर्थयात्रीका लागि भोजनसहित बासको व्यवस्था भएपछि ठूलो राहत मिलेको लोघेकर दामोदरकुण्ड–४ का वडासदस्य कृष्णकुमारीले जानकारी दिनुभयो । तीर्थयात्रीले भोजन र बस्नका लागि लत्ताकपडाको व्यवस्था मिलाउँदै यात्रा गर्न कठिन हुने भएकाले यस प्रकारको सुविधाले दर्शनार्थीको यात्रालाई सहज बनाएको उहाँले उल्लेख गर्नुभयो ।

    नेपाल—चीन उत्तरी क्षेत्रस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल हिन्दू धर्मावलम्बीहरूका सुविधाका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले २०७८ सालमा पुरुष र महिलाका लागि अलगअलग बस्न मिल्नेगरी दुई  धर्मशाला निर्माण गरेको गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो ।

    गाउँपालिकाले दामोदरकुण्डको केही तल धर्मशालासहित बाथरुम र शौचालय निर्माण गरेको र घिमे ठाँटीमा पनि दुईवटा धर्मशाला गाउँपालिकाले नै निर्माण गरेको छ । दुईवटै धर्मशालाको क्षमता एक सय जनाभन्दा बढीको छ भने घिमेठाँटीमा रहेको धर्मशालाको क्षमता करिब ४० जनाको रहेको अध्यक्ष विष्टले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु