
दाङ/ तुलसीपुर उपमहानगरपालिका-३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाको मल उत्पादनबाट वार्षिक २२ देखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले गड्यौलाले मल बिक्री गरी मनग्य आम्दानी गर्न सफल हुनुभएको हो ।
राष्ट्रिय अनुसन्धान कार्यालयमा २८ वर्षसम्म विभिन्न पदमा सेवा गरी स्वेच्छिक अवकाश लिनुभएका वली अहिले गड्यौलापालक किसानका रूपमा स्थापित हुनुभएको छ ।
२०७९ सालमा ४० किलो गड्यौला कपिलवस्तुबाट ल्याएर व्यवसायिक पालन सुरु गर्नुभएका उहाँले जिल्लास्थित कृषि ज्ञान केन्द्र घोराहीले आर्थिक वर्ष २०७९/८० सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत भट्टे सहकारी संस्थालाई तरकारीखेती गर्नका लागि बजेट प्राप्त भएपछि अर्गानिक उत्पादनको मार्ग खोज्न थालेको बताउनुभयो ।
‘माटोमा सुधार ल्याउन र नागरिकलाई अर्गानिक खेतीमा आकर्षित गराउन प्राङ्गारिक मलको खोजी गर्न थाल्यौँ । जिल्लामा त्यस्तो प्रयोग कतै नभेटिएपछि कपिलवस्तुबाट तीन हजार क्विन्टल गड्यौलाको मल ल्याएर तरकारीखेती सुरु गर्यौं’, वलीले भन्नुभयो, ‘यसरी खेती गर्दा उत्पादन राम्रो भयो अनि आफू पनि गड्यौलापालनतर्फ आकर्षित भएको हुँ ।’
अहिले वार्षिक रूपमा सात सय क्विन्टल मल र १२-१३ क्विन्टलसम्म गड्यौला बिक्री भइरहेको वलीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार मल प्रतिक्विन्टल तीन हजार रुपैयाँ र गड्यौला प्रतिकिलो एक हजार दुई सय ५० रुपैयाँका दरले बिक्री भइरहेको छ ।
गड्यौला दाङ, रुकुम, रोल्पा, प्यूठान, कैलालीलगायत जिल्लामा जाने गरेको जनाउँदै वलीले मल विशेष गरी सल्यानको कोटमौलामा सुन्तलाखेतीका लागि जाने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जिल्लामा पनि यसको माग बढेको छ । तर, पुर्याउन सकिरहेको छैन ।’ उहाँका अनुसार अहिले दुई जना स्थानीयले नियमित रोजगारी पाएका छन् भने खेतीको याममा २५ जनासम्मले रोजगारीको अवसर पाउने गरेका छन् ।
सबै खर्च कटाएर गड्यौला र मल बिक्रीबाट वार्षिक रूपमा १८-१९ लाख रुपैयाँसम्म बचत हुने गरेको किसान वलीले जानकारी दिनुभयो । माग अनुसारको मल उत्पादन गर्न नसकिएको भन्दै उहाँले गड्यौलाको मल उत्पादनका लागि चार वटा टहरासमेत निर्माण गरेको बताउनुभयो ।
अर्गानिक कृषिजन्य वस्तु उत्पादन हुने गाउँ भएकाले भट्टेका किसानले खेतबारीमा गड्यौलाको मल प्रयोग गर्दै आएका छन् । उहाँका अनुसार सुन्तला, ड्रागन फलको खेती गर्ने किसानबाट गड्यौलाको मलको बढी माग हुँदै आएको भए पनि सबैलाई पुर्याउन सकिएको छैन । उहाँले हाल सल्यानको कोटमौला क्षेत्रमा मल बिक्री गर्दै आउनुभएको छ ।
सरकारी सेवाबाट अवकाश भएपछि नागरिकलाई विषादीमुक्त तरकारी तथा फलफूल खुवाउने उद्देश्यले आफू गड्यौलापालन गरी मल उत्पादनमा सक्रिय भएको वलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गड्यौलाको मल प्रयोग गरी अर्गानिक खेती गरिरहेको छु । अहिले मौसमी र बेमौसमी अर्गानिक तरकारीखेतीबाट पनि आम्दानी गरिरहेको छु ।’
भट्टे गाउँमा अहिले अन्य ३० जनाभन्दा बढी किसानले गड्यौलाको मल उत्पादन सुरु गरेका कृषि ज्ञान केन्द्र घोराहीले जनाएको छ । ठूलो मात्रामा भने वलीले मात्रै उत्पादन गर्दै आउनुभएको छ ।
वली अहिले विभिन्न ठाउँमा पुगेर किसानलाई गड्यौला तथा गड्यौलाले मलका फाइदाका बारेमा तालिम तथा प्रशिक्षण दिँदै आउनुभएको तुलसीपुर-३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले बताउनुभयो ।
यसपटक उहाँलाई कृषि ज्ञान केन्द्रले उत्कृष्ट किसान पुरस्कार-२०८२ बाट पुरस्कृत तथा सम्मानसमेत गरेको छ । भट्टेगाउँ तरकारीखेतीका लागि पकेट क्षेत्रका रूपमा मानिन्छ । यहाँका अधिकांश किसानले तरकारीखेती, तोरीखेती, बाख्रापालन तथा भैँसीपालन गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्दै आएका छन् । यहाँ सिँचाइको सुविधा पनि पुगेको छ ।
तुलसीपुर-३ का वडाध्यक्ष विश्वकर्माले भट्टेलाई अर्गानिक उत्पादन हुने गाउँका रूपमा विकास गर्न आफूले पहल गरिरहेको बताउनुभयो । उहाँले यहाँ सडक, सिँचाइका पूर्वाधार विस्तार हुनुका साथै कृषिजन्य वस्तुको उत्पादनका लागि विभिन्न सामग्री वडाबाट वितरण गरिँदै आइएको जानकारी दिनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस