
काठमाडौँ/ सरकारी निकायबीच एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३ औं वार्षिक प्रतिवेदनअनुसार अन्तरनिकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा ६ करोड ५९ लाख ६८ हजार रुपैयाँबराबरको क्षति भएको पाइएको छ । क्षति भएको रकम बराबरको शोध भर्ना लिनुपर्नेमा त्यस वापतको रकम प्राप्त हुनसकेको छैन ।
काठमाडौँ उपत्यकामा बिच्छ्याइएको पाइपमा सडक, विद्युतलगायतका कार्य गर्दा पाइपमा क्षति पुगेको थियो । विवरणअनुसार नेपाल विद्युत् प्राधिकरणले काम गर्दा एक करोड ६७ लाख ५७ हजार रुपैयाँबराबरको क्षति पुगेको छ ।
यस्तै, सडक विभागले आवश्यक काम गर्दा दुई करोड ८० हजार, ललितपुर महानगरपालिकाले आवश्यक काम गर्दा एक करोड १२ लाख ७३ हजार र अन्य निकायका तर्फबाट एक करोड ७१ लाख ३८ हजार रुपैयाँबराबरको क्षति पुगेको थियो ।
यसैगरी एक निर्माण व्यवसायीसँग ठेक्का सम्झौता अन्त्य गरी नयाँ सम्झौता गरिएको सन्दर्भमा कार्यसम्पादन जमानत र पेश्कीसमेत गरी दुई अर्ब ५९ करोड ९९ लाख रुपैयाँ असुल गर्ने गरी निर्णय भएको थियो ।
उक्त निर्णय बमोजिम उक्त रकम असुल नभएकामा महालेखाले प्रश्न उठाएको छ । काठमाडौँ उपत्यकाको कोड्कु, सल्लाघारी, धोबिघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका सन्दर्भमा एक निर्माण व्यवसायीसँग ठेक्का तोडेर अर्को ठेक्का गरेको थियो ।
सुरुमा एक विदेशी कम्पनीसँग तीन अर्ब ४६ करोड ९६ लाख रुपैयाँमा सम्झौता भएको थियो । उक्त कम्पनीले ७८ करोड ७७ लाख २५ हजार रुपैयाँबराबरको कार्य सम्पन्न भएको थियो ।
तोकिएको समयमा काम नभएपछि ठेक्का सम्झौता अन्त्य गरी पुनः नयाँ निर्माण व्यवसायी छनौट गरिएको थियो । नयाँ व्यवसायी छनोट अघि ६ अर्ब ४७ करोड एक लाख रुपैयाँबराबरको लागत अनुमान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस