आज: २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026

बन्यो किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क


  • आफ्नै खबर
  • २०८२ पौष २, बुधबार मा प्रकाशित २ महिना अघि
  • ३० पाठक संख्या
  • पाँचथर/  फिदिम नगरपालिका-३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेको छ ।

    किराँत राई समुदायको परम्परागत संस्कार र संस्कृतिसँग सम्बन्धित मूर्ति र वनस्पतिहरू, सुप्तुलुङ (चुला) लगायत संरचना भएको लालीखर्कमा निर्माण गरिएको पार्क पछिल्ला दिनमा आन्तरिक पर्यटकीय स्थलका रुपमा विकसित भएको छ ।  

    नेपाल एकीकरणअघि माझ किराँतमा बसोबास गर्ने किराँत राई समुदायले पूर्वतर्फ सर्नेक्रममा मानिआएको धर्म, संस्कृति, रीतिरिवाज, परम्परा, भाषा संस्कृति भुल्दै गएको भन्ने सन्दर्भमा सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरको लालीखर्कमा उक्त संरचना निर्माण गरिएको हो ।

    ताया रुङरि खिमका अध्यक्ष भक्तबहादुर राईका अनुसार राई बान्तवा भाषाका ‘ताया’ को अर्थ ज्ञान वा वुद्धि, ‘रुङरि’ को अर्थ शक्ति र ‘खिम’ को अर्थ घर भन्ने हुन्छ । यसप्रकार ज्ञान वा वुद्धि र शक्ति प्रदान गर्ने घरका रुपमा यो उद्यान निर्माण गरिएको हो ।

    ‘माझ किराँतस्थित भोजपुर, खोटाङलगायत जिल्लाबाट बसाइँ सरी राईहरू पाँचथर आइपुगेको इतिहास छ । माझ किराँतबाट जति पूर्व लाग्यो, भाषा, संस्कार, संस्कृति उति नै बिर्सिदै जाने गरेको पाएपछि यो उद्यानमार्फत पहिचान झल्काउने र नयाँ पुस्तालाई जानकारी दिने प्रयास गरेका हौँ’, अध्यक्ष राईले भन्नुभयो, ‘हाम्रो पुस्तासम्म आउँदा भाषा, संस्कार र संस्कृतिका धेरै कुराहरू लोप हुँदै गए । हामीभन्दा पछिको पुस्ताले आफ्नो पहिचान बताउन नसक्ने अवस्था आएपछि यो पार्क बनाएका हौँ ।’

    मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका-३ लालीखर्कको सुम्नीमा चोकभन्दा केहीमाथि करिब १० रोपनी जग्गामा यो उद्यान निर्माण गरिएको छ । फिदिम नगरपालिका-३ लालीखर्कमा राई समुदायको बाक्लो बस्ती रहेको छ ।

    यसको आसपास फिदिम नगरपालिकाको वडा नं. ७ असिने, वडा नं. १ नाम्दू ढोडेनी, वडा नं. २ रमिते ठाडे, वडा नं. ५ चोकमागू, वडा नं. ६ सिवामा राई समुदायको बसोबास रहेको र लालीखर्क यी सबै स्थानको केन्द्रमा रहेका कारण सबैको पायक पर्ने स्थानमा उद्यान निर्माण गरिएको अध्यक्ष राईले स्पष्ट गर्नुभयो ।  

    यस उद्यानमा प्रकृति र संस्कृति झल्काउने, परम्परागत खेलकुदसँग सम्बन्धित सामग्री र बाल उद्यान गरी चार प्रकारका सामग्रीहरु राखिएका छन् । प्राकृतिक पार्क (खामलिखाला खिम) मा राईको जन्मदेखि मृत्युसम्मका संस्कारमा आवश्यक पर्ने वनस्पतिहरू रोपिएका छन । जसको नाम र यसको प्रयोगको जानकारीसमेत स्पष्ट बुझिने गरी राखिएको छ ।

    –रासस 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु