आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

मानवताले जितेको कलुवापुरको त्यो मण्डप


  • २०८२ माघ २७, मंगलबार मा प्रकाशित १ दिन अघि
  • २५ पाठक संख्या
  • कञ्चनपुर/  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११, कलुवापुरका चेतराम सार्कीको आँगनमा हालै जे देखियो, त्यो कुनै चलचित्रको दृश्य थिएन । न त कुनै दन्त्यकथा । त्यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाले दशकौँअघि कोरेको ‘मुनामदन’ का ती अमर पङ्क्तिहरू चरितार्थ भइरहेका थिए, ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’

    हुन त देवकोटाले यी पङ्क्तिहरू भोटको माटोमा मदनको मुखबाट बोलाएका थिए तर यसको वास्तविक प्रतिध्वनि भने यतिबेला कञ्चनपुरको कलुवापुरमा सुनियो, जब बैतडीको पाटन नगरपालिका-८ खोडपे जसुलिखालीका प्रसिद्ध ज्योतिषाचार्य पण्डित गणेशदत्त पन्तले मुग्लानमा पसिना बगाएर फर्किएका चेतरामको नयाँ पक्की घरको मण्डपमा बसेर शङ्ख फुक्नुभयो, तब सदियौँदेखि जकडिएको जातीय विभेदको एउटा विशाल पर्खाल गर्ल्यामगुर्लुम ढल्यो ।

    सार्कीले भारतका गल्लीहरूमा वर्षौंसम्म आफ्नो उमेर र ऊर्जा साटेर केही थान रुपैयाँ जम्मा गर्नुभयो । त्यही रगत-पसिनाको कमाइले कलुवापुरमा एउटा सुन्दर घर ठडियो तर चेतरामको मनमा एउटा चिसो संशय थियो, के यो मेरो घरमा ‘भगवान्’ पस्लान् ? के कुनै ब्राह्मणले मेरो घरको आँगनमा बसेर वेदका ऋचाहरू वाचन गर्लान् ?

    तर, जब गृह प्रवेशको दिन आयो, दृश्य बिल्कुलै फरक र लोभलाग्दो थियो । घरको आँगनमा सेलरोटी, पुरी र हलुवाको बास्ना मगमगाइरहेको थियो । घरको मूल कोठामा कलात्मक ढङ्गले मण्डप सजिएको थियो ।

    मण्डपको अग्रस्थानमा भगवान गणेश र त्यसपछि सत्यनारायण भगवानको मूर्ति राखिएको थियो । मण्डपको बीचमा हवन कुण्ड र त्यसको वरिपरि पूजा सामग्री र फलफूलले भरिभराउ थियो ।

    त्यहाँ कुनै सङ्कोच थिएन, न त कुनै आत्मग्लानिनै थियो । थियो त केबल भक्ति, श्रद्धा र सामाजिक सद्भावको एउटा उज्यालो तस्बिर ।

    मण्डपको नजिक बसेर पण्डित पन्तले गम्भीर स्वरमा सत्यनारायणको कथा वाचन गरिरहँदा उपस्थित मानिसहरूका आँखा रसाएका थिए । पहिलो पटक नै ब्राम्हणले पूजा गरेको र मन्त्र उच्चारण गरेको त्यस क्षेत्रमा दलित समुदायले सुनेका र देखेका थिए ।

    यो दृश्यले प्रष्ट पार्थ्यो , अब सुदूरपश्चिमको माटोमा ‘जडता’ होइन, गतिशीलता’ को नयाँ बिरुवा उम्रेको छ । चेतरामले कहिल्यै सोच्नुभएको थिएन ब्राम्हणले निम्तो स्वीकार गरेर घरमै आएर हिन्दू रितिरिवाज अनुसार प्राणप्रतिष्ठा गर्लान् र सत्यनारायाणको पूजा विधिअनुसार होला भनेर ।

    समाजको डरले ब्राम्हण आउँदैनन् भन्ने उहाँको मनमा चिसो रहेको थियो तर ब्राम्हण पन्तले सार्की परिवारको निम्तो स्वीकार गरी घरमै आएर मन्त्रोच्चारणसहित  विधिअनुसार पूजा गरेपछि उहाँ खुसीले गद्गद् हुनुभयो ।

    चेतरामले भन्नुभयो, ‘जातीय विभेदका सांङला चुँडाल्दै पण्डित पन्तले हिन्दू धर्ममा जातीय विभेद नरहेको कुरा मात्रै प्रस्ट्याउनुभएन, धार्मिक ग्रन्थका बारेमा बेलिविस्तार समेत लगाउनुभयो । यसबाट पूरै परिवारसहित यस क्षेत्रमा बसोवास गर्ने ६० घर घुरी दलित परिवारले धर्म संस्कृतिबारे जान्ने मौका पायौँ, सत्यनारायणका कथा बेलिविस्तार सुन्यौँ ।’

    पण्डित पन्तको सङ्घर्ष
    यो परिवर्तनको जगमा पण्डित पन्तको २७ वर्ष लामो सङ्घर्ष लुकेको छ । उहाँ केबल एक पुरोहित मात्र होइन, धार्मिक अन्धविश्वास विरुद्धका एक ‘कुशल सिपाही’ हुनुहुन्छ । अढाई दशकअघि जब उहाँले दलितका घर-दैलोमा छिरेर वैदिक कर्मकाण्ड सुरु गर्दा आफ्नै समुदायबाट ठूलो तिरस्कार भोग्नुपर्‍यो ।

    ‘मैले दलितको घरमा पूजा गर्न थालेपछि मेरा पुराना यजमानहरूले मलाई छोडे मलाई ‘जात फालेको’ भन्दै सामाजिक सञ्जालमा तुच्छ गाली गरियो ज्यान लिनेसम्मका कुरा गरे, ‘पन्तले विगतको तीतो अनुभव सुनाउँदै भन्नुभयो, ‘म विचलित भएको छैन । हिन्दू धर्ममा हुँदै नभएको जातभातको कुराको आडम्बर थोपर्ने कार्यका विरुद्धको मेरो विद्रोह जारी रहन्छ, जबसम्म जातभातको छोइछिटो, छुवाछुतको सांङलो चुँडालिँदैन ।’

    उहाँले एक हजार चार सय ९९ भन्दा बढी कर्मकाण्ड सप्ताह, सत्यनारायण कथा, नवाह, शिवपुराण र रुद्राभिषेक दलित बस्तीमा सम्पन्न गरिसक्नुभएको छ । एक हजार एक सय ११ जना शिल्पी समुदायलाई जनै धारण गराएर उहाँले प्रमाणित गरिदिनुभयो छ कि संस्कार र शास्त्र कसैको निजी पेवा होइन ।

    कलुवापुरकै भारतको मुम्बईमा मृत्यु भएका संगम नेपालीको घरमै पुगेर पिपल पूजनको कार्य सम्पन्न गराउनुभएको छ । ‘दलित समुदायलाई पिपल छुन बर्जित गरिएको छ’ उहाँले भन्नुभयो, ‘त्यसको सट्टामा बैँसको रुखलाई छुन लगाउने परम्परा छ त्यसलाई तोड्नकै लागि पिपल छुने कार्यक्रम गरेका छौँ ।’

    समाजमा एउटा डरलाग्दो मिथक थियो, दलितको घरमा पूजा गरे देउता रिसाउँछन्, अनिष्ट हुन्छ तर पण्डित पन्त यो मिथकलाई शास्त्रकै आधारमा चुनौती दिनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, ‘कुनै शास्त्रमा दलितले पूजा गर्दा अनिष्ट हुन्छ भन्ने प्रमाण कसैले ल्याउँछ भने म जुनसुकै सजाय भोग्न तयार छु । हुँदै नभएको कुरालाई धर्म शास्त्रसँग जोड्नु न्यायसङ्गत हुँदैन ।’

    उहाँको तर्क छ कि अथर्ववेद, जसलाई कतिपयले ‘दलितको वेद’ भन्दै उपेक्षा गर्छन्, वास्तवमा त्यही वेदले दिएको शिल्प र प्रविधिको ज्ञानले आज संसार चल्दैछ । उहाँ थप्नुहुन्छ, ‘जुन वेदले हवाईजहाज र मोबाइल बनाउने ज्ञान दियो, त्यही ज्ञान बोक्ने शिल्पी (दलित) लाई अछूत मान्नु जत्तिको ठूलो पाप अरु केही हुँदैन ।’

    पण्डित पन्त थप्नुहुन्छ, ‘वैदिक धर्मले जातका आधारमा विभेद गर्दैन । वैदिक धर्मले वसुधैव कुटुम्बकम् अर्थात संसार नै एउटा परिवार हो भन्ने मूल सन्देश दिएको छ ।’

    कुसंस्कार र रुढीवादी परम्परालाई तिलाञ्जलि दिदै सबै जातजातिलाई समानताको अधिकार स्थापित गर्नु पर्नेमा उहाँ जोड दिनुहुन्छ ।

    निवर्तमान नगर प्रमुख दिलबहादुर ऐरले चेतरामको घरमा प्रसाद ग्रहण गरेर टिका थाप्दै भन्नुभयो, ‘कानुन कार्यान्वयन गर्न प्रहरी वा प्रशासन मात्र आएर पुग्दैन, जबसम्म नागरिक र पुरोहित आफैँ सचेत हुँदैनन्, समाज परिवर्तनका लागि नागरिक स्वतःस्फूर्त अगाडि बढ्नुपर्छ, त्यसपछि मात्रै जातीय विभेद्को डोरी चुडालिन्छ ।’

    पण्डित पन्तको एउटा स्पष्ट योजना छ, नेपालका प्रत्येक हिन्दू घरमा वेद, शालिग्राम, गाईपालन र तुलसीको मठ हुनुपर्छ । उहाँ भन्नुहुन्छ, ‘हिन्दूत्व जोगाउन पहिला समाजबाट विभेद हटाउनुपर्छ । हामीले मान्छेलाई मान्छेको रूपमा स्विकार्न सकेनौँ भने हामीले गर्ने पूजा र जपको कुनै अर्थ रहँदैन ।’

    उहाँले मनुस्मृति र कतिपय पुराणहरूमा रहेका विभेदकारी अंशहरूलाई समय सुहाउँदो परिमार्जन र संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । साथै, दलित समुदायभित्रै रहेको ‘पानी-भान्सा नचल्ने’ आपसी बिभेदलाई पनि जरैदेखि उखेल्नुपर्ने उहाँको ठम्याइ छ ।

    -रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु