आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

खानेपानी समेत नपुग्ने ठाउँमा हुनथाल्यो तरकारीखेती


  • आफ्नै खबर
  • २०८३ जेष्ठ ४, सोमबार २ हफ्ता अघि
  • ११५ पाठक संख्या
  • दाङ/  घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा ६ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन बढेको थियो । हिउँदमा जहिले पनि इनार, कुवालगायत पानीका मुहान सुक्ने गर्छन् । यस क्षेत्रमा सुक्खायाममा खानेपानीको समस्या हुने गरेको स्थानीय ७८ वर्षीय कालीचरण चौधरीले बताउनुभयो ।

    उहाँका अनुसार गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्र संरक्षणका लागि प्रदेश र स्थानीय सरकारको एक करोड रुपैयाँको लागत र स्थानीयको पहलमा २०७७ सालमा जलाशय बनेको हो ।

    दुई बिघामा क्षेत्रफलमा फैलिएको यो जलाशयको गहिराइ ६ मिटर छ । यो जलाशयमार्फत सिँचाइ सुविधा पुग्न थालेपछि ‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’ ले गति लिएको स्थानीय बताउँछन् ।

    यो जलाशय निर्माण भएपछि एक सय बिघा जमिनमा सिँचाइ पुगेको चौधरीले जानकारी दिनुभयो । उहाँँले भन्नुभयो, ‘पहिले मानिस र गाईवस्तुलाई पेटभरि पानी खुवाउन नसक्ने गाउँले अहिले सहरका मानिसलाई पेटभरि तरकारी खुवाउन सक्ने भएका छौँ । एक सय ५० घरका सबैले खेती गरेका छौँ ।’

    आफ्नो जमिनले नपुगेकाले छेउछाउको जमिन भाडामा ल्याएर बाह्रै महिना तरकारीखेती गरेर आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो ।

    घोराही–१७ कर्जाहीका पूर्ण चौधरी ५२ वर्षको हुनुभयो । उहाँँले स्नातकसम्म अध्ययन गरे पनि अहिले व्यावसायिक कृषि गर्दै आउनुभएको छ । आफ्नो एक बिघा र भाडामा लिएको ६ कठ्ठा जमिनमा व्यवसायिक रूपमा तरकारीखेती गर्दै आउनुभएको छ ।

    पछिल्लो समय एक याममा तरकारी बिक्री गरेर ९० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँच वर्ष अघिसम्म गाउँमा व्यवसायिक खेती हुँदैनथ्यो । कर्जाहीको जलासय विस्तार भएपछि मात्रै पानीको पहुँच पुग्यो र खेती सुरु भयो ।’

    सोही ठाउँकी ७२ वर्षीया सुशीला चौधरी धनियाँ उखेल्दै गरेको अवस्थामा भेटिनुभयो । उहाँका खेतमा धनियाँ, लौका, करेला, काँक्रा र भिन्डी फलेका छन् । बिहान र बेलुकाको समय उहाँ तरकारी बारीमा भेटिनुहुन्छ । करिब १८ कठ्ठा जमिनमा खेती गरेको तरकारीले वार्षिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    पानीको सुविधा भएपछि गाउँँका सबैले व्यावसायिक खेती गर्न थालेका बताउँदै सुशीलाले यसबाट स्वरोजगार बन्नुका साथै बाँझो जमिन हराभरा हुन थालेका उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘तरकारीखेती गरेपछि घरमा खान भएको छ । बिक्री गरेर आम्दानी भएको छ । पानीले नयाँ जीवन दिए जस्तो भएको छ ।’

    ताल संरक्षणसँगै अप्रत्यक्ष रूपमा वातावरण संरक्षण र प्रत्यक्ष रूपमा आम्दानीमार्फत जीविकोपार्जनलाई जोड्ने कामले खेतीपातीमा सहजता थपिएको सुशीलाले बताउनुभयो । स्थानीयलाई माछापालन, प्राकृतिक कृषिसम्बन्धी तालिम, ज्ञान, सीप दिने र बजारसम्म जोड्ने कामको अभियान घोराही उपमहानगरपालिकाले गरिरहेको छ ।

    कर्जाही गाउँबाट दैनिक ५० हजार रुपैयाँबराबरको तरकारी बिक्री हुने गरेको कर्जाही ड्याम लिफ्ट सिँचाइ ायोजनाका अध्यक्ष प्रशु चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँका दुई सय ५० परिवारको एक सय बिघा जमिनमा सिँचाइ पुगेको छ ।

    अध्यक्ष चौधरीले भन्नुभयो, ‘अहिले गाउँका मानिस घरमा होइन सबै खेतबारीमा मात्रै भेटिन्छन् । तरकारीखेती गर्न, टिप्न र बजारमा बिक्री गर्न भ्याइनभ्याइ हुन्छ । पानीले सबैको जीवन परिवर्तन गरिदिएको छ ।’

    खेती नगर्ने कुनै घर छैन धेरै थोरै होला बाह्रै महिना किसान खेतबारीमा व्यस्त रहने गरेको उहाँको भनाइ छ । आम्दानी वृद्धिसँगै पोषणमा सुधार भएको चौधरीले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु