आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

महोत्तरीको मतदानमा महिला सहभागिता बढी


  • आफ्नै खबर
  • २०८२ फागुन २२, शुक्रबार मा प्रकाशित १७ घण्टा अघि
  • १०१ पाठक संख्या
  • महोत्तरी/  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट मतदान गर्ने महिलाको सङ्ख्या बढी देखिएको छ । महोत्तरीमा पुरुषभन्दा ३९ हजार ८९ मतदाता कम भए पनि महिलाको सहभागिता बढी देखिएको हो ।

    पुरुषभन्दा १३ हजार पाँच सय ४५ बढी महिलाले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा रहेका चार लाख ३१ हजार दुई सय ८२ मतदाता रहेकामध्ये महिलाको सङ्ख्या पुरुषभन्दा ३९ हजार ८९ कम छ । जिल्लामा कुल मत दुई लाख ५८ हजार एक सय ५७ मत खसेको थियो ।

    मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा मतदानमा महिला सहभागिता बढी देखिएको छ । क्षेत्र नं. १ मा ३४ हजार पाँच सय १५ महिला सहभागी भएका उहाँले उल्लेख गर्नुभयो । क्षेत्र नं. २ मा ३४ हजार पाँच सय ७८, क्षेत्र नं. ३ मा ३३ हजार ३७ र क्षेत्र नं. ४ मा ३३ हजार सात सय २० जना महिलाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो । जिल्लामा सहभागिता १३ हजार पाँच सय ४५ ले बढी रहेको उहाँले बताउनुभयो ।

    जिल्लामा मतदाता नामावलीमा महिलाभन्दा पुरुषको सङ्ख्या बढी भए पनि मतदानमा महिला बढी देखिनुमा पुरुष कामका लागि विदेश जानु मुख्य कारण रहेको सामाजिक अगुवा बताउँछन् ।

    यसबीच बढेको राजनीतिक जागरण, महिला साक्षरता र सामाजिक एवं राजनीतिक गतिविधिमा बढ्दो महिला चासोले पनि यो अवस्था बनेको प्रयास महोत्तरी सामाजिक संस्थाका अध्यक्ष प्रवीण कर्णले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु