आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

‘भगवान् बेचेरै परिवार पालेँ, पाप हो या पुण्य थाहा छैन’


  • आफ्नै खबर
  • २०८२ माघ ९, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • ५ पाठक संख्या
  • मोरङ/  चाउरी परेका गाला, निधारभरि उमेरका रेखा तर अनुहारमा कहिल्यै नओइलाउने मीठो मुस्कान । उमेरले आठ दशक नाघ्नै लागे पनि जोस र आत्मविश्वास भने अझै जवान छ ।

    विराटनगर-बरगाछीस्थित जय माँ काली मूर्तिकला केन्द्रभित्र पस्ने जो-कोहीलाई पहिलो नजरमै लाग्छ, ‘यो कुनै थाकेको वृद्धको संसार होइन, आफ्नै श्रम र विश्वासले बनाएको एउटा जीवित कलाको दुनियाँ हो ।’ यही संसारका सर्जक हुनुहुन्छ, ८० वर्षीय दिनेशकुमार मेहेतो ।

    हातमा माटो, आँखामा भगवानको आकृति र मनमा निरन्तर सिर्जनाको ऊर्जा बोकेर बसेका मेहेतोको दिन आज पनि उस्तै व्यस्त छ । बिहानदेखि साँझसम्म मूर्तिकलामै डुबिरहने उहाँको जीवनशैली हेर्दा उमेरले कहिल्यै छोए जस्तो लाग्दैन ।

    ‘उहाँको जोस देख्दा १६-१७ वर्षे युवासँग तुलना गर्न मन लाग्छ’, छिमेकीहरू उहाँलाई देखेर भन्छन्, ‘वर्षौंदेखि उही लगन र मिहेनत देख्छु, उहाँको काममा थाक्ने नामै छैन ।’

    झन्डै साढे चार दशकअघि सुरु गरिएको मूर्तिकला व्यवसाय आज मेहेतोका लागि केवल जीविकोपार्जनको साधन मात्र होइन, जीवनकै अर्थ बनेको छ । परिवारको खुसी, आस्थाको सम्मान र आत्मसन्तुष्टिको संसार उहाँले यही कार्यशालाभित्र सजाउनु भएको छ ।

    माटोबाट देवता बनाउने यो यात्रामा उहाँले समय, स्वास्थ्य र उमेरको सीमा कहिल्यै मापन गर्नुभएन । असी वर्ष पुगिसक्दा पनि उहाँ आफ्नो पेसा र भविष्यप्रति ढुक्क देखिनुहुन्छ ।

    ‘जबसम्म श्वास छ, यही काम गर्छु’, मेहेतो आत्मविश्वासका साथ भन्नुहुन्छ, ‘आफ्नो सुझबुझले भ्याएसम्म भगवानको मूर्ति बनाएर बस्छु । अब जतिन्जेल बाँच्छु, यही पेसा चल्छ । बाँचुन्जेल यही मूर्ति बनाएर खान्छु ।’

    उहाँको यो भनाइ केवल शब्द होइन, जीवनभरको अभ्यास र विश्वासको प्रतिफल हो । बरगाछीको यो सानो मूर्तिकला केन्द्र मेहेतोका लागि पसल मात्र होइन, साधना, पहिचान र जीवन यात्राको साक्षी हो । उहाँको जोस देख्दा यस्तो लाग्छ, उहाँले संसार जितिसक्नुभएको छ । त्यही आफूले जितेको संसार आफ्नो दुनियाँमा सजाएर परिवारलाई खुसी बाँडिरहनुभएको छ ।  

    झन्डै साढे चार दशक अगाडि मूर्तिकला व्यवसाय शुरु गर्नुभएका मेहेतोलाई अझै पनि आफ्नो श्वास रहुन्जेल यही पेसालाई निरन्तरता दिएर गुजारा चलाइन्छ भन्ने लागेको छ । कर्म सबैले गर्छन्, कर्म गर्नेहरू त्यही कर्मलाई पूजा ठान्छन् तर दिनेशका लागि भने पूजा नै कर्म हो ।

    बिहान उठेर नित्यकर्म सकेपछि उहाँको दैनिकी यही मन्दिर बनाउने कलाबाट सुरु हुन्छ र दिनको अन्त्य पनि । यही मूर्तिकला नै आफ्नो संसार भएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘जेठो छोरो नै ४० कटिसक्यो, त्यसबेला देखिको सङ्घर्ष अहिलेसम्म पनि उस्तै नै छ । सङ्घर्षले थकान दियो तर पीडा भने कहिल्यै दिएन ।’

    मेहेतोको १० जनाको परिवारको सबै आर्थिक भार थेग्दै आएको छ मूर्तिकला व्यवसायले । सुरुसुरुमा एक्लैको सीपले जेनतेन परिवार पाल्दै आएका मेहेतो छोराहरू हुर्कंदै गएपछि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको बताउनुहुन्छ ।

    छोराहरू सानो हुँदै गर्दा उहाँको काममा श्रीमतीले पनि सहयोग गर्नुहुन्थ्यो । पछि छोराहरूले सीप सिकेपछि उनीहरूले पनि बुबालाई साथ दिन थालेका छन् । यो पेसामा मात्र होइन, हरेक पेसामा दुःख, अप्ठ्यारो जस्ता साह्रोगाह्रो सबैलाई हुने कुरा भएकाले आफूहरूलाई त्यस्ता कुराले कहिल्यै हतास नभएको मेहेतो बताउनुहुन्छ । 

    दिनेशका तीन छोरामध्ये जेठो राकेश पहिलेदेखि नै बाबुको सीपलाई सिकेर बाबुकै केन्द्रको काम सम्हाल्दै आउनुभएको छ भने माइला छोरा नितेश सात वर्ष पहिलेदेखि गाडी तथा सिटी सफारी चलाउने काम गर्नुहुन्छ । हाल उहाँ पनि बाबुकै व्यापारमा सहयोग गरिरहनुभएको छ भने कान्छो छोरा केन्द्रबाट नै आल्मुनियमको काम गर्दै आउनुभएको छ ।

    दिनेशका माहिला छोरा नितेश आफूले बुझ्ने भएदेखि बुबाहरु यति मूर्तिकलाको काम गर्दै आउनुभएकाले यो पेसाप्रति छुट्टै प्रकारको लगाव भएको बताउनुहुन्छ । बुबाको यो पेसाप्रतिको लगन र प्रेम देखेपछि आफूलाई अन्य पेसामा जान मन नलागेका कारण आफूले पनि यही सीप सिकेर काम सुरु गरेको बताउनुहुन्छ ।

    निकेश भन्नुहुन्छ, ‘बुढा हुनुभएको बाबु दिनरात मेहनतका साथ काम गरिरहनुभएको छ । समयमै माग दिन नसकिरहेको अवस्थामा आफूले कसरी अन्यत्र काम गर्नु ? मनले मानेन त्यसैले बुबाकै ब्यवसायमा सहयोग गर्छु भनेर यतै सुरु गरे ।’

    मूर्ति निर्माणका लागि आवश्यक पर्ने कच्चापदार्थको रुपमा माटो पराल सुत्ली (सनपाटको डोरी) काँटी, सजावटको कपडा, मुकुट कपालजस्ता विभिन्न प्रकारका नक्कली गहनाहरु भारतको सिलगुडीबाट ल्याउने गरेको नितेश बताउनुहुन्छ ।

    ‘पराल त यही ठेलाले ल्याइदिन्छ’, नितेश भन्नुहुन्छ, ‘मूर्तिमा लगाउने सम्पूर्ण शृङ्गारका सामग्री र रडहरू भने हामी सिलगुडीबाट ल्याउने गरेका छौँ ।’

    वर्षौंदेखि एकै ठाउँमा एउटै व्यक्तिले व्यावसायिक रुपमा मूर्ति बनाउँदै आएकाले बजारको समस्या छैन । वर्षको एक लाख १० हजार भाडा तिरेर परिवार पाल्न कुनै समस्या नरहेको दिनेश बताउनुहुन्छ ।

    केही वर्षयता भने पहिलेको जस्तो मूर्तिको माग नआएको निकेश बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिलेजस्तो माग नभए पनि परिवारमा अन्य सदस्यहरूबाट पनि केही आयस्रोतका बाटोहरु भएकाले चिन्ता लिनुपर्ने अवस्था भने छैन ।’ 

    कतिपय ग्राहकहरू मूर्ति बनाउन माग दिएर जान्छन् तर फर्केर आउँदैनन् । त्यस्तो अवस्थामा भने उनीहरूलाई निकै असहज हुने गर्दछ ।

    ‘सुरुमै सम्पूर्ण भुक्तानी लिन सकेको खण्डमा सबै समयमै आएर आफ्नो मागअनुसार सामान लान्छन्’, नितेश भन्नुहुन्छ, ‘थोरै अग्रिम भुक्तानी लिएर काम गर्दा सामान खरिद गर्नै अन्य पैसा थप्नुपरेको हुन्छ । त्यसमाथि सामान लिन नआइदिँदा हामीलाई सिधै घाटा हुने गर्दछ ।’

    कोरोनाको समयपछि भने व्यवसाय पहिलेजस्तो नभएको उहाँ सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कोरोनाको समय सन्त्रासको कारण सार्वजनिक स्थलमा मानिसको चहलपहल नहुँदा भने गुजारा चलाउन केही कठिन भएको थियो ।’ 

    वैशाखबाट सुरु गरे पनि माघसम्म मूर्तिकलाको काममा निकै व्यस्त समय हो । माघदेखि बैशाखसम्म फेरि व्यापार सुक्खा हुन्छ । यो छ महिना बेमौसममा पनि बाबुले व्यापार धान्ने गर्नुभएको छ  । 

    कहिलेकाहीँ दिनेशलाई आफूले बनाएको मूर्ति बेच्दा खल्लो लाग्ने गरेको बताउनुहुन्छ । ‘हामी देवीदेउताका मूर्ति बेचेर  खाँदैछौँ । त्यो पाप नै होला नि ?’ बाबुले यति भनिरहँदा छोरा नितेश भने भने आफूहरूलाई मूर्ति बनाएर बाँच्नु भनेर भगवान्ले आशीर्वाद स्वरुप कला दिएको बताउनुहुन्छ । 

    केन्द्रमा भगवानका मूर्तिहरू मात्रै आँखामा पर्दैनन्, कुनामा सजाएर राखिएका माटोका चुला, परम्परागत भाँडाकुँडा, स-साना सजावटी सामग्री र दैनिक प्रयोगमा आउने कलात्मक वस्तुहरूले पनि ध्यान तान्छन् । यी सामग्रीहरूले जय माँ काली मूर्तिकला केन्द्रलाई केवल मूर्तिको पसल होइन, माटोबाट बनेको एउटा जीवन्त संस्कृति सङ्ग्रहालय जस्तै बनाइदिएका छन् ।

    यी अधिकांश कलात्मक सामग्री दिनेशकुमार मेहेतोकी श्रीमतीको हातको सीप हुन् । उहाँ फुर्सदका क्षणलाई खाली बस्न नदिई माटोसँग खेल्दै सिर्जनामा लगाउने गर्नुहुन्छ ।

    दिनेशकी श्रीमती सहज रूपमा भन्नुहुन्छ । ‘मूर्ति बनाउने काम उहाँको हो, अरू सामग्री म बनाउँछु ।’ घरायसी जिम्मेवारी र पारिवारिक कामकाजबीच उहाँले समय निकालेर बनाएका माटोका सामग्री अहिले केन्द्रको अर्को पहिचान बन्दै गएका छन् ।

    विशेषगरी माटोका चुलाहरू ग्राहकबीच निकै लोकप्रिय छन् । परम्परागत स्वाद र चुलोको न्यानोपन खोज्ने ग्राहकहरूले यी चुलालाई प्राथमिकताका साथ लैजाने गरेको मेहेतो दम्पती बताउनुहुन्छ ।

    ‘आजभोलि पनि माटोको चुलो खोज्दै आउनेहरू धेरै हुन्छन्’, दिनेश भन्नुहुन्छ, ‘पहिले मूर्ति लिन आउने ग्राहकले ‘यस्ता अरू माटोका सामान पनि बनाउनुहुन्छ ?’ भनेर सोध्न थाले । ग्राहकको यही चासो र मागपछि केन्द्रमा मूर्तिबाहेक अन्य सामग्री राख्ने क्रम सुरु भएको हो ।’

    दैनिक जीवनमा प्रयोग हुने भाँडाकुँडा, धूपदानी, माटोका बत्ती, फूलदानी, खुत्रुक्के र चुलो बिक्रीका लागि राखिएका छन् ।

    ‘ग्राहकको रुचि बुझेर नै सामग्री थप्दै गयौं’, दिनेश बताउनुहुन्छ, ‘आवश्यकताले नै हाम्रो सिर्जनालाई फराकिलो बनायो ।’

    यसले मेहेतो परिवारलाई अतिरिक्त आम्दानी मात्रै दिएको छैन, परम्परागत माटोको सीपलाई जोगाइराख्ने एउटा माध्यम पनि बनेको छ । दिनेश मूर्ति बनाउँदै गर्दा श्रीमती अर्को कुनामा माटोका सामग्रीलाई आकार दिइरहेकी देखिनुहुन्छ । त्यो दृश्य आफैँमा श्रम, सहकार्य र पारिवारिक आत्मनिर्भरताको कथा पनि हो । 

    सानो ठाउँमा अटाएका यी माटोका सामग्रीहरूले केन्द्रलाई अझ जीवन्त बनाएका छन् । कतिपय ग्राहकहरू मूर्ति हेर्न छिर्छन् तर हातमा माटोको चुलो वा सजावटी सामग्री किनेर निस्किने गर्दछन् । यसरी जय माँ काली मूर्तिकला केन्द्रमा माटो केबल पूजा र आस्थासँग मात्र होइन, दैनिकी र जीवनशैलीसँग पनि जोडिएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु