
कुनै समय बाँके र बर्दियाका फाँटहरूमा मगमग बास्ना चल्थ्यो । जब कालानमक धान पाक्ने बेला हुन्थ्यो, बाटो हिँड्ने बटुवा पनि त्यसको सुगन्धले लोभिन्थे । तर समय फेरिएसँगै बजारमा भित्रिएका बढी फल्ने र छिटो पाक्ने उन्नत (हाइब्रिड) जातका धानको भीडमा ती रैथाने बास्नाहरू बिस्तारै हराउन थाले ।
अहिले बाँकेमा ३४ हजार एक सय ९० हेक्टरमा धानखेती हुन्छ । तर, ती फाँटहरूमा कालानमकजस्ता परम्परागत जातका धानको उपस्थिति करिब शून्य जस्तै छ ।
किन हराउँदैछ कालानमक ?
किसान व्यवसायिकतातर्फ उन्मुख भएसँगै थोरै लगानीमा धेरै प्रतिफल खोज्दा हाम्रा मौलिक स्वादहरू सङ्कटमा परेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
कालानमक धान लोप हुनुका पछाडि मुख्य तीन कारण छन् : कम उत्पादन, बढी समय र उच्च लगानी । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सन्तोष पाठकका अनुसार यो धान तयार हुन करिब एक सय ४० दिन लाग्छ । असारमा रोपेको धान मङ्सिरको पहिलो साता मात्र भित्र्याउन सकिन्छ ।
‘विगतमा यसको खेती निकै हुन्थ्यो तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै लाभ लिनतिर लागे’, उहाँ भन्नुहुन्छ, ‘यसमा सिँचाइ र स्याहार बढी चाहिने तथा रोग किराको प्रकोप पनि बढी देखिने भएकाले किसान ‘हाइब्रिड’ तिर आकर्षित भए ।’
कालानमक धानखेतीमा केही प्राविधिक समस्याहरू पनि छन् । पहिलेका बीउहरू धेरै अग्लो हुने र खेतमा ढल्ने समस्या थियो । अहिले होचो जातको बीउ प्रयोगमा ल्याइएको छ ।
अर्को समस्या भनेको ‘किरा’ को हो । असोज-कात्तिकमा अन्य धान भित्र्याइसकेपछि वरपरका सबै किराहरू ढिलो पाक्ने कालानमकमा सर्ने गर्छन्, जसले धान पोगटा बनाउने जोखिम रहन्छ ।
‘विगतमा बाँके र बर्दिया जिल्लामा यसको खेती हुन्थ्यो तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागे’, सूचना अधिकारी पाठकले भन्नुभयो, ‘कालानमकको खेती शून्य प्रायः भएपछि अहिले यसको प्रवर्द्धन र प्रचारमा लागेका छौँ ।’
किसानले रासायनिक मल धेरै हाल्ने चलन रहेकाले ढल्ने समस्या देखिएको हुँदा युरिया, डिएपी र पोटासको सन्तुलित प्रयोग गर्न किसानलाई सल्लाह दिने गरिएको पाठकले बताउनुभयो । उहाँका अनुसार आर्थिक रूपमा भने यो धान निकै लाभदायक देखिन्छ ।
सामान्य धानको मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय रुपैयाँ छ भने कालानमक प्रतिक्विन्टल १० हजार रुपैयाँसम्ममा सजिलै बिक्री हुन्छ । विशेषगरी उच्च घराना र पर्यटकको पहिलो रोजाइमा पर्ने हुनाले यसको बजार सुनिश्चित छ ।
संरक्षणको आशा
हराउँदै गएको यो रैथाने धानलाई जोगाउन कृषि ज्ञान केन्द्र बाँकेले अहिले विशेष पहल थालेको छ । कृषि अनुसन्धान परिषद् (नार्क) खजुराबाट प्राप्त बीउलाई बाँकेको बैजनाथ गाउँपालिका-८ टिटिहिरियाका किसान जगनारायण चौधरीको खेतमा परीक्षणका रूपमा लगाइएको छ ।
चौधरीले करिब एक हेक्टर क्षेत्रफलमा कालानमक खेती गर्दै आउनुभएको छ । पाँच वर्षदेखि यो धान जोगाउन लाग्नुभएका उहाँ भन्नुहुन्छ, ‘उत्पादनमा खर्च बढी लाग्छ, तर यसको बजारमा माग निकै छ ।’
यस प्रजातिको धानको उत्पादनमै बढी खर्च लाग्ने भएकाले मूल्य महङ्गो परेको जनाइएको छ । यो धान असारमा रोपेपछि मङ्सिरको पहिलो साता मात्रै काट्न तयार हुन्छ । सिँचाइ पनि पर्याप्त चाहिन्छ ।
करिब ६ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ ।
आयात प्रतिस्थापनको लक्ष्य
सरकारले अहिले मसिनो तथा बास्नादार धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई बीउ र प्रविधिमा अनुदान दिन थालेको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेका अनुसार कालानमक जस्ता रैथाने धानको उत्पादन बढाएर बाहिरबाट हुने मसिनो चामलको आयात प्रतिस्थापन गर्ने योजना छ ।
आधुनिकताको दौडमा हामीले हाम्रा रैथाने बीउबिजन गुमाउँदै गएका छौँ । टिटिहिरियाका जगनारायण चौधरी जस्ता किसान र कृषि ज्ञान केन्द्रको यो प्रयासले ‘कालानमक’ को सुगन्ध फेरि बाँकेका फाँटहरूमा फर्किने आशा जगाएको छ ।
यदि प्रविधि र सन्तुलित मलखादको प्रयोगमा किसानलाई प्रोत्साहन गर्ने हो भने कालानमक केबल पहिचान मात्र होइन, समृद्धिको आधार पनि बन्न सक्छ ।
बाँकेमा किसानले रामधान, राधा ४, एमपी ६०, गोरखनाथ लगायतको हाइब्रिड धान रोप्दै आएका छन् । रैथाने धानको जातलाई प्रवर्द्धन गर्न खोजे पनि किसानले रुचि नदेखाएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ घिमिरेको भनाइ छ ।
यो धान उत्पादन बढाउन बाँकेमा प्रवर्द्धनात्मक कार्यक्रम नै लागू गरिएको छ । मसिना तथा बास्नादार धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई बिउ र कृषि प्रविधिमा अनुदान दिने गरिएको छ । कालानमक धानको उत्पादन बढाएर मसिनो धान आयात प्रतिस्थापन गर्ने योजना रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पछिल्ला दिनमा किसानका खेतमा कालोरङ्गका स्यामजिरा, कालानमक र मसिनो बासमती धानका बाला झुलेको देखिन छाडेका छन् । अहिले किसानले उन्नत र हाइब्रिड जातका धानखेती गर्दै आएको नेपालगञ्ज-१९ का किसान ललवा माहुतले बताउनुभयो ।
‘नयाँ पुस्ताले रैथाने बीउको प्रयोग गर्नै चाहँदैनन्, रोगप्रतिरोधात्मक धानको बिउ अहिले लोप भयो’, किसान माहुतले भन्नुभयो, ‘व्यापार व्यवसायतर्फ नयाँपिँढी लाग्दा दोस्रो पुस्ताले हाम्रा बाउबाजेले यो धानखेती गर्थे र भनेर चकित पर्ने दिन आउन सक्छ ।’
रैथाने धान उत्पादनमा गाभरवासी अग्रसर
बाँकेको बैजनाथ गाउँपालिका-१ गाभर भ्याली पछिल्लो समयमा आएर रैथाने उत्पादनको महत्वपूर्ण पकेट क्षेत्र बन्दै गएको छ । स्थानीय र प्रदेश सरकारले रैथाने प्रजातिका अन्नबालीहरूको संरक्षणमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएपछि यो क्षेत्रमा रैथाने उत्पादनमा विशेष ध्यान दिइएको हो ।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमै रैथाने प्रजातिका अन्नबाली संरक्षण कार्यक्रम समावेश गरेकोले बाँके जिल्लाको गाभर भ्यालीमा रैथाने धान उत्पादन सुरु गरिएको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो ।
यो क्षेत्रमा पाइने कालानमक, घैया, गर्भे र अनदीलगायतका रैथाने धानहरू लोप हुने अवस्थामा पुगेपछि संरक्षण गर्ने अभियान सुरु भएको छ । गाभर क्षेत्रमा एक बिघाभन्दा बढी क्षेत्रफलमा यस्ता धानको खेती भइरहेको छ ।
गाभर भ्यालीमा आउने पर्यटकहरू रैथाने उत्पादन अवलोकन गर्न पनि आउने गरेको उहाँले बताउनुभयो । यी धानहरू संरक्षण गरेर यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउँदै रैथाने धानहरूको व्यवसायिक उत्पादन गर्ने योजना रहेको चौधरीको भनाइ छ ।
–रासस
प्रतिक्रिया दिनुहोस