
म्याग्दी/ धवलागिरि गाउँपालिका–५ मल्कवाङमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ ।
कुल ५४ लाख ३६ हजार रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट ८९ वटा धारामार्फत घरघरमा खानेपानी वितरणको व्यवस्था मिलाइएको हो । ८६ निजी घर, विद्यालय, स्वास्थ्यचौकी र वडा कार्यालयमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष रासबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेवा संस्थाको २७ लाख रुपैयाँ, गाउँपालिकाको १९ लाख २५ हजार रुपैयाँ लगानी भएको योजना निर्माणका लागि उपभोक्ताले एक लाख ५८ हजार रुपैयाँ नगद लगानी र ६ लाख ५४ हजार रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।
मल्कवाङमा यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । आँगनकै धारामा नियमित स्वच्छ खानेपानी आपूर्ति भएपछि समयको बचत र झन्झट हटेको छ ।
धवलागिरि गाउँपालिका–५ को मल्कवाङ, मलम्पार र भेडिखाल्टा टोलका एक सय ८५ घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा विस्तार गरिएको वडाध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस