आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

 २२ जनालाई रोजगारी र सात लाख बचत सफल तरुलखेती


  • आफ्नै खबर
  • २०८२ पौष ३, बिहिबार ३ महिना अघि
  • ३५ पाठक संख्या
  • मोरङ/  सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुग्नुभएका खेमराज कट्टेल आज एक सफल किसानको रूपमा परिचित हुनुहुन्छ । यसअघि व्यावसायिक खेतीको अनुभव नभए पनि तीन वर्षअघि उहाँले सुरु गर्नुभएको तरुलखेतीबाट अहिले २२ जनाको जीविकोपार्जन सुनिश्चित बनेको हो । 

    खेमराजले सुन्दरहरैँचा-७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन, तर तीन वर्षको प्रयासपछि तरुलखेतीबाट २२ जनालाई रोजगारी दिनुका साथै आत्मनिर्भर बनाउन सफल भएको छु ।’

    सुकेको जमिनमा नयाँ आशा
    सुन्दरहरैँचा-७ को ‘७५ बिघा’ भन्ने ठाउँ वर्षौँदेखि पानीको कमी र जङ्गली जनावरको आतङ्कले ग्रस्त थियो । धान र मकै सुक्ने, बोरिङको पानीले मात्रै पुग्ने अवस्था थिएन ।

    खेमराजले भन्नुभयो, ‘पहिले केराखेती पनि हुन्थ्यो । तर हात्तीको आतङ्कले बोटहरूमा क्षति भइरहन्थ्यो ।’ त्यस्तो अवस्थामा उहाँले वैकल्पिक खेतीकाम रूपमा तरुल छनोट गरेको उहाँको भनाइ छ ।

    खेमराजले भन्नुभयो, ‘साथीभाइले सुरुमा गरेको देखेपछि मलाई पनि रहर लागेर आयो । तीन बिघा जमिन भाडामा लिएर तरुल लगाएँ । आज सात बिघामा विस्तार भएको छ ।’

    उहाँसँगै उभिनुभएका जग्गाधनी प्रकाश उप्रेतीले भन्नुभयो, ‘पानी नै नभएर सबै बाली सुक्थ्यो । पूर्वाञ्चल विश्वविद्यालय बनेपछि बाटोको छेउ परेपछि झन पानी आउने विकल्प नै रोकियो । तर, तरुल भने सुकेको जमिनमा पनि उत्पादन हुँदो रहेछ ।’ तरुलखेतीबाट प्रशस्त आम्दानी हुने देखिएपछि यहाँका किसानमा पुनः आशा पलाएको उहाँको भनाइ छ ।

    उप्रेतीका अनुसार तरुलको एउटै बोटले तीन देखि पाँच किलोसम्म फल दिने, बजारमा माघेसङ्क्रान्तिसम्म माग बढ्ने भएकाले किसानको मुहारमा उत्साह देखिएको छ । सफलतासँगै जङ्गली जनावरको सास्ती भने कायम नै रहेको स्थानीय किसान बताउँछन् ।

    ‘यस क्षेत्र कहिले बँदेल, कहिले मृग र कहिलेकाहीँ हात्ती आइरहन्छन्’, खेमराजले भन्नुभयो, ‘बँदेलले बोटै उखेलेर खाइदिन्छ । तरुल जोगियो भने सुन फल्दो रहेछ । तर जोगाउनै चुनौतीपूर्ण बनेको छ ।’

    उहाँले बिघाको ६० हजार रुपैयाँका दरले सात बिघाको भाडा तिर्दै आएको बताउनुभयो । सबै खर्च काट्दा वर्षको करिब सात लाख रुपैयाँ बचत हुने जनाउँदै उहाँले यहाँबाट २२ जनाले रोजगारी पाएका उल्लेख गर्नुभयो । केराबालीमा रोगको समस्या बढेपछि विकल्पका रूपमा आफूले तरुलखेती रोजेको उहाँले जानकारी दिनुभयो । 

    पहिले आफ्ना लागि मात्र रोपिने तरुल अहिले व्यावसायिक खेतीका रूपमा विस्तार हुँदै गएको छ । स्थानीय दोमट माटो, सुख्खा भू-परिवेश र अनुकूल हावापानीका कारण तरुलखेती यस क्षेत्रका लागि उपयुक्त मानिएको किसान खेमराजले बताउनुभयो । धान, मकै र केरा जस्ता बालीमा हात्तीको उपद्रो बढ्दै गएपछि किसान वैकल्पिक नगदे बालीतर्फ आकर्षित भएका उहाँको भनाइ छ । 

    खेमराजले भन्नुभयो, ‘तरुलको बाक्लो झाडीभित्र हात्ती पस्न नसक्ने भएकाले यो खेती सुरक्षित छ ।’ बँदेलले भने केही नोक्सानी पुर्याउने गरेको किसानको गुनासो छ ।

    उहाँका अनुसार बारीबाटै प्रतिकिलो ४५ रुपैयाँका दरले तरुल बिक्री हुँदै आएको छ । व्यापारीहरू दैनिक गाउँगाउँमा जुटका बोरा बोकेर आउने भएकाले खनेर बोरा भर्ने मात्रै काम गर्नुपर्ने किसान खेमराजले बताउनुभयो । उहाँले थप्नुभयो, ‘बिक्री नहोला कि भन्ने चिन्ता लिनुपर्ने अवस्था छैन ।’

    गत मङ्सिर १५ देखि पुस २७ सम्म तरुल खन्न सकिने भएकाले विशेषतः माघे सङ्क्रान्तिका लागि बढी खपत हुन्छ । सोही कारणले किसानले पुस २७ भित्र सबै तरुल बजारमा पठाउने तयारी गरेका छन् । एउटा बोटबाट करिब १० किलोसम्म उत्पादन हुने खेमराजले जानकारी दिनुभयो । 

    भविष्यको सम्भावना
    सिँचाइ, बजार व्यवस्थापन र जङ्गली जनावर नियन्त्रणमा स्थानीय सरकारबाट सहयोग भएमा सुन्दरहरैँचा नगरपालिका तरुलखेतीका लागि मुलुककै नमूना बन्न सक्ने किसान खेमराजको बुझाइ छ । उहाँका अनुसार तरुल नगदेबाली मात्र नभएर सङ्घर्ष, सम्बन्ध र सम्भावनाको प्रतीक बनेको छ । 

    यहाँका किसानको पसिनाले बाँझो जमिनलाई फेरि उत्पादनशील बनाइरहेको उहाँले बताउनुभयो । यहाँ तरुलखेती गर्ने किसानले भोगेका सङ्घर्ष, सफलताको कथा किसान र स्थानीय समाजबीचको सहकार्य, आत्मनिर्भरता र रोजगारीको मार्ग बन्दै गएको किसानको भनाइ छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु