आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

चन्दा उठाएर मन्दिर मर्मत


  • आफ्नै खबर
  • २०८२ फागुन १९, मंगलबार मा प्रकाशित ३ घण्टा अघि
  • ५४ पाठक संख्या
  • कञ्चनपुर/  जीर्ण अवस्थामा रहेको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिरलाई मर्मतसँगै रङरोगन गरी चिटिक्क पारिएको छ ।

    श्रद्धालुहरूको चन्दा सहयोगका कारण मन्दिरले नयाँ स्वरुप पाएको हो । पुरानो पर्खाल भत्काएर नयाँ बनाई त्यसमा स्टिलको रेलिङ राखिएको छ । मन्दिरको मुख्य गेट नयाँ ‘डिजाइन’ मा पुनर्निर्माण गरिएको छ ।

    मुख्य गेटदेखि मन्दिरसम्मको बाटो ढलान गरी भक्तजनको आवागमन सहज बनाएको रामजानकी धाम तथा पर्यटकीय विकास समितिका अध्यक्ष प्रकाशसिंह ऐरले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘मन्दिरको शोभा बढाउन चारैतिर हरियाली र रङ्गीन फूलहरूले सजिएको बगैँचा निर्माण गरेका छौँ । मन्दिर परिसरमा भक्तजन बस्नका लागि चौतारो पनि बनाएका छौँ । यो सबै कार्य स्वदेश र विदेशमा बस्ने भक्तजनहरूको सहयोगले सम्भव भएको छ ।’

    करिब पाँच दशकअघि स्थानीयले चन्दा सङ्कलन गरेर निर्माण गरेको यो मन्दिर पछिल्ला वर्षहरूमा जीर्ण अवस्थामा पुगेको थियो ।

    ‘मन्दिरको वर्षौँ पहिले ढलान गरिएको छतको ठाउँठाउँबाट प्लास्टर उप्किएका थिए । छाना चुहिने गरेको थियो’, उहाँले भन्नुभयो, ‘त्यो सबै मर्मत र रङरोगन गरी मन्दिरलाई पुरानै स्वरूपमा फर्काएका छौँ ।’

    अध्यक्ष ऐरका अनुसार मन्दिर जीर्णोद्धारका लागि श्रीकृष्ण सामुदायिक वनले पाँच लाख रुपैयाँ सहयोग गरेको छ भने स्वदेश र विदेशमा बस्ने चन्दादाताबाट सङ्कलित दुई लाख रुपैयाँभन्दा बढी रकम मन्दिरको मर्मतमा खर्च गरिएको छ । मन्दिरमा विवाह गर्ने जोडीहरूबाट लिइने शुल्कबापत सङ्कलित ४५ हजार रुपैयाँ पनि पुनर्निर्माणमा प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘सबैको सहयोगले मन्दिरलाई फेरि पुरानै स्वरूपमा फर्काउन सकेका छौँ ।’ मन्दिर परिसरमा यसअघि संसदीय विकास कोषमार्फत १० लाख रुपैयाँमा यज्ञशाला र शौचालय निर्माण गरिएको थियो ।

    मन्दिरमा अहिले विवाह, व्रतबन्ध, पूजापाठ, रामनवमी र धार्मिक कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएका छन् । रामनवमीका अवसरमा यहाँ भक्तजनको घुइँचो लाग्ने गर्छ । मन्दिर परिसरमा १०८ शिवलिङ्गसहितको चक्रव्यूह, रामजानकीको मुख्य मन्दिर, यज्ञशाला, विवाहमण्डप, गोरखनाथ र शिवपार्वती मन्दिरसमेत रहेका छन् ।

    अध्यक्ष ऐरका अनुसार केही सामान उधारोमै खरिद गरिएको हुनाले बाँकी ऋण तिर्न मुठ्ठीदान अभियान सुरु गर्ने तयारी गरिएको छ ।  मुठ्ठिदानबाट बचेको रकमले विद्युत् वायरिङ र मन्दिरका अन्य संरचना सुधारमा खर्च गरिने योजना रहेको उहाँले बताउनुभयो ।

    स्थानीय समाजसेवी चन्द्रबहादुर ऐरले भन्नुभयो, ‘मन्दिरको सुधारपछि अब मन्दिर हेर्दा मन लोभ्याउँछ । चारैतिर फूलबारी, नयाँ रेलिङ र उज्यालो बत्तीले सुन्दरता झन् बढेको छ ।’

    उहाँका अनुसार मन्दिर क्षेत्रको जग्गा जोगाउनका लागि पर्खाल आवश्यक रहेको छ । त्यसका लागि सबैको सहयोगको आवश्यकता छ । यो हाम्रो धार्मिक सम्पदा हो, यसलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो देखाउनुपर्छ ।

    रामजानकी मन्दिरको पुनर्निर्माणसँगै कलुवापुर क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यटकीय रूपमा आकर्षणको केन्द्र बन्दै गएको छ । साँझपख मन्दिर र त्यसको परिसरमा झिलमिल बत्ती र फूलबारीको सौन्दर्यले भरिएको मन्दिर परिसर अहिले भक्तजनमात्र होइन । आन्तरिक पर्यटकका लागि पनि लोभलाग्दो गन्तव्य बनेको छ ।

    –रासस

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु