आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

रास ताल पुग्ने पर्यटक बढ्दै


  • आफ्नै खबर
  • २०८२ चैत्र १५, आईतबार २ दिन अघि
  • ७४ पाठक संख्या
  • सुनसरी/  जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र रहेका छन् । तर तीमध्ये रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको यो तालमा दैनिक रूपमा पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

    अरु तालभन्दा फरक विशेषता बोकेको रास तालमा मनोरम दृश्यावलोकनसँगै दिनभर फिसिङ (माछा मार्ने) सुविधा उपलब्ध हुनु यहाँको मुख्य आकर्षण हो । यही कारणले यहाँ दैनिक रूपमा धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगन्ज तथा भारतका विभिन्न स्थानबाट समेत पर्यटक यहाँ पुग्ने गरेका छन् ।

    विशेषगरी वनभोजका लागि उपयुक्त मानिएको यस क्षेत्रमा एकैपटकमा एक सय ४५ समूहसम्मलाई व्यवस्थापन गर्न सकिने संरचना तयार गरिएको छ । पिकनिक सिजनमा दैनिक आठदेखि १० हजारभन्दा बढी पर्यटक आउने गरेका छन् ।

    अफसिजनमा पनि अहिले दैनिक दुईतीन सयभन्दा बढी पर्यटकको आवतजावत हुने गरेको रास ताल व्यवस्थापन समितिका सचिव भीमबहादुर माझीले बताउनुभयो । धेरैजसो पर्यटक मङ्सिर, पुस साथै वैशाख जेठ महिनामा आउने गरेका छन् ।

    सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने ६१ हेक्टर क्षेत्रफलमध्ये करिब आठ हेक्टरमा फैलिएको ताललाई राष्ट्रिय विभूति इमानसिंह चेम्जोङसँग जोडेर २०७१ सालदेखि स्थानीय पहलमा पर्यटकीय नमूना क्षेत्रका रूपमा विकास गर्न थालिएको हो ।

    कोशी प्रदेश पर्यटन मन्त्रालयले २०७७/७८ को बजेटअन्तर्गत विनियोजित ८० लाख रुपैयाँबाट यहाँ भ्युटावर, इमानसिंह चेम्जोङको सालिक निर्माण तथा २९ हेक्टर क्षेत्रमा तारबार गरिएको समितिले जनाएको छ । साथै, यहाँ एक सयभन्दा बढी जातजातिको प्रतिनिधित्व हुने नमूना मठमन्दिर, सांस्कृतिक झाँकीसहित मेला लाग्ने तथा सङ्ग्रहालयसमेत निर्माण गरिएको छ ।

    समितिका सचिव माझीका अनुसार यहाँ तीन सय रुपैयाँ शुल्क तिरेपछि बिहान ६ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म माछा मार्न पाइन्छ । पर्यटकले दिनभरमा समातेको माछा आफैँ लैजान पाउँछन् । कतिपयले १० केजीसम्म माछा समातेका छन् । तालमा कमनकार्प, ग्रास, रहु, नौनीलगायत सात प्रजातिका माछा पाइन्छन् । 

    यस तालमा घुम्न आउने पर्यटकले बोटिङको सुविधा लिन सक्नेछन् भने चिडियाघरमा खरायो, हुचिल, चिल, बाँदर, अजिङ्गरलगायत जीवजनावर अवलोकन गर्न सक्ने सचिव माझीले जानकारी दिनुभयो ।

    यस क्षेत्रलाई थप आकर्षक बनाउन तालको बीचमा करिब १५ लाख रुपैयाँ लागतमा टापु निर्माण गरिएको छ भने तीनवटा काठका पुलमार्फत वारपार गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    साथै, तराई क्षेत्रमा दुर्लभ मानिने सल्ला तथा सिरिसका बिरुवा रोपेर वातावरणीय सौन्दर्य थपिएको छ । करिब २५ लाख रुपैयाँ लागतमा मुख्य प्रवेशद्वार तथा ट्री हाउससमेत निर्माण गरिएको छ, जहाँबाट सम्पूर्ण तालको दृश्यावलोकन गर्न सकिन्छ ।

    पिकनिक तथा बोटिङबाट वार्षिक रूपमा ६ देखि सात लाख रुपैयाँसम्म आम्दानी हुने गरेको समितिको भनाइ छ । उक्त आम्दानी ताल संरक्षण तथा पूर्वाधार विकासमा खर्च गरिँदै आएको छ । स्थानीय व्यापारीका अनुसार पर्यटकको आगमनसँगै आसपासका खाजा, नास्ता पसल तथा अन्य व्यवसायसमेत चलायमान भएका छन् ।

    बजेट अभावका कारण केही पूर्वाधार निर्माण अझै अधुरो रहेकाले प्रदेश तथा स्थानीय सरकारबाट लगानी आवश्यक रहेको स्थानीयको भनाइ छ । महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित रास ताललाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्न सकिने सम्भावना रहेकाले समिति संरक्षणमा जुटिरहेको छ ।

    –रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु