
पर्वत/ अन्यत्रको निखारिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कका किसानले दोब्बर मूल्य पाएका छन् । अन्यत्रका किसानले सरदर प्रतिकिलो ७० देखि ८० रुपैयाँका दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका छन् ।
हाल प्रतिकिलो एक सय ६० रुपैयाँका दरले बिक्री भइरहेको बाँसखर्कको सुन्तलाको भाउ दैनिकजसो उकालो चढिरहेको अगुवा किसान जगतबहादुर खत्रीले बताउनुभयो ।
‘देशका अन्य ठाउँको बगैँचा रित्तिएपछि व्यापारीले बाँसखर्कको सुन्तला किनेर लैजान थालेका छन्’, उहाँले भन्नुभयो, ‘माघ महिनासम्म बगैँचामा राखिने भएकाले बाँसखर्कको सुन्तलाले राम्रो बजारभाउ पाएको हो । माघको अन्तिममा प्रतिकिलो दुई सय रुपैयाँसम्ममा सुन्तला बिक्री हुन्छ ।’
पोखरा, काठमाडौँ र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आएका छन् । समुद्री सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाइमा रहेको बाँसखर्कका दुई सय ३९ मध्ये दुई सय घरपरिवारले सुन्तलाखेती गरेका छन् । एउटा परिवारले वार्षिक कम्तीमा पाँच लाख रुपैयाँको सुन्तला बेच्छन् ।
बाँसखर्कमा ५३ वर्षअघि बलबहादुर अर्मजा र बलबहादुर खत्रीले सुन्तलाका बिरुवा लगाउँदा तप्केनी भई खेतीबाली बिग्रन्छ भनेर छिमेकीले उखेलेर फालिदिएका थिए ।
व्यावसायिक सुन्तलाखेती भित्र्याउँदा काँडा रोपेर खेतबारी बिगार्न खोजेको आरोप खेपेका उहाँहरु अहिले जीवित नरहे पनि समाजले सम्झिरहेको छ । अर्मजा र खत्रीको गाउँलाई समृद्ध, आत्मनिर्भर बनाउने पाँच दशकअघिको योजनाको लाभ उहाँका सन्ततिले मात्र नभएर सिङ्गो बाँसखर्कवासीले लिएका छन् ।
‘हाम्रा बुबाले २०२८ सालमा रोपेको सुन्तलाको बिरुवा उखेलेर फालिदिएछन् । पछि २०३२ सालमा ल्याएर रोपेको बिरुवाले अहिले पनि फल दिइरहेको छ’, बलबहादुर खत्रीका छोरा नरबहादुरले भन्नुभयो, ‘बुबा बितेर गएको २२ वर्ष भयो । मैले र भाइले बर्सेनि १० देखि १३ लाख रुपैयाँका दरले सुन्तला बेच्छौँ । बुबाको पेन्सन हामीले खाइरहेका छौँ । सुन्तलाखेतीले बाँसखर्कवासीको आर्थिक र सामाजिक हैसियत फेरिएको छ ।’
बाँसखर्कको एक हजार पाँच सय रोपनी जग्गामा सुन्तलाखेती भएको छ । ५१ हजार एक सय ५१ सुन्तलाका बोट छन् । यस वर्ष २० करोड रुपैयाँबराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ ।
लुम्लेको कृषि अनुसन्धान केन्द्रमा काम गर्ने बाँसखर्कका सेवानिवृत्त गोर्खा सैनिकहरूको पहलमा सुन्तलाका बिरुवाको बजारीकरण हुने भएकाले केही किसानले नर्सरी पनि सञ्चालन गरेका थिए ।
वार्षिक २३ लाख रुपैयाँको सुन्तला बेच्ने शान्तबहादुर छिन्तेलले आफूहरूको आर्थिक हैसियतमा धेरै परिवर्तन आएको बताउनुभयो ।
‘धान, कोदो र मकैखेती गरेर ६ महिना पनि खान पुग्दैनथ्यो । छोराछोरी पढाउन र घरव्यवहार चलाउन विदेश जानुपर्ने बाध्यता थियो’, उहाँले भन्नुभयो, ‘अहिले आफू आत्मनिर्भर र स्वरोजगार भएर पनि अरुलाई समेत बगैँचामा काम दिन सक्ने भएका छौँ ।’
सर्वेक्षणको नेतृत्व गर्नुभएका बाँसखर्कको ज्योतिमण्डल माविका प्रअ मेखबहादुर खत्रीका अनुसार यस वर्ष २६ हजार सात सय ६ बोटमा करिब २० करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ । गत वर्ष १८ करोड, २०८० मा ११ करोड र त्यसअघिको वर्ष १० करोड रुपैयाँबराबरको सुन्तला बिक्री भएको थियो ।
क्षेत्रफल विस्तार, फल लाग्ने नयाँ बिरुवा थपिएको, बगैँचा व्यवस्थापन, अनुकूल मौसम, दाना झर्ने समस्या कम भएको र दाना धेरै लागेकाले उत्पादन बढेको हो ।
‘थप २४ हजार चार सय ४५ सुन्तलाको बोट बगैँचामा हुर्किरहेका छन्’, खत्रीले भन्नुभयो, ‘सुन्तलाखेतीबाट एउटा परिवारले वार्षिक चार लाखदेखि ४० लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।’ सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झन्डै ४० करोड रुपैयाँ हाराहारी पुग्ने अनुमान गरिएको छ ।
बाँसखर्कका किसानले धान, कोदो, मकै, गहुँखेतीको विकल्पमा सुन्तलाखेती गरेका छन् । पहिले बाँसको जङ्गल भएको र हिउँदमा गाईभैँसी, भेडाबाख्राको गोठ राख्ने भएकाले बाँसखर्क रहन गएको किंवदन्ती छ । पुरानो बाँसखर्कको पाखो अहिले सुन्तलाखर्कमा परिणत भएको छ ।
सुन्तला बगैँचा अवलोकन गर्न पर्यटक आउँछन् । म्याग्दी र पर्वतलाई समेटिएको अन्नपूर्ण-धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको प्रवेशविन्दु बाँसखर्क हो । माथिल्लो बाँसखर्कमा घरबास सञ्चालन भएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस